प्रश्न

प्रेम राई परीक्षित

आमा….!
तिमीलाई थाहा छ नि
मैले दिन रात साँझ बिहान
पसिना चुहाईरहेको
एकै छिन आराम लिएको
सम्झना छैन मलाई
तर धेरै देश समृद्ध भैरहँदा
मलाई इमिग्रेसनमा देख्दा
त्यो मसिन किन सशङ्कित हुन्छ आमा…?
के म गरीब मुलुकको
नागरिक भएर हो आमा?
धनी हुन के गर्नु पर्छ आमा?
अहिले सम्म पसिना बगाएकै छु
धनी हुन के खेतमा हल गोरु नारेर
चिया पसलमा राजनितीका
लामा लामा गफ छाट्नुपर्छ हो आमा?

आमा….!
तस्करहरुले रातारात
तेत्तीस किलो सुनका डल्ला
मेरो एयर्पोर्टबाट रातारात
छिराएको कुरा तिमीलाई था छ नि
तर,अरबको उखर्माउलो गर्मीमा
छाला डढाएर कमाएको पैसाले
छोराछोरिलाई पठाएको
दुई पोका चकलेट मेरो एयरपोर्ट्बाट
किन छिर्दैन आमा….?
आमा….!के मेरो एयर्पोर्ट तेत्ती सानो छ?
ठूलो बनाउन के गर्नु पर्छ आमा?

आफ्नो सुबिधा बढाउन
छिनभरमै बिधेयक पास हुन्छ
हाम्रो बाटो छेकेर
सवारी पनि सजिलै पास हुन्छन
तर जिवनको दोसाँधमा रहेको
बिरामी मेरो बुवाको
गाडी किन जाममा परिरहन्छ आमा..?
तिम्रो खसमको चिनो
त्यो सिरानबारि सारा नियम पुगे पनि
मालपोतमा किन पास हुदैन आमा…?
पास हुन के फेल हुनुपर्छ हो आमा…?

मान्छेको मूल्य स्थापित गर्न
आन्दोलनमा होमिदा
तिमीले मेरो बाटो छेकेकी थियौ नि
कोठामा बाहिरबाट चुक्कुल
लगाएर मलाई रोकेकी थियौ नि
पल्लाघरको सानेलाई बोलाई बोलाई
त्यो चुक्कुल खोल्न लगाएर
म त्यतिबेला लोकतन्त्र जिन्दाबाद
भन्दै हिडेको थिए नि!

सडक गल्ली अनि चोकहरु
जिन्दावाद र मुर्दाबादले घन्किरहदा
तिमीले त्यतिखेर मलाई कोठामा
किन थुनेकी थियौ आमा…?
मैले पक्रेको झण्डा किन खोसेकी थियौ?
आज बल्ल थाहा पाउदैछु
तिम्रो दुरदर्शिता अनि देश प्रतिको आगाध प्रेम
कि तिमी अाैंठाछाप भए पनि
खुकुरी खुकुरी नै
र कर्द कर्द नै हुदोरहेछ आमा….
तिम्रो जीवन अनुभवको अगाडि
मेरो प्रमाण पत्रहरु फिक्का भएका छन
र म अहिले भावशुन्य भएर
सहिद शुक्रराज को सालिक अगाडि
उभिइरहेको छु नि:शब्द!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *