सम्झनामा बैशाख १२

– रन्जित आचार्य

बैशाखको मौसम टन्टलापुर घाम र गर्मी हुनुपर्ने हो तर आकाश पुरै अध्यारो थियो । मध्यान्ह को समय एक्कासी जमिन हल्लिन थाल्यो साथमा को को थिए याद भएन । हतारहतार बसेको होटलबाट निस्केर दौडिए र नजिकैको खाली चौरमा एकै सासमा पुगे। कापिरहेका खुट्टाहरु काप्न छोडेजस्तो भयो, तर मन अझै उस्तै थियो डर र त्रासले भरिएको । रेडियो र टेलीभिजन र बुढापाका हरुबाट सुनिएको त थियो तर यति ठुलो प्राकृतिक विपत्ति आफैले भोगेको थिएन ।

करिब आधा घन्टा पछि स्थिति अलि शान्त भएजस्तो भयो जमिन हल्लिन केहि कम भयो । केहीबेर अघिको आकाशको कालो बादल हटिसकेको थियो तर आधा घण्टा अगाडिको सुन्दर बजार क्षणभरमै खंडहरमा परिवर्तन भइसकेको थियो । विभिन्न ठाउँमा हजारौं मानिसहरूको ज्यान गएको समाचार आउन थाल्यो । राजमार्गहरुमा पहिरो खसेको थियो नेपालको इतिहास बोकेको धरहरा ढलेको थियो विभिन्न दरबार, संग्रहालय र सांस्कृतिक सम्पदाहरुमा क्षति पुगेको थियो ।

घरपरिवार र आफन्तहरु प्राय सबै गाउँमै भएकाले अब गाउँ के भयो होला भन्ने चिन्ताले बेचैनी र छट्पटी हुन थाल्यो । राजमार्गहरु अवरुद्ध थिए जतिसुकै बेचैनी भएपनि एक्लै गाउँ जाने आँट गर्नसक्ने अवस्था थिएन । केही समयमा कसोकसो गाउँ जाने केही साथिहरु भेटियो र गाउँ लागियो ।

गाउँ जाँदै गर्दा बाटोबाट कारुणिक दृश्य मात्रै देखिन्थ्यो भुकम्प अघिका सुन्दर बजार, चोक र भञ्ज्याङ्हरु मरुभूमि जस्तै भएका थिए ।मानिसहरू आफ्ना परिवारका सदस्य र आफन्तहरु गुमाएको पीडामा आँखा भरी आँसु बगाउँदै बसिरहेका देखिन्थे । जे जस्तो भएपनि परेपछि सामना गर्नै पर्ने लामो यात्रापछि गाउँ पुगियो शरीर थाकेर गलेको थियोे तर थकाइ भन्दा गाउँ पुग्नु र आफन्त नातागोतासँगको भेटले सबै थकाइ मेटिएको जस्तै भएको थियो ।

गाउँमा पनि सहरकै जस्तो स्थिति थियो अधिकांश घरहरु ढलेका थिए । कति घाइते भएका थिए केहिले ज्यान नै गुमाएका थिए । कतिका बस्तुभाउ पुरिएका थिए । जसको अनुहार हेर्दा पनि मलिन देखिन्थ्यो कसैको मुहारमा मुस्कान थिएन । गाउँमा १५/१६ जना घर भत्किँदा पुरिएका रहेछन सबै लासहरु निकाल्ने प्रयत्न गरिरहेका थिए ।

परिवारमा भौतिक क्षति भएपनि मानवीय क्षति भएको रहेनछ मन अलि शान्त भयो । मोबाइलको टावरहरु ढलेका थिए, बिजुलीका पोलहरु लडेका थिए अन्त कतैको अवस्था बुझ्ने सम्पर्क सुत्र थिएन । जसोतसो ज्यान त जोगियो अब कहाँ बस्ने के खाने । डराएरै भएपनि भत्किएको घरभित्र पसेर केही खानेकुरा र भाँडाकुँडा झिकियो अनि नजिकैको मकैबारिमा पाल ताँगेर रात कटाउने छानो बनाइयो ।

आज ठ्याक्कै ५ बर्ष भएछ विनाशकारी भुकम्पको । आजपनी ५ बर्ष पहिलेको कहालीलाग्दो अवस्था आँखामा झल्झली आइरहेको छ । अहिले विश्व कोरोनाको महामारी सँग जुधिरहेको छ देश लकडाउन भएको ३२ दिन पुगिसकेको छ भुकम्पको महामारी जस्तै अहिले कोरोनाको महामारीले देशमा पिडा दिइरहेको छ । सहर बजार ठप्प छ उद्योग कलकारखाना सबै बन्द छन् । भोकमरी सुरु हुन लागेको छ सरकारले पीडितहरुको व्यवस्थापन गर्न सकेको छैन विभिन्न कठिनाइ छन् तर यी सबैको बाबजुद पनि विपत्ति र महामारीको सामना गर्नुको विकल्प हामीसँग छैन । त्यसैले सबै एकजुट भएर यो महामारीको सामना गरौं एक अर्कामा साथ, सहयोग र सद्भाव कायम राखौं र यो महामारीबाट आफू पनि बचौँ र अरुलाइ पनि बचाऔ ।
Stay Home! Stay Safe!!

लेखक आचार्य अनेरास्ववियूका केन्द्रिय सदस्य हुन् 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *