रहर (कविता) : प्रकाश अधिकारी

गोधुली र मिर्मिरेमा

खुसीका बहारहरूसँगै

सुसाउँदै बग्ने रहर

नदीलाई मात्र कहाँ हुन्छ र ?

पेटमा लेउ लाग्नेहरूलाई

सडकमा छेउलाग्नेहरूलाई

इन्द्रेणी सपना बोकेर

आफ्नै पाइला माथि टेकेर

छङ्छङ् गर्दै बग्ने रहर कत्ति होला ?

के थाहा तिमीलाई

पेटमा लागेको लेउ

अनि आँगनमा टल्किएको कार्पेटमा

कुनको अस्तित्व कति हुन्छ ।

उसले भोकै बसेर

तिमीलाई नअघाएको भए

कसरी तिमी सोख बोकेर

आलिसानको जीवन बाँच्थ्यौ ?

जीवनको वास्तविकता खोज्नेहरू

बनाउटी जीवनमा बाँच्नेहरू भन्दा

धेरै फरक हुन्छन्

पल्टाएर उसका भोगाइहरू

पढेर हेर्न सक्छौ

तिमीले पनि

कहाँनेर कत्ति टुक्रिएको हुन्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *