आप्रवासीप्रति झन्झन् आक्रामक बन्दै डोनाल्ड ट्रम्प

वासिङटन : आप्रवासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रंगको आधारमा विभेद गरेको आरोप लागेको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी विभिन्न राज्यबाट संसद्मा प्रतिनिधित्व गर्ने महिला सांसदलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै उनीहरूलाई आफ्नो घर फर्किनसक्ने भनी आलोचना गरेका थिए । राष्ट्रपति ट्रम्पको भनाइ अमेरिकी संसद् (कंग्रेस) मा प्रतिनिधित्व गर्ने सांसदहरू एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले र इल्हान ओमरलाई संकेत गरी आएको सञ्चारमाध्यमहरूले लेखेका छन् । ट्विटमा ती सांसदको नाम भने उल्लेख गरिएको छैन । कोर्टेज, तलाइब, प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन् भने सांसद ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् ।

राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए । प्रगतिशील धार (लिबरल डेमोक्रेट्स) का ती चार महिला सांसदसँग सभामुख पेलोसीको सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको र यसलाई सञ्चारमाध्यममा व्यापकता पाएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका थिए ।

यसै सन्दर्भलाई लिएर सोमवार अमेरिकी डेमोक्रेट्स पार्टीका नेताहरू, बेलायती प्रधानमन्त्री टेरेसा मेलगायतले अमेरिकी राष्ट्रपतिको सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । यसैबीच अमेरिकी कंग्रेसकी सभामुख पेलोसीले ट्विटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेकी छन् । उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको भनाइको खण्डन गरेकी हुन् ।

संसद्मा मिशिगनको प्रतिनिधित्व गर्ने तलाइब, नेता बर्नी स्यान्डर्सलगयतले ट्रम्प जातिवादी भएको आरोप लगाएका छन् । ‘न्याय र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्छ’, स्यान्डर्सले लेखेका छन् । त्यस्तै, तलाइबले भनेकी छन्, ‘ट्रम्पमाथि महाअभियोग नै लगाइनुपर्छ ।’

अमेरिकी नेताहरूको भनाइप्रति संकेत गर्दै राष्ट्रपति ट्रम्पले ट्विटरबाटै डेमोक्रेट्स नेताहरूले मातृभूमिबारे नराम्रो कुरा गर्ने समूह वा व्यक्तिलाई समर्थन गर्नु दुःखद भएको टिप्पणी गरेका छन् । यसैबीच बेलायती प्रधानमन्त्रीले पनि अमेरिकी डेमोक्रेट्स पार्टीका सांसदलाई संकेत गर्दै गरेको ट्विटमा उनीहरू फर्किन सक्छन् भन्ने अमेरिकी राष्ट्रपतिको धारणा गलत रहेको बताएकी छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *