नेपालका आयुष र प्रितम ‘सारेगमपा लिटल च्याम्प्स’ को फाइनलमा

काठमाडौं – भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प्स’ को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल (उत्कृष्ठ छ जना)मा पर्न सफल भएका छन् ।

उत्कृष्ठ नौ जनाका अन्य सहभागीलाई उछिन्दै केसी र आचार्य दुबै फाइनलमा पुगेका हुन् । उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका छन् । फाइनल नतिजा आगामी शनिबारको पर्फर्मेन्स बाट निर्धारण हुने जीटीभीले जनाएको छ ।

प्रतियोगितामा भारतभरिका कुल २० हजारभन्दा बढि बाल प्रतिभा सहभागी थिए ।

सेमीफाइनलको प्रस्तुतीमा प्रितमले सलमान खान र ऐश्वर्या राय अभिनित चलचित्र ‘हम दिल दे चुके सनम’ बाट इस्माइल दरबार को संगीत र केकेको स्वर रहेको ‘तड़प तड़प के इस दिलमे’ गीत गाएका थिए  । आयुष ले ‘क्रिमिनल’ चलचित्रको कुमार सानुले गाएको ‘तुम मिले दील खिले’ गीत गाएका थिए ।

कार्यक्रममा निर्णायक गायक द्वय शान र अमाल मलिक तथा गायिका रिचा शर्मा एवं अतिथि गायक तथा संगीतकार आनन्द राज आनन्द लगायत १२ जुरी मेम्बरले प्रशंसा गर्दै दुवैलाई स्टेजमा पुगेर उचालेका थिए ।

सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो । सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए । ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउन्डको लागि मुम्बई गएका थिए ।

त्यसपछी ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुँदै  उनीहरु टप ११, टप ९ (सेमिफाइनल) हुँदै फाइनल सम्मको यात्रा तय गरेका हुन् ।

नेपालमै दुई वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन प्रतियोगिता सुरशाला जुनियर आइडल पहिलो संस्करणमा फाइनलिस्ट मध्ये एक हुन् आयुष । उनले पाँच वर्षदेखि संगीत सिक्दै आएका छन् ।

आयुषलाई सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाएका हुन् ।

प्रितम पहिलो राष्ट्रव्यापी बालगायन प्रतियोगिता सुरशाला जुनियर आइडल पहिलो संस्करणमा फाइनलिस्ट मध्येका एक हुन् । सुनसरीका उनी छ महिनादेखी मुम्बईमा छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *