संस्थागत बिद्यालयहरुले शिक्षामा गरेको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन : महासचिव आचार्य

नेपालको शिक्षामा सरकारी र निजि क्षेत्र दुबैले उत्तिकै योगदान पुर्याइरहेका छन् यद्यपि यी दुबै क्षेत्र आलोचनाबाट मुक्त हुन सकिरहेका छैनन् पटकपटक विवादहरु आइरहेका हुन्छन् । यिनै बिषयका साथै बिद्यालयको बारेमा केन्द्रित रहेर राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निशान) का महासचिव एवम् गोकर्णेस्वर लाइट एकेडेमीका प्रेन्सिपल सौर्य आचार्य सँग ग्लोबल खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश –

गोकर्णेस्वर लाइट एकेडेमीको संक्षिप्त पृष्ठभुमि बताइदिनुस न
गोकर्णेश्वर लाइट एकेडेमीको स्थापना २०६४ सालमा भयो सुरुमा हामीले नर्सरी बाट सुरुवात गरेका थियौ । बिस्तारै हामीले माथिल्लो तहसम्म ल्यायौ । २०७१ सालबाट हामीले एसईई परिक्षामा सहभागी भयौ । सुरुमा बिद्यालय सुरुवात गर्दा बस्ती पनि पातलो थियो । वरिपरि धेरै बिद्यालयहरु पनि थिएनन् र हामीले स्थानीय स्तरमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले सुरु गर्यौ । सुरुमा थोरै विद्यार्थीहरु र सिमित स्रोत साधन बाट सुरु भएको बिधालय अहिले हरेक हिसाबले अब्बल भएको छ ।

बिद्यालयले गरेका राम्रा अभ्यासहरु केके हुन् ?
राम्रा अभ्यास भन्दाखेरी हामी जहिलेबाट बिद्यालय सुरुवात गर्यौ त्यही बेलादेखि मुख्य रूपमा विद्यार्थीहरुलाइ पढाइका साथसाथै नैतिक रूपमा कसरी सबल बनाउने र सामाजिक व्यबहारमा समाजमा कसरी घुलमिल गराउने भनेर विभिन्न अतिरिक्त क्रियाकलाप शैक्षिक गतिविधि, खेलकुद सँगै समुहमा मिलेर काम गर्ने बानिको बिकास गर्छौ र शिक्षा सँगसँगै असल संस्कार र आचरण पनि गोकर्णेस्वर लाइट एकेडेमीले विद्यार्थीहरुलाइ दिइरहेको छ ।

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निशान) को महासचिव निर्वाचित हुनुभएको छ आगामी योजनाहरु केके छन् ?
भर्खरै हामी राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निशान) को सम्मेलनबाट दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएको छु । अबको हाम्रो योजनाहरु मुख्यत नेपालको शिक्षा क्षेत्रमा योगदान पुर्याउनका लागि हामी आफ्नो तर्फबाट पुर्याउन पर्ने भुमिकालाइ अझै सशक्त बनाउने र यसका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित सबै क्षेत्र सरकारी मातहतका विद्यालयहरु त्यस्तै निजि क्षेत्रमा प्याब्सन, एनप्याब्सन लगायतका संस्थाहरू सँग पनि सहकार्य गर्दै अघि बढ्ने योजना छ ।

अभिभावकहरुले विद्यार्थीका लागी चाहिने शैक्षिक सामाग्री देखि पोसाक सबै बिद्यालय बाट नै खरिद गर्नुपर्ने किन ?
यो काम हामीले गरेका छैनौं हामीले प्रत्येक बर्ष विद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामग्री हरु र त्यसको मापदण्ड तोकिदिन्छौ त्यसपछि उक्त सामग्रीहरु अभिभावकले आफ्नो अनुकूलता अनुसार जहाँबाट पनि खरिद गर्न स्वतन्त्र हुनुहुन्छ । तर केहि केही सामाग्रीहरु चाहिँ बिद्यालयले नै ब्यबस्था गरिदिनुपर्ने हुन्छन् त्यो पनि चाहिँ विद्यालयको स्वार्थका लागि होइन अभिभावक हरुलाइ नै सहज होस् भनेर हो । केही  शैक्षिक सामग्रीहरु अभिभावकलाई  जुटाउन नै मुस्किल पर्छ । भनेको बेला पाइँदैन पाए पनि एकै ठाउँमा पाइँदैन अर्डर दिन पर्ने हुन्छ धेरै समय कुर्नुपर्छ त्यसो गरिरहनु भन्दा विद्यालयले आफैले आफ्ना विद्यार्थीहरुको लागि चाहिँने सामग्रीहरु खरिद गर्दा केहि सस्तो पनि पर्न जान्छ अभिभावकहरुलाइ अन्त भौतारिरहनु पनि पर्दैन त्यसैले यो विद्यालयले नाफा खानका लागी होइन अभिभावक हरुलाइ नै सजिलो होस् भनेर गरिएको हो र उहाँहरूले बाहिरै बाट ल्याउनु हुन्छ भने पनि विद्यालयले आफुसँगै किन्नुपर्छ भन्दैनन र भन्न मिल्दैन पनि ।

अभिभावकहरु निजि विद्यालयहरु प्रति विश्वसनीय हुने आधारहरू केके हुन् ?
हुन त सबैले राम्रा राम्रा आकर्षक नारा दिने गर्छन् तर मुख्य त ब्यबहारिक पक्षलाई ध्यान दिनुपर्ने हुन्छ । अभिभावकहरु निजि विद्यालयहरु प्रति विश्वसनीय हुने आधार भन्नुपर्दा अहिलेसम्म निजि विद्यालयहरुले प्राप्त गरेका नतिजाहरु हुन जहिले बाट निजि विद्यालयहरुको सुरुवात भयो निजि क्षेत्रले प्रत्येक बर्ष उत्कृष्ट नतिजा प्राप्त गरेका छन् । अतिरिक्त क्रियाकलापको कुरा गर्दा निजि क्षेत्र अब्बल नै रहेको छ । त्यसैले अभिभावकहरुले निजि क्षेत्र प्रति विश्वास गरेर आफ्नो बालबालिका हामीलाई जिम्मा लगाउनु भएको छ र हामीले अहिलेसम्म त्यो विश्वासलाई जोगाउँदै आइरहेका पनि छौ त्यसैले नै अहिलेसम्म उहाँहरुले हामीलाई यतिधेरै माया र विश्वास गर्नुभएको छ विश्वास जितेर नै हामी चलिरहेका छौ ।

निजि विद्यालयहरु सेवा भन्दापनि नाफामुखी भए भन्ने आरोप छ नि ?
तपाईंको प्रश्नमा आंशिक सत्यता छ । कहि कतै त्यो भएको पनि होला त्यसलाई हामीले एउटा मापदण्ड बनाएका छौ र हामी त्यसलाई मापदण्डको दायरामा लाउँछौ तर केही कमजोरीलाई देखाएर निजि क्षेत्रले शिक्षामा गरेको अमुल्य योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । निजि क्षेत्रले नेपालको शिक्षाको गुणस्तर बढाउन महत्त्वपूर्ण भुमिका खेलेको छ ।

सरकारी र निजि विद्यालयहरु बीच समन्वयको अभाव देखिन्छ यो दुरि किन ?
सरकारी विद्यालय र निजि बिद्यालयहरु बिचको समन्वय अलि कम भएको सत्य हो । तर पछिल्लो समय हामी यो दुरि घटाउन लागिरहेका छौं । सरकारी विद्यालयहरु सँग हाम्रो कुनै प्रतिस्पर्धा र पुर्वाग्रह छैन । हाम्रो प्रतिस्पर्धा हामी आफैसँग हो । सरकारी विद्यालयहरुको पनि आफ्नै योगदान छ हामीले पनि योगदान पुर्याउँदै आइरहेका छौ आगामी दिनहरूमा निजि र सरकारी बिद्यालय बिचको दुरि कम हुनेछ ।

अन्त्यमा…………
आगामी दिनहरूमा राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल देशको पद्धति भित्र रहेर शैक्षिक बिकासका लागि अझै सशक्त भएर लाग्नेछ हामी कसैका शत्रु होइनौं । र कसैलाई शोषण गर्न आएका पनि होइनौं । हामी सबैसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न चाहान्छौ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *