सगरमाथा र सेती

– नारायण ज्ञवाली

मलाई ‘सगरमाथा’ मन पर्दैन
उ अटल छ, उच्च छ
उसको आफ्नै शान छ, मान छ
संगसंगै उसंग अभियान पनि छ।
वास्तवमा मलाई उसको ‘उचाई’ मन पर्दैन
कारण?
सेती नदिको ‘गहिराई’ उ नाप्न सक्दैन।
उसले बुझेकै छैन
मोति टिप्न गहिराईमा पुग्न पर्छ।

हुन त मलाई ‘सेती नदि’ पनि मन पर्दैन
उ आफू धेरै गहिरो छ
पिल्सिएको छ गहिराईमा।
माथी उक्लिने आँट नै गर्दैन
रुन्छ, क्रन्दन सुनाउँछ
तर उठ्ने जागर गर्दैन।
वास्तवमा मलाई उसको ‘गहिराई’ मन पर्दैन।
कारण?
सगरमाथाको ‘उचाई’ उ नाप्नै सक्दैन।
उसले बुझेकै छैन
जुन छुन उचाईमा पुग्नै पर्छ।

मेरो इच्छा
सगरमाथा अलि ‘होचो’ देखियोस्
‘अग्लिदै’ गर्दा ‘होचो’ देखिनुको अर्थ बुझोस्
सेती नदिमा उ डुब्न सकोस्
सेती नदि संगै बग्न सकोस्
उसको क्रन्दन, उसको रोदन
उसको पीडा
सगरमाथाले सुन्न सकोस्।
सेती रुदा संगसंगै रुन सकोस्।
बुझोस्
जति जिवनको उकाली चडिन्छ
उति जिन्दगीको गहिराई बुझिन्छ।

उता सेती नदि ‘उचो’ देखियोस्
आकाश छुन सकोस्
सतहमा पुग्ने आँट गरोस्।
सगरमाथाको डंगुर बगाउन सकोस्।
पग्लिदै गरेको हिउँ र घट्दै गएको उचाई
थाम्न सकोस्
आँशु पुछिदिन सकोस्।
उसको अटलतालाई अडाउन सकोस्
गम्भीर भएर बग्न सिकोस्।
बुझोस्
जति गहिराईमा बग्न सकिन्छ,
उति जिवनमा उचाई प्राप्त गरिन्छ।

अर्थात
‘उचो र ‘ गहिरो’ समान होस्
उचता र निचता समान होस्
सगरमाथा र सेती जस्तै।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *