मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित

क्वालालमपुर (रासस–सिन्ह्वा) – मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित गरेको छ । संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाको १६ औँ राजा हुनुभएको अधिकारीहरूले जनाएका छन् ।
राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएनुसार यही जनवरी ३१ तारिखका दिन उनले पद बहाली गर्नेछन् ।

यसअघिका राजा सुल्तान मुहम्मद पाँचौले यही जनवरी ६ मा राजीनामाको घोषणा गरेपछि नयाँ राजा चयन गरिएको हो ।  मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावअधि नसकिँदै राजीनामा दिने उनी पहिलो राजा हुन् ।
उनले राजीनामा दिनु पर्नाको कारण अहिलेसम्म स्पष्ट पारिएको छैन । तर उनले रुसी पूर्वसुन्दरीसँग विवाह गरेकाले राजीनामा दिएको बताइएको छ ।

राजीनामाको घोषणा गर्नुअघि ४९ वर्षीय १५औँ राजा सुल्तानले केही सातादेखि बिदा लिएका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए ।  मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ वर्षीय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन् ।

नयाँ राजा अब्दुल्लाहका पिता सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा यही जनवरी ११ का दिन पद त्याग गरेपछि अब्दुल्लाह त्यस राज्यको सुल्तान बनेका थिए । अस्वस्थताका कारण देखाउँदै उनका पिताले पद त्याग गरेका थिए । प्रायः पालो कुरेर बसेका सुल्तान पालैपालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको थियो ।

राजा छान्न सबै सुल्तानलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ । अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तान राजा हुन उपयुक्त छन् कि छैनन् भनेर निर्णय गर्छन् । राजा निर्वाचित हुन नौमध्ये कम्तीमा पाँच मत अर्थात् बहुमत पाउनु पर्दछ । बहुमत नपुगेमा त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा यही प्रक्रियाबाट मतदान गर्ने परम्परा रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *