सम्झनामा बाल्यकालको त्यो दशै

-रन्जित आचार्य

बिहानीको समय थियो । निद्राले छोडिसकेको नभए पनि धुँवाले स्वास फेर्न गाह्रो भैरहेको थियो । धुँवाले स्वास फेर्न र सुत्न नसक्ने भएपछी यसो हेरे आमा एउटा ठुलो खंड्कुलोमा केही पकाइरहनु भएको थियो मैले सोचे गाई लाई खोले होला सायद , तै नि सोधे मैले “के गर्न लाग्नु भा आमा?” आमाले भन्नुभो ” दशै आयो चिउरा कुट्नु पर्छ, त्यसैले धान पकायको”
आमाको जवाफ पछि म मक्ख परे सोचे चिउरा खान पाउने भैयो ।

समय नै तेस्तै थियो त्यतिबेला चिउरा खान दशै नै कुर्नु पर्थ्यो,सायद त्यो बेला हाम्रो घर नजिक बजार पनि थिएन , बजार भएपनि के गर्नु किन्न लाई पैसा चाहिन्थो, दस बर्से जनयुद्ध को बेला बुबा देश परिबर्तनको लागि लाग्नुभएको थियो, अनि दाइ दिदी पनि सानै । आमाको भरमा घर व्यबहार ।

आमाले दशै आउन लागेको बताउन साथ पछाडि टालेको कट्टु र गन्जी लगाएर हिडियो गाउँतिर, हाम्रो घर गाउँको सबैभन्दा तल थियो । मेरो सङ्गत आफूभन्दा केहि ठुला उमेरका हरुसँग बढी हुन्थ्यो सबै केटाहरु जम्मा भएर पिङ थाप्ने सल्लाह गरियो तर समस्या अनेक थिए बाँस, बाबियो लगायत समाग्री जुटाउनै मुस्किल । दिनभर गाउँ डुलेर बाबियो त जम्मा पार्यौ तर बाँस काटेर ल्याउन सक्ने ताकत थिएन । यसका लागि ठुला दाइ हरुले सहयोग गर्नु भयो, बाबियो को लठ्ठा तयार पार्यौ र पिङ हालियो, पिङ हालेपछि बल्ल दशै आएजस्तो भयो ।

त्यतिकैमा एउटा साथिले भन्यो “म त गए बजार जानपर्छ भन्नू भयको छ बुबाले नयाँ लुगा किनिदिने रे” उसको परिवार हाम्रो भन्दा सम्पन्न थियो , यति भनेर उ गयो।

म घर फर्के बुबा घर आइपुग्नु भएको रहेछ, बा का साथिहरु पनि थिए, बाका साथीहरू प्रायः सबै दाह्री पालेका हुन्थे , सबैको साथमा अनिवार्य झोला हुन्थ्यो, हामि जस्ता बिपन्न हरुको सत्ता ल्याउन हिडेका भन्थे।सत्ता भनेको के हो मलाई के था त्यो बेला । मैले बुबा लाई भने ” बुबा! मलाइ पनि नयाँ लुगा चाहियो, नवीनलाई त उसको बुबाले बजार लिएर जानुभएको छ” बुबाले भन्नू भयो “यसपालि पोहोर कै ले काम चलाउनु पर्ला , नयाँ किन्ने पैसा छैन” बुबा निराश देखिनुहुन्थ्यो। म किन मान्थे” चाहियो जसरी नि चाहियो “मैले जिद्दी गरे
त्यतिकैमा बुबा सँग आएका साथिले भने ” चिन्ता नगर बाबू हामी छिट्टै यो देशको सामन्ती शासन फालेर नयाँ जनवादी व्यवस्था ल्याउँछौ, अनि हामि जस्ता बिपन्न ,किसान,मजदुर ,उत्पीडित सबैले खुसी र आनन्द ले बाँच्न पाउँछन्।”

त्यो बेला उसको कुरा मैले बुजिन, मलाई एउटै पिर थियो नयाँ लुगा नपाइने भयो । म रोए ” चाहिन्छ के हु…हु..हु…” आमा ले नरो भन्दै फकाउनु भयो, तर मेरो बाल मस्तिष्क किन मान्थ्यो र…

भोलिपल्ट फुलपाती को दिन थियो , त्यो बेला दशैलाइ भनेर असारतिर बाटै अलि सप्रेको घाँस नकाटी राख्ने चलन थियो र दसै का ३/४ दिन लाई पुग्ने घाँस काटेर राख्नुपर्थ्यो नत्र दसैंमा कहाँ फुर्सद हुनु । बिहानै दाइ दिदिहरु सँग घाँस काट्न गयौ , टीका को दिनसम्म पुग्ने घाँस काट्यौ । घाँस काट्ने बेला दाइदिदीलेहरुले भन्नू हुन्थ्यो “बिहान बुबा सँग आएका मानिसका कुरा ठिकै हो देशमा परिवर्तन आवश्यक छ, यसका लागि अरु जनशक्ति नि चाहिन्छ, यसमा हामीले पनि योगदान दिनुपर्छ ” त्यतिखेर त मैले उनीहरुको केही कुरा बुजिन ।
पछि उहाँ पनि त्यहीँ अभियानमा सहभागी हुनुभयो।

त्यो बेला गाउँभरी सबैको खसी मार हान्ने मान्छे एउटा मात्र हुन्थ्यो, बिहानैदेखि मार हान्ने काम सुरु हुन्थ्यो, सबै घरमा मार हानी सक्दा करिब १२ बज्थ्यो, हामी पनि मार हानेको हेर्न मार हान्नेहरु पछिपछि लाग्थ्यौ,

हाम्रो १४/१५ जनाको परिवारलाई जम्मा ४/५ धार्निको दुब्लो बोको काटियो । बा र बाका साथीहरूले काटकुट पारे एक छाक त पुग्नेगरी मासु खायौ त्यसपछिको छाकमा फर्सि मिसिन्थ्यो ।
पिङ खेल्न जादा, सम्पन्न परिवारका साथीहरूले आज पनि मासु मात्र खाएको भन्दा मनमा चसक्क हुन्थ्यो।

विजया दशमिको दिन हजुरबुबा का ५ भाइ छोराको ३०/३५ जनाको परिवार सबै हाम्रैमा जम्मा हुन्थे । टीका लागाउने क्रम ठुलो बाट सुरु हुन्थ्यो ,आफू त कान्छो पालो आउनै मुस्किल बल्लतल्ल पालो आयो सबैको हातको टीका लगाउँदा सानो निधार पुरै ढाकेर टाउकै भारी हुन्थ्यो । फेरि आमा भन्नू हुन्थो ” सबैलाई नमस्कार गर”
उसै त लाज हुने ,सबैलाई नमस्कार गरिसक्दा झन्डै आदि घण्टा बित्थ्यो । अहिले जस्तो क्यामारा र मोबाइलहरु थिएनन् । सबै याद मस्तिष्कमा कैद गर्नुको विकल्प थिएन ।

टीकाटालो सकिएपछी खानपिन अनि त्यसपछि सुरु हुन्थ्यो मामा घर जानी सुरसार । घर र गाइबस्तु हेरचाह गर्नुपर्ने भएकाले सबै एकैपटक जान मिल्दैन थियो तर कान्छो हुनुको फाइदा आमाको साथ छोड्न पर्दैन थ्यो ।

मामाघर जाने भनेपछि मन आफै चङ्गा हुन्थ्यो । खुशीको सिमा नै हुदैन थ्यो ४/५ घण्टाको बाटो हिड्नु पर्ने कुनै डर हुँदैन थ्यो । त्यसलाई मामाघरमा टीका लगाएर पाइने दक्षिणाले उत्प्रेरकको काम गर्थ्यो सायद । घरमा छोरी चेलिहरुलाइ मात्रै दक्षिणा दिने भएकाले पनि हामी छोराको लागी दक्षिणाको महत्त्व अलि बढी नै हुन्थ्यो ।

मामाघर बाट फर्किदा गोजीमा दक्षिणाको १०/१५ रुपैयाँ जम्मा हुन्थ्यो , त्यो १०/१५ रुपैयाँको खुशी सायद अहिले खोजेर पनि पाइँदैन । त्यहीँ १०/१५ रुपैयाँले बर्षभरी पुर्‍यायर सुकाखाले चक्लेट किनेर खानेको मज्जा सायदै पाइएला ।

चिउरा कुट्ने ,पिङ थाप्ने, घाँस काट्ने, मार हान्ने, पिङ खेल्ने, टीका लागाउने,र मामाघर जाने बाल्यकालको दशैको त्यो खुशीको आजकल छाँया पनि महशुस गर्न सकिन्न…………।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *