पद्मकन्या बिद्याश्रम लाई सबैको रोजाईको बिद्यालय बनाउछौँ: प्रधानाध्यापक तिवारी

वि स २०३१ सालमा काठमाडौमा जन्मनु भएकी रिता तिवारी पद्मकन्या बिद्याश्रम माध्यमिक स्कुलको प्रधानाध्यापक हुनुहुन्छ । वि स २०५५ सालमा केमिस्ट्रीमा मास्टर गर्नुभएकी तिवारी ले एम एड समेत गर्नुभएको छ । विगत पाँच बर्ष देखि तिवारी पद्मकन्या स्कुलको प्रधानाध्यापकको भुमिकामा हुनुहुन्छ । उनै तिवारी सँग ग्लोबल खबरले गरेको कुराकानीको सम्पादित अंश :

पद्मकन्या बिद्यालय बारे संक्षिप्तमा बताइदिनोस न ?
पद्मकन्या स्कुल वि स २००४ सालमा स्थापना भएको हो । नारी शिक्षालाई अघि बढाउन छात्रा मात्रै पढ्ने बिद्यालय हो । शैक्षिक क्षेत्रमा धेरै फट्को मारेको छ । कक्षा १२ सम्म अध्यन अध्यापन हुन्छ । ११-१२ मा शिक्षा , मानविकी र ब्यबस्थापन संकाय छ । कक्षा ९ देखि सिभिल इन्जिनियरिङका कक्षा पनि संचालन भैरहेका छ्न । विद्यार्थी लाई अगाडि बढाउनका निमित्त अतिरिक्त क्रियाकलाप , अतिरिक्त परिक्षा चलाइरहेका छौँ ।

अहिले सम्म के कस्ता अनुभव सँगाल्नु भएको छ ?
सुरुमा पद्मकन्यामा आउँदा गाह्रो भएको थियो । राजनैतिक रुपले ग्रस्त स्कुल थियो । त्यतिबेला एस एल सि को रिजल्ट जम्मा २९% थियो । रिजल्ट सुधार र गुणस्तरका लागी टिमलाई एकजुट बनाएर जादै गर्दा ,अरु स्कुलहरु सँग अनुभव साटासाट गर्दा, राम्रो अभ्यास गर्दै गर्दा , मेहनत गर्दै जाँदा अघिल्लो एस इ इ मा पन्ध्र जनाले ए प्लस ल्याए । अहिले पनि त्यही आशा गरेका छौँ । बिद्यालय प्रती समुदायले हेर्ने दृस्ठिकोण पनि बदलिएको छ । अहिले सबैले पद्मकन्या राम्रो छ भनेर प्रसंसा गर्न लायक स्कुलमा परिणत भएको छ ।

सरकारको लगानीमा संन्चालित सरकारी स्कुलको नतिजा , गुणस्तर किन खस्केको होला ?
सबैभन्दा ठुलो कुरा चाहिँ शिक्षक पनि स्थायी मैले जे गरे पनि जागीर सुरक्षीत नै हुन्छ , हटाउन कसैले सक्दैन भन्ने किसिमको मनस्थिति छ । अर्को कुरा सरकारी स्कुल प्रती हेर्ने दृस्ठिकोण बदलिएको छैन । माथिल्लो निकायहरुले पनि सरकारी भन्दा निजि स्कुललाई नै प्राथमिकता दिएको हो कि , निजि स्कुल खोल्न आतुर हुनुहुन्छ । निजि स्कुल खोल्न अनुमती दिरहनुभएको छ । बरु निजि र सरकारी स्कुल मर्च गर्दिउन भन्ने कुरा गर्नुहुन्छ । मर्च कुनै समस्याको समाधान होइन । त्यस्को भन्नू भन्दा पनि सरकारीको गुणस्तर कसरी वृद्धि गर्ने , शिक्षक , विद्यार्थी र अभिभावकमा कसरी उत्प्रेरणा जगाउने भन्ने तर्फ लाग्नु पर्दछ । मलाई के लाग्दछ भने स्कुल राम्रो हुनुमा शिक्षकको भुमिका नै महत्वपूर्ण हुन्छ ।

पद्मकन्या स्कुलको प्रधानाध्यापकको भुमिका बाट हेर्दा देशको समग्र महिलाको शैक्षिक अवस्था कस्तो देख्नुहुन्छ ?
अहिले त धेरै परिवर्तन भएको छ । काठमाडौलाई मात्रै हेरेर त भएन । काठमाडौमा नै थुप्रै महिला प्रअ हुनुहुन्छ । समग्रमा हेर्दा महिला हरुको अबस्थामा सोचे जस्तो परिवर्तन आएको छैन । राजधानी बाट नजिकै जिल्लामा गएर हेर्ने हो भने पनि छोरीलाई किन पढाउने भन्ने किसिमको सोचाइ वातावरण छ । जति परिवर्तन हुनुपर्ने त्यति भएको छैन । एउटा नारीलाई शिक्षा दिनुभनेको नै परिवार , समाज शिक्षित हुनु हो । त्यहि भएर शिक्षा दियो भने महिलाले अन्य काम नगरे पनि बालबच्चा , परिवार लाई शिक्षित बनाउन सक्छ्न नि भन्ने चेतनाको बिकास त भएको छ ।

पद्मकन्या स्कुलको आगामी लक्ष्य , उद्देश्य के के छ्न ?
पद्मकन्या प्राइभेट स्कुल भन्दा राम्रो छ भनेर विद्यार्थी आउने वाताबरण बनाउनु छ । अब अङ्ग्रेजी माध्यम बाट नि पढाउन सुरु गरेका छौँ । शिक्षक पनि धेरै राम्रो हुनुहुन्छ । पद्मकन्यालाई सबैको रोजाइको स्कुल बनाउने लक्ष्य छ ।भारतीय दूतावासको सहयोगमा महिला छात्राबास बनिरहेको छ । समग्र नेपाल भरिको गरिब , जेहन्दार विद्यार्थी लाई त्यहा राखेर नमुना बिद्यालय बनाउने लक्ष्य लिएका छौ।

अन्त्यमा…………
सरकारी बिद्यालयको प्रअ को हैसियतले के भन्न चाहान्छु भने सरकारी विद्यार्थी अगाडि बढाउन , गुणस्तर कायम गर्न सबभन्दा ठूलो कुरा टिम ओर्क हो । त्यसपछी समुदाय , अभिभावक शिक्षाको महत्त्व छ । माथिल्लो तहका निकायले पनि पोजेटिभ रूपमा हेर्नुपर्छ । सरकारी स्कुल भएन, मर्च गर्नुपर्दछ भन्ने तिर लाग्नुभन्दा के कस्ता क्रियाकलाप , अभ्यास गर्दा सरकारी स्कुलको गुणस्तर वृद्धि हुन्छ त्यता तर्फ लाग्नुपर्दछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *