टर्की भुकम्पमा ज्यान गुमाउनेको संख्या १० हजार पुग्यो

काठमाडौं – सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या करिब १० हजार पुगेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टर्कीमा हालसम्म ६,९५७ र सिरियामा कम्तीमा २,५३० जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ। अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने आस कम हुँदै गएको छ।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। युरोपका लागि विश्व स्वास्थ्य संगठनकी प्रमुख आपतकालीन अधिकारी क्याथरिन स्मालवुडले मृतकको संख्या २० हजार नाघ्न सक्ने बताएकी छन्। हजारौं मानिसहरू अहिले पनि सम्पर्कविहीन भएका छन्। केही अपार्टमेन्टसहित थुप्रै घरहरू भत्किएका छन्। विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।

उद्धारका लागि ६५ भन्दा बढी मुलुकले आफ्ना सैनिक र उद्धारकर्मी टर्की पठाएका छन्। अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भरहेको छ।  अधिकारीहरूले मानिसहरूलाई आफ्ना घरमा तत्काल नफर्किन भनेका छन्। स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन्। तीमध्ये एउटा ७.७ म्याग्नेच्युडको थियो। अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ।

भूकम्पको केन्द्रबिन्दु सीमाबाट नजिकै भएकाले सिरियामा पनि ठूलो क्षति भएको छ। सिरियामा त भूकम्प प्रभावित सबै क्षेत्रमा सरकारको नियन्त्रण पनि छैन। उत्तरी सिरियामा पर्ने भूकम्प प्रभावित क्षेत्रमध्ये केही राज्य नियन्त्रित छ भने केहीमा टर्की अधिपत्य छ, केही क्षेत्रमा विद्रोहीहरूले कब्जा जमाएका छन्। गृह युद्धले क्षतविक्षत भएको ठाउँमा भूकम्पले थप पीडा थपेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *