माईक्रोबालोजिस्ट् हरु सरकारलाई यो महामारीमा सहयोग गर्न चाहन्छन् : अध्यक्ष धिताल

कुनै पनि प्रयोगशालामा नमूना परीक्षणदेखि रोगको निदान, इपिडिमियोलोजी अध्ययन, रोकथाम, नियन्त्रणमा अनुसन्धान गर्न माइक्रोबायोलोजिस्टको भूमिका अग्रणी मानिन्छ । तर तिनै जनशक्तिलाई सरकारले बेवास्ता गरेको छ । महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम फैलिदै छ । यो बेलामा माइक्रोबायोलोजिस्टको भूमिका नेतृत्वदायी हुनुपर्ने हो । यसै सन्दर्भमा माइक्रोबायोलोजी सङ्घर्ष समितीका अध्यक्ष सन्जिब धितालसँग ग्लोबल खबरले गरेको कुराकानीको सार संक्षेपः

कोरोना भाईरस (कोभिड–१९) के हो ?
विश्वव्यापीरुपमा हरेक १०—२० वर्षको अन्तरालमा एउटा नयाँ जीवाणु (सुक्ष्मजिव ) जनावरबाट मानिसमा आएर महामारी गराएको इतिहास छ । कोरोना भाइरस कोरोनाभाइरिडी फेमिली अन्तर्गत पर्दछ । कोरोना भाइरसका चार प्रकार छन् । अल्फा, बेटा, गामा र डेल्टा कोरोनाभाइरस । कोरोना भाइरसले स्तनधारी र चराहरुमा रोग उत्पन्न गराउँछ ।
मानिसमा यो भाइरसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गर्छ । जस्तैः रुघाखोकी सामान्य लक्षण हो । रुघाखोकी हुँदै सार्स, मर्स र कोभिड–१९ जस्ता खतरनाक सङ्क्रमण गराउन सक्छ । फरक फरक प्रकृतिका कोरोना भाइरस मध्ये अहिलेको भाइरस पनि एक हो । यो कोभिड–१९ भाइरस सन् २००३ मा भेटिएको कोरोना भाइरस र सन् २०१२ देखि २०१४ को मर्स कोरोना भाइरस भन्दा केही फरक छ । यो सन् २००३, २००४ को भन्दा अलिकति फरक भएको हुनाले सुरुमा यसलाई ‘नोवल कोरोनाभाइरस’ भनिएको हो ।

कसरी मानिसबाट मानिसमा सर्छ ? पैसाबाट पनि सर्छ भनिएको छ नि ?
मानिसबाट मानिसमा प्रशारण भनेको चाहिँ मानिसले खोक्दा, हाछ्युँ गर्दा, निश्चित दूरीसम्म ‘Droplet Infection’ मा जानसक्ने भयो । ‘Droplet’ रहिरहेको टेबुल, कुर्सीमा छोइयो भने अर्को मान्छेमा सर्नसक्ने भयो । त्यो भन्दैमा खुल्ला बाताबरणमै जाने भन्ने होइन । तर, हावामा जाने होइन भन्दैमा ‘Droplet’ चाहिँ हावामा हुन्छ, टेबुल कुर्सी अरु ठाउँमा बसेको हुन्छ त्यसबाट मानिसले छोएर मानिसमा सार्ने हो । त्यही भएर हरेकपटक कुनै वस्तु छोएपछि साबुन पानीले हात धुनुपर्छ अथवा अलकोहलबाट बनेको स्यानिटाइजर प्रयोग गर्नुपर्छ भनिएको हो ।
सङ्क्रमित मानिसले समातेको पैसामा, मान्छे हाछ्युँ गर्दै पैसा गनेको छ भने ड्रपलेटहरू त्यसमा छ भने त्यसबाट पनि भाइरस सर्ने सम्भावना रहन्छ । यसो गर्दा मानिसको हात रोग सर्ने माध्यम चाँहि हो ।

लक्षणहरु के के हुन् ?
अहिलेसम्मको अनुसन्धानले यसको ‘Incubation Period’ सामान्यतया ५ देखि १४ दिन देखिएको छ । तर, केही व्यक्तिमा २८ दिनसम्म पनि भाइरस भएको तर लक्षण नदेखिएको भेटिएको छ । सामान्यतया ५ देखि १२ दिनमा मान्छेमा सङ्क्रमण देखिने हो । त्यसमा करिब ८० देखि ८५ प्रतिशतलाई जसरी साधारण शरीर दुःखेर ज्वरो आई एक दुई दिनमा निको हुन्छ । १५ प्रतिशत मान्छेलाई गम्भिर सङ्क्रमण हुनसक्ने भएकाले अस्पतालमा भर्ना गर्नु जरुरी हुन्छ । सुरुमा एक प्रतिशत मृत्युदर थियो, अहिले ५ देखि ८ प्रतिशत देखिएको छ । त्यो चाँहि देश र त्यहाँको स्वास्थ्य प्रणालीमा भर पर्छ । कति चाँडै मान्छेले स्वास्थ्य प्रणालीमा पहुँच पुर्याए , त्यतिनै मृत्युदर कम हुन्छ । कोही व्यक्तिलाई ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो भयो भने चाहिँ तुरुन्तै अस्पतालमा लैजानुपर्छ ।

संक्रमण भइहाल्यो भने बृद्धबृद्धा अलि बढी प्रभावित हुन्छन् हो ?
७० वर्षभन्दा बढी उमेर भएकाको मृत्युदर बढी देखिएको छ । त्यो भनेर युवालाई यो सङ्क्रमण हुँदैन भन्न मिल्दैन । यो रोग कुनै पनि उमेर समूह, महिला पुरुष सबैलाई हुन सक्छ । सामान्यतः प्रतिरोधात्मक क्षमता बच्चामा विकसित भइसकेको हुँदैन, बृद्धबृद्धामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ, त्यसैले बालबालिका र बृद्धबृद्धामा छिटो र गम्भीर सङ्क्रमण देखिन्छ ।
गम्भीर अवस्थामा रहेका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस जस्तैः हाइपरटेन्सन, मधुमेह, क्यान्सर भएका मान्छेले कोरोना भाइरससँग लड्ने की आफ्नो रोगसँग लड्न, त्यसकारण उनीहरूलाई अप्ठेरो हुन्छ भनिएको हो ।
भाइरसले जातजाती, वर्ग, लिगं, उमेर हेर्दैन । त्यसैले हामीहरुले आफैले आफ्नो स्वास्थ्य अवस्था हेरी सुरक्षित र सावधानी अपनाउनुपर्छ ।

कसरी सुरक्षित रहने ?
सामाजिक दूरीमा बस्नका लागि लकडाउनले मद्दत गर्छ । रोगको प्रशारण रोकेपछि व्यक्तिगत समस्यालाई त व्यवस्थापन गर्न सकिन्छ । यात्राबाट आएका तर स्वयं क्वारेन्टाइनमा बसेकाहरूलाई सरकारले निरन्तर प्रत्यक्ष निगरानी गर्नुपर्छ । कुनै लक्षण विकास भयो भने तुरुन्त अस्पतालको सम्पर्कमा आउनुपर्छ । घरमा बस्दा कुनै वस्तुलाई छोएपछि बेला बेलामा साबुन पानीले हात धुनुपर्छ ।
साबुन पानीले मिचिमिची हात धुने । साबुन पानीमा भएको डिटरजेन्टले भाइरस मारिदिन्छ। हात धुने ठाउँ नभएमा हरेक चिज छोएपछि बेलाबेलामा सेनिटाइजर प्रयोग गर्दा यसमा भएको ७० प्रतिशत अल्कोहलले पनि भाइरस मार्छ ।

खोक्दा ख्याल गर्नुपर्छ, खोक्दा रुमाल, टिस्युपेपर अथवा कुहिनाले छोप्नुपर्छ । नत्र एक अर्कालाई सर्न सक्छ । चुरोट सेवन त गर्नै भएन, जसको कारणले फोक्सो कमजोर हुन्छ । घरमा चार, पाँच जना मानिस छन् भने अलग किसिमले आ-आफ्नो काम गरेर बस्ने र मुख्यतः व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनपर्छ । यसले गर्दा समाजमा रोग प्रशारण हुँदैन । कुनै व्यक्तिमा सङ्क्रमणको आशङ्का लागेमा नजिकैको अस्पतालमा जानुपर्छ ।

यो समयमा माइक्रोबाइलोजिस्टको भूमिका महत्वपूर्ण हुने होइन र ?
माइक्रोबाइलोजी भन्ने विषय नै Virus, Bacteria, Fungus , Parasite हरूको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने हो । त्यसमा नम्बर एक पहिचान, नम्वर दुई उपचार, नम्बर ३ रोकथाम र नम्बर ४ भ्याक्सिन उत्पादन र गुणस्तरीयताको सुनिश्चितता हो । यी ४ वटै ज्ञान भएको मान्छे चाँहि माइक्रोबाइलोजी पढेको मान्छे हो । देशमा उत्पादन हुने, संसारका विश्वविद्यालयहरूमा, डायग्नोस्टिक सेन्टर, रिसर्च सेन्टरमा काम लाग्ने तर आफ्नै देशले आफ्नो देशको जनशक्ति उपयोग गर्न नसक्नु भनेको दुःखद् कुरा हो ।हामीसँग क्षमता छ, उपकरण पनि छ, दक्ष जनशक्ति पनि छन्, हामीसँग ‘वायोसेफ्टी क्याविनेट’ पनि छ । तर, यो अधिक सङ्क्रमित भाइरस हो । यसलाई BSL-II Plus to BSL-III प्रयोशालामा मात्र नियन्त्रण गर्नुपर्छ । तर दुःखको कुरा सरकारको एक निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) को सुचनामा Molecular परिक्षणको लागि दखल भएका विज्ञहरुको आवश्यकता भनि M.Sc Medical Technology/ अन्य Life Sciences/ Biotechnology भनि मागेको तर M.Sc Microbiology नसमेटेको प्रति हाम्रो गम्भीर आपति र ध्यानाकर्षण भएको छ । मुख्य रुपमा रोग लगाउने सुक्ष्म जीवहरुको बारेमा अध्ययन गरेका Microbiologist हरुलाई बिश्वब्यापी मान्यता बिपरित पूर्ण रुपमा निषेध गर्ने कार्य NPHL गरेको छ । देश संकटमा परेको बेलामा उक्त संकट संग जुध्ने मुख्य संस्था जनस्वास्थ्य प्रयोगशाला यसरि विषयगत पूर्वाग्रहमा लिप्त हुनु निकै दुखद बिषय हो । यस प्रकारको हर्कतले Microbiology अध्ययन गरेका तमाम जनशक्तिमा पिडा र आक्रोस पैदा गरेको छ भने यति ठुलो दक्ष जनशक्तिलाई मोर्चामा निषेध गर्दा कोरोना भाइरस विरुद्धको युद्धमा अर्जुन बिनाको महाभारत हुने त होइन भने संसय पैदा भएको छ ।
अन्त्यमा यस सूचनाबाट लिने जनशक्तिलाई कोविद्-१९ को निदानको काममा संग्लन हुन नदिने तर रोस्टर तयार गर्ने र अन्य काममा लगाउने अभिव्यक्तिले त झनै विभेद गरेको प्रस्ट हुन्छ । कुनै व्यक्ति वा संस्थाको पूर्वाग्रहले गर्दा सम्पूर्ण राष्ट्रले संकटको घडीमा ठुलो मूल्य चुकाउनु पर्ने हुनसक्छ त्यसैले बेलैमा यस्तो निर्णय सच्याउन र बिषयगत ज्ञान भएका स्वास्थ्य वैज्ञानिक (माइक्रोबायोलोजिस्ट)हरु सरकारलाई कोविड-१९ को निदानमा सहयोग गर्न चाहन्छ ।

सरकारलाई केही भन्नु छ ?
सरकारले उपयुक्त व्यवस्था गरेको खण्डमा दक्ष जनशक्तिहरू उपयोग गर्न, देशमा भएको रियल टाइम PCR, कन्भेन्सनल PCR र Biosafety Cabinet र प्रयोगशालाको उपयोग गर्न सक्छौँ । सरकारले बैठक मात्र होइन वैज्ञानिक प्रमाणमा आधारित निर्णय गर्नुपर्यो, र प्रभाबकारी निगरानी हुनुप¥यो र स्वास्थ्य जाँचका त्रममा व्यक्तिगत सुरक्षा उपकरणको प्रभावकारी (PPE) व्यवस्थापन हुनुपर्ने देखिन्छ, यसतर्फ सरकार गम्भीर हुनेछ भन्ने आशा लिएको छौ। महामारीलाई चाँडै अन्त्य गर्न दक्ष जनशक्तिको उपयोग गर्न सरकारलाई आग्रह गर्दछौ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *