-प्रकाश अधिकारी
निन्द्रामा देश
सीमानमा पुगेर
मेरो घर खोज्दै हुन्छ
डाकेर मलाई।
म रातभरी जागै हुन्छु
देश हराएको सपना देखेर
ऐठन हुन्छ,
अनायसै
निन्द्रा खल्वलिन्छ
भित्ताको घडी हेर्छु
आँखा छामेर
मनको जस्केलो उघार्छु
पाखुरीमा बल छाम्छु
क्रान्ति जन्मिन खोज्छ
कल्पनाबाटै ।
सासकको बन्दुको नाल
भुत्तिएपछि
निर्वल हुन्छन्
गोलीका छर्राहरू,
कतै
लुछाचुँडीले
फाट्छ कि मेरो देश
म आत्तिएको हुन्छु
तर पनि म
खोसिन
लुटिन
र
हराउन दिन्न
म रहुन्जेल
मेरो वर्तमान र मेरो देश ।