अबको विद्यार्थी आन्दोलन विशुद्ध शैक्षिक मुद्दाहरूमा केन्द्रित हुनुपर्छ : अध्यक्ष खड्का

रमेश खड्का विद्यार्थी राजनीतिको क्षेत्रमा परिचीत नाम हो । वि.स. २०५८ सालमा कक्षा ४ मा पढ्दै गर्दा अखिल (क्रान्तिकारी) महेन्द्र मावि सल्यानको इकाई अध्यक्ष बाट सुरु भएको खड्काको औपचारिक राजनीति त्यसयता निरन्तर अघि बढिरहेको छ । २०६५ सालमा अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पसको इकाई सदस्य भएका खड्का २०६९ मा इकाई उपाध्यक्ष र २०७१ मा इकाई अध्यक्ष बने । त्यसपछि २०७२ मा भक्तपुर जिल्ला अध्यक्ष भएका खड्का लामो समयपछि २०७३ साल फागुनमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सानोठिमी क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भए साथै २०७४ भदौमा भएको अखिल (क्रान्तिकारी)को एक्काइसौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा समेत निर्वाचित भए । उनै खड्का सँग स्ववियु सानोठिमी क्याम्पस र समग्र विद्यार्थी आन्दोलन सँग सम्बन्धित रहेर ग्लोबल खबर डट कम ले गरेको कुराकानीको सम्पादित अंश :-

स्ववियु अध्यक्ष निर्वाचित हुनुभएको २ बर्ष पुरा भयो चुनावी दौरानमा गरेका प्रतिबद्धताहरु कति पुरा भए ?
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पश्चात् हामीले चुनावी दौरानमा केहि प्रतिबद्धता गरेका थियौ ती धेरैजसो प्रतिबद्धता पुरा गरेका छौं । एकाध प्रतिबद्धता पुरा हुने क्रममा छन् । हामीले चुनावताका क्याम्पसलाई फ्री वाइफाइ जोन बनाउछौ भनेका थियौ त्यो पुरा गरेका छौ । चमेना गृहको ब्यबस्थापन र स्वतन्त्र विद्यार्थी युनियनको हल ब्यबस्थित गरेका छौ । त्यस्तै क्याम्पसको पुस्तकालयमा पुस्तकहरु थिएनन् अहिले थपेका छौ । इ-लाइब्रेरी को निर्माण गरेका छौ । महिनैपिच्छे विभिन्न कार्यक्रमहरु गरिरहेका छौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्वतन्त्र विद्यार्थी युनियनहरु मध्ये हामीले सबैभन्दा राम्रो काम गरिरहेका छौं भन्ने विश्वास दिलाउन सफल भएका छौ । समग्रमा भन्दा विद्यार्थीहरुको हरेक समस्याहरूको नजिक रहेर समाधानका लागि विद्यार्थीहरु र क्याम्पस प्रशासन बिचको समन्वय गर्ने पुलको रूपमा स्वतन्त्र विद्यार्थी युनियन सानोठिमीले काम गरिरहेको छ ।

स्ववियुले दुई बर्षभित्र गरेका कार्यक्रम र आर्थिक विवरण सार्वजनिक गर्नुभयो तर क्याम्पस भित्र चाहिँ ठुलो अनियमितता छ भन्छन् नि?
तपाईंले भनेका केही कुराहरू सत्य हुन् पछिल्लो समय सानोठिमी क्याम्पसका विषयमा पनि केहि कुराहरू बाहिर आए तर बाहिर आएका सबै कुरा सत्य होइन । कतिपय अवस्थामा राजनीतिक आग्रह र पुर्वाग्रहका आधारमा पनि बाहिर आएका छन् । र पछिल्लो समय स्ववियुको तर्फबाट हामीले दबाब दियौं र क्याम्पस प्रशासनले हरेक कुरा गर्दा क्याम्पसका प्राध्यापक र विद्यार्थी हरुसँग पनि समन्वय गरेर गर्नुपर्छ भन्यौ र अहिले क्याम्पस प्रशासनले पनि त्यो कार्यकुशलता देखाएको छ ।

शिक्षाशास्त्रको देशकै ठुलो र पुरानो क्याम्पसको नतिजा सन्तोषजनक छैन नि ?
यो सानोठिमी क्याम्पसको मात्रै नभई समग्र विश्वविद्यालय कै समस्या हो । नतिजा सन्तोषजनक नहुनुमा पहिलो कुरा त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणाली र शिक्षा निति कै दोष देखिन्छ । परिक्षा प्रणाली पनि उपयुक्त छैन दोस्रो कुरा अध्यापन गर्ने स्थायी प्राध्यापकहरुको उदासीनता र क्याम्पस प्रशासनको पनि उत्तिकै दोष छ । नतिजा सुधार्न शिक्षा प्रणाली र शिक्षा निति परिवर्तन गर्नेदेखि लिएर क्याम्पस प्रशासन प्राध्यापक हरुलाइ जिम्मेवार बनाउन आवश्यक छ । त्यसका लागि सबै लाग्नुपर्छ ।

क्याम्पसमा विभागीय प्रमुख र प्राध्यापक नियुक्ति गर्दा क्षमताको आधारमा भन्दापनी राजनीतिक भागबन्डामा गरिन्छ किन ?
राजनीतिक भागबन्डा एउटा क्याम्पसमा मात्रै होइन विश्वविद्यालयमा नै छ । आज विश्वविद्यालयको उपकुलपति नै राजनीतिक आस्थाका आधारमा नियुक्त हुन्छन् । क्याम्पस प्रमुख, विभागीय प्रमुख र प्राध्यापक सम्म पनि राजनीतिक आस्थाका आधारमा नियुक्त हुन्छन् । यो शिक्षा क्षेत्रका लागि ठुलो दुर्भाग्य हो । हाम्रो शिक्षा क्षेत्र कमजोर हुनु र नतिजा दिनप्रतिदिन खस्किनुको कारण पनि यहीँ हो । यसको अन्त्य एउटा स्वतन्त्र विद्यार्थी युनियनले चाहेर पनि गर्न सक्दैन यसको लागि राज्य आफै जिम्मेवार भएर लाग्नुपर्छ र ।

शिक्षा क्षेत्रलाई राजनीतिले खोक्रो बनायो भन्छन् नि ?
यो हाम्रो शिक्षा क्षेत्रको तितो यथार्थ हो । मैले अघि पनि भनिसके हामी विश्वविद्यालयका पदाधिकारी देखि क्याम्पसका प्राध्यापक सम्म राजनीतिक रंगका आधारमा बनाउँछौ । विश्वविद्यालय र क्याम्पसहरुमा हुने भ्रष्टाचार, अनियमितता र हरेक गलत क्रियाकलापलाई राजनीतिक संरक्षण दिन्छौ । शिक्षा क्षेत्रका हरेक कुरामा राजनीतिक हस्तक्षेप हुन्छ । यो शिक्षा क्षेत्रका लागि अभिसाप बनेको छ । यसले गर्दा समग्र विश्वविद्यालय नै विघटन हुने जोखिम छ । समयमै सम्बन्धित पक्षले यसको सुधारमा नलाग्ने होभने विश्वविद्यालय नै ध्वस्त हुने अवस्थामा पुग्छ ।

पछिल्लो समय विद्यार्थी आन्दोलन एजेन्डा विहिन भएको हो ?
पक्कै पनि विद्यार्थी आन्दोलन कतै अलमलिएको जस्तो देखिन्छ । विद्यार्थी आन्दोलनको इतिहास हेर्दा धेरै गर्विलो छ । राणा शासनको विरुद्ध लड्ने देखि गणतन्त्रका लागी लड्ने सम्म कुरामा विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण भुमिका खेलेको छ । तर आज विद्यार्थी आन्दोलन कहि कतै रुमल्लिरहेको छ । यसलाई आत्मसमिक्षा सहित विश्लेषण गर्नुपर्छ यसमा केहि दोष हाम्रा पनि छन् । विद्यार्थी संगठन भित्रै पनि दुइखाले मान्छेहरु देखिन्छन् । एक खाले विद्यार्थी नेताहरू विद्यार्थी राजनीतिका नाममा राजनीतिक पावर र पहुँच बनाउने र आफ्नो स्वार्थ पुरा गर्न लागिरहेका छन् । अर्कोथरी केही गरौं भन्नेहरू छन् तर तिनीहरु पनि त्यही विद्यार्थी राजनीतिका नाममा सत्ता र सरकारको पहुँच पुगेर आफ्नो स्वार्थ पुरा गर्नेहरूको छाँयामा परेका छन् । र प्रतिपक्षी भुमिकामा हुनुपर्ने विद्यार्थी संगठनहरु माउ पार्टीकै नियन्त्रण र निर्देशनमा चल्नु दु:खद कुरा हो । यही तरिकाले विद्यार्थी आन्दोलन चल्ने हो भने यो पनि विसर्जनको दिशामा जाने पक्का छ । त्यसैले यसलाई जोगाउनका लागि समयमै सचेत हुन जरुरी छ ।

विद्यार्थी नेताहरू शैक्षिक मुद्दा  छाडेर विचौलिया धन्दामा लागेको खबर बारम्बार किन आइरहन्छ ?
शैक्षिक परिवर्तनका लागि भनेर लागेका विद्यार्थी नेताहरू नै विचौलिया धन्दामा लाग्नु दु:खद कुरा हो । विद्यार्थी नेताहरु विद्यार्थीका एजेन्डा छाडेर सरुवा, बढुवा र ठेक्कापट्टामा लाग्नुले विद्यार्थी आन्दोलन कमजोर त भएकै छ । विद्यार्थी आन्दोलन नै बदनाम भइरहेको छ । यो परिपाटीको तत्काल अन्त्य गर्नुपर्छ ।

अबको विद्यार्थी आन्दोलन कता केन्द्रित हुनुपर्छ ?
अबको विद्यार्थी आन्दोलन नयाँ ढंगबाट अगाडि बड्नुपर्छ । हिजो विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण भुमिका खेल्यो त्यसले एउटा कोर्स पुरा गर्यो । अब परिवर्तित राजनीतिक अवस्थामा विद्यार्थी आन्दोलन विशुद्ध शैक्षिक मुद्दाहरूमा केन्द्रित हुनुपर्छ ।

अन्त्यमा …………
अन्त्यमा स्वतन्त्र विद्यार्थी युनियनको सन्दर्भमा नै कुरा गरौं हामीले स्वतन्त्र विद्यार्थी युनियनको २ बर्षे कार्यकाल पुरा गर्दै गर्दा हामीले अनुभव गरेको विश्वविद्यालय भित्र चरम राजनीतिक हस्तक्षेप छ । विश्वविद्यालयलाई ध्वस्त बनाउने कुरामा सबैभन्दा बढी राजनीतिक नेतृत्व दोषी छ । त्यसपछि विश्वविद्यालयका पदाधिकारीहरु, क्याम्पस प्रमुख र प्राध्यापकहरु अनि कतिपय अवस्थामा विद्यार्थी नेताहरूको समेत नाम जोडिएर आउनु लज्जाको विषय हो । जबसम्म यो राजनीतिक हस्तक्षेप रहन्छ विश्वविद्यालयका पदाधिकारी देखि क्याम्पसका प्राध्यापक सम्म राजनीतिक आस्थाका आधारमा नियुक्त हुन्छन् त्यतिबेला सम्म विश्वविद्यालयको स्तरोन्नति सम्भव छैन । त्यसैले विश्वविद्यालयको स्तरोन्नतिका लागि राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ । योग्यता र क्षमताका आधारमा विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरु नियुक्त गर्नुपर्छ । विश्वविद्यालयलाई राज्यलाई अप्ठ्यारो परेको बेलामा साथ सहयोग र सुझाव लिने स्तरको बनाउनपर्छ । र सानोठिमी क्याम्पसको सन्दर्भमा कुरा गर्दा हामीले समग्र सानोठिमी क्याम्पसको स्तरोन्नतिका लागि निरन्तर लागिरहेका छौ । र सानोठिमी क्याम्पसमा शैक्षिक वातावरण निर्माण गर्न क्रीयाशिल हुनेछौ र समग्र त्रिभुवन विश्वविद्यालयको स्तरोन्नति गर्न लागिपर्ने छौ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *