इच्छाशक्ति भए सरकारी बिद्यालयलाइ पनि उत्कृष्ट बनाउन सकिन्छ : प्रधानाध्यापक खरेल

देशको शिक्षा क्षेत्रको कुरा गर्दा सरकारी बिद्यालयहरुको नतिजा दिनप्रतिदिन खस्किँदो छ । निजि बिद्यालयहरु मौलाइरहेका छन् । यी मध्ये केहि सरकारी बिद्यालयहरु निजि बिद्यालय भन्दा उत्कृष्ट पनि छन् । त्यही उत्कृष्ट बिद्यालयहरु मध्ये अग्रस्थानमा पर्न सफल रत्नराज्य उमावि बानेश्वरका प्रधानाध्यापक डा. गिता खरेल सँग ग्लोबल खबर डट कम ले गरेको कुराकानीको सम्पादित अंश :-

रत्न राज्य स्कुल यहाँसम्म आइपुग्नु पछाडिको संघर्ष बताइदिनोस न ?
रत्न राज्य बिद्यालय २०१८ सालमा स्थापना भएको हो । एउटा जस्तामुनी १० जना विद्यार्थी बाट सुरु भएको बिद्यालय यहाँसम्म आइपुग्न यसको पछाडि धेरै संघर्ष र धेरैको त्याग छ सुरुवातमा हरेक कुराको समस्या थियो त्यसलाई सबै मिलेर सबैको साथ लिँदै अघि बढेर यहाँसम्म आइपुगेको छ । सुरुमा बिद्यालयको आफ्नै जग्गा थिएन हामीले सबैतिरबाट सहयोग जुटाएर बिद्यालयको नाममा जग्गा खरिद गरियो । धेरैतिर बाट अवरोध पनि आए तथापि संघर्ष र सबैको साथले बिद्यालय अहिले यहाँसम्म आइपुगेको छ । अहिले २२०० भन्दा बढी विद्यार्थी हामिकहा छन् । धेरै विद्यार्थीलाई हामीले भर्ना गर्न नसकेर फर्काउनु परेको छ । सरकारी बिद्यालयहरु मध्ये आज रत्नराज्य उत्कृष्ट हुन सफल भएको छ खुशी लाग्छ ।

महिला प्रअ हुनुहुन्छ देशका समग्र महिलाहरूको शैक्षिक अवस्था कस्तो पाउनुभएको छ ?
महिलाहरूको शैक्षिक अवस्थाको कुरा गर्दा पहिलेको तुलनामा त कायापलट नै भएको छ । अहिले धेरैजसो बिद्यालय, क्याम्पस हरुमा पनि छात्राहरुकै उपस्थिति बढी छ । एउटा घरमा पनि पुरुष भन्दा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । समग्रतामा हेर्दा अझैपनि धेरै छात्राहरू बिद्यालयको पहुँच बाहिर छन् उनिहरुलाइ बिद्यालयको पहुँचमा ल्याउन सरकारले नै एउटा योजना बनाएर अघि बढ्नुपर्छ

सरकारी बिद्यालयहरुको नतिजा निरन्तर खस्किरहेको छ किन होला ?
सरकारी बिद्यालयहरुको नतिजा खस्किनुको कारणहरु धेरै छन् । पहिलो कुरा निति निर्माणको तहबाट स्पष्ट निति बनाएर कार्यान्वयनमा लैजाने कुरामा हामी चुकेका छौ । अर्को कुरा सरकारी बिद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुमा दृढ इच्छाशक्ति र संकल्प छैन । सरकारी जागिर हो जागीर जाने होइन भन्ने सोचले जिम्मेवारहिन भएका छौ । पार्टीको झन्डा बोक्न खुशी हुन्छौं । र अर्को महत्त्वपूर्ण कुरा हामी आफ्नो स्वार्थका लागि शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्छौ । सरकारी बिद्यालयहरु सुधार्न यी कुराहरुको अन्त्य गर्नु जरुरी छ ।

अहिलेको शिक्षाले ब्यबहारिक जनशक्ति उत्पादन गर्न सकेन भन्छन् नि ?
यो कुरा साँचो हो हामी हाम्रो शिक्षालाई समयानुकूल र ब्यबहारिक बनाउने कुरामा चुकेका छौ । यसको लागि सरकारले शिक्षा निति बनाउँदा नै एउटा स्पष्ट खाका बनाएर कुन तहको विद्यार्थीलाई केके सीप सिकाउने र एउटा तह पास गर्दा उसले कुन कुन कुरामा सक्षम हुने भन्ने मापदण्ड बनाएर अघि बढ्नुपर्छ ।

शिक्षा र राजनीतिको सम्बन्ध कस्तो हुनुपर्छ ?
शिक्षा र राजनीति एकआपसमा अन्तरसम्बन्धित बिषय हो जस्तो लाग्छ । शिक्षाले राजनीतिलाई असल मार्गमा अघि बढाउन प्रेरित गर्नुपर्छ र राजनीतिले शिक्षा क्षेत्रको बिकासको लागि उपयुक्त योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्छ । तर हामी कहाँ त्यो पाइँदैन । राजनीति गर्नेले शिक्षा क्षेत्रमा केहि योजना बनाउँदा त्यसबाट शिक्षा क्षेत्रमा के फाइदा हुन्छ भन्दापनी आफ्नो राजनीति र पार्टीलाई के फाइदा हुन्छ भनेर सोच्न थाल्नु गलत छ । अर्को कुरा सरकारी बिद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरु पनि पार्टीका झन्डा बोकेर हिँड्ने कुरा दु:खद हो । यो परिपाटीको अन्त्य गर्नु अत्यावश्यक छ ।

रत्नराज्य उमाविको आगामी योजनाहरु केके छन् ?
आगामी योजनाहरुको कुरा गर्दा काम भन्ने कुरा जति गरेपनि सकिँदैन रैछ । हामीले धेरै काम गर्दागर्दै पनि अझै गर्नपर्ने काम धेरै छन् । बिद्यालयमा अतिरिक्त क्रियाकलाप र खेलकुदका लागि मैदान अभाव काम त्यसको ब्यबस्थापनमा लागिरहेका छौ । अर्को कुरा अहिलेसम्म हामी कहाँ प्राविधिक शिक्षा छैन अब प्राबिधिक शिक्षाको लागि पनि सम्बन्धित निकायमा पहल गरिरहेका छौ । शिक्षालाई समयानुकूल र सुचनाप्रविधी युक्त बनाउने योजना अनुसार मल्टिमिडियाको सुरुवातको लागि सबै शिक्षकहरुलाइ ल्यापटपको ब्यबस्था गरिरहेका छौ । अर्को महत्वपूर्ण कुरा भनेको रत्नराज्यमा काठमाडौका मात्रै विद्यार्थी छैनन् । देशका विभिन्न ठाउँबाट आउने विद्यार्थीहरु छन्, कतिपयका धेरै समस्याहरु छन् त्यसको समाधानका लागि हामी छात्रावासको ब्यबस्थापनमा पनि लागेका छौ ।

अन्त्यमा………
दृढ इच्छाशक्ति, संकल्प र समर्पण अनि त्यसको निरंतरता भयो भने सरकारी बिद्यालयलाइ पनि उत्कृष्ट बनाउन सकिन्छ निजि बिद्यालय भन्दा राम्रो नतिजा दिन सकिन्छ । स्रोत जुटाउन सकिएन, निम्न स्तरका विद्यार्थी आउँछन्, राम्रा विद्यार्थी सबै निजि बिद्यालयमा जान्छन् भन्ने कुराहरू सबै बहाना मात्रै हुन् । अरुलाइ दोष लगाएर मात्रै हुँदैन । हामीले बिश्वास दिलाउन सक्यौं भने ती राम्रा विद्यार्थी सरकारी बिद्यालयमै आउँछन् , स्रोत पनि जुटाउन सकिन्छ । सरकारी बिद्यालय सुधार्न निजि बिद्यालहरुलाइ गाली गरेर भन्दापनी निजि बिद्यालयहरुको राम्रो कुरा सिकेर सहकार्य गर्दै अघि बढ्नुपर्छ । अन्त्यमा नयाँ बर्षको शुभकामना सँगै हामीमा नयाँ जोश, नयाँ उमंग र अठोट साथ सामुदायिक बिद्यालयलाइ अब्बल र गुणस्तरीय बनाउन लागौं त्यो अरु कसैले गर्ने होइन हामीले नै गर्नुपर्छ भन्न चाहान्छु ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *