राजु सुनार
नेपाली कांग्रेसमा मैले पनि एक दशक बढी समय बिताएँ । मेरो अनुभवमा कांग्रेस राजनीतिमा दलित समुदायले जुन सम्भावना देख्नुपर्ने थियो, त्यो देखिँदैन । हामीजस्ता युवाले नेपाली कांग्रेसको झन्डामुनि बसेर ऊर्जावान समय बिताइरहेका छौं । यो ऊर्जाशील समय कांग्रेसमा बिताउँदै गर्दा भोली हाम्रा लागि सम्भावनाका ढोका बन्द रहन्छन् भने हाम्रो बास नर्कमा हुनेछ ।
यदि नेपाली कांग्रेसले साँच्चिकै उदारवादी नीति ल्याएर र समावेशी ढंगले बीपी कोइरालाले प्रतिपादन गरेको समावेशीतालाई कार्यान्वयन गर्ने हो भने मात्र युवाहरूले कांग्रेसप्रति आशा र भरोसा राख्न सक्छन् । पार्टीले सबै क्षेत्रमा दलितलाई समावेशीको कोटा दिएको छ । पार्टी संगठन र संसद्मा दलितका लागि समावेशी कोटा छ ।
नेपाल दलित संघ वि.सं. २०५४ सालमा मानबहादुर विश्वकर्माको नेतृत्वमा स्थापना भएको हो । उहाँ मानबहादुर स्वयं नै दलित कोटाबाट केन्द्रीय सदस्य लडी राख्नुभएको छ । र, त्यही समानुपातिक कोटाको सांसद पद खाएर बसी राख्नुभएको छ । २०५४ सालदेखि आजसम्म काम के गर्नुभयो, त्यो इतिहासले मूल्यांकन गर्नेछ ।
दलित कोटामा दुई महिलाको सिट र तीनवटा पुरुषको सिट छ । त्यसमा हामीले जहिले देखिरहने अनुहार भनेका मीन विश्वकर्मा, जीवन परियार, मानबहादुर विश्वकर्मा, सुजाता परियार र लक्ष्मी परियार हुन् । यिनै अनुहार मात्र पटकपटक दोहोरी रहन्छन् । यसरी एउटै अनुहारलाई पटकपटक देख्दा कहिलेकाहीँ त कांग्रेस कार्यकर्तालाई नै मनोटोनस हुन्छ जस्तो लाग्छ ।
सवाल उठिसक्यो, यति लामो इतिहास बोकेको नेपाली कांग्रेसमा दलित नेता हुन अरू योग्य छन् कि छैनन् ? यदि उनीहरूले मात्र सधैंभरि पार्टीमा पद खाइराख्ने भए अरूले सम्भावना नखोजे पनि भयो । र, नेपाल दलित संघको नाममा राजनीति गरेर अरूले कुनै सम्भावना देख्दै देख्दैनन् किनभने उहाँहरू कुनै न कुनै शीर्ष नेताको नजिक बसेर काम गरिराख्नुभएको छ । उहाँहरूलाई कसैले छोड्दैनन्, अरूलाई अवसर दिँदैनन् । निर्णय गर्ने उहाँहरू नै हो, त्यसैले पनि अरूले सम्भावना देख्दैनन् ।
अहिले जारी महासमिति बैठकमा हामीले विधान संशोधनको प्रस्ताव राखेका छौं । म पनि महाधिवेशन प्रतिनिधिको हैसियतले विधान संशोधनमा संलग्न थिएँ । विधान संशोधनका लागि मैले पनि केही कुरा लेखेर दिएको छु । आशा छ, पार्टीले मेरा कुरालाई अध्ययन गर्नेछ ।
दुई पटकभन्दा बढी केन्द्रीय समितिमा कोटाबाट लड्न नपाउने, समानुपातिकको सांसद पनि कोटाबाट दुई पटकभन्दा बढी खान नपाउने गरी विधान संशोधन हुनुपर्छ । यी दुवै विषय महासमिति बैठकले परिमार्जन गराउनुपर्छ । विधानमै दुई पटकभन्दा बढी दलितको कोटाबाट पार्टी र सांसदमा बस्न नपाउने उल्लेख गर्नुपर्छ । यदि यो कुरा संशोधन गरिएन भने दलित संघबाट राजनीति गर्नु र नेपाली कांग्रेसमा सम्भावना खोज्नु मूर्खता हुनेछ ।
यदि दुई कुरा यो महासमिति बैठकले परिवर्तन ग¥यो भने अथवा विधान संशोधन भयो भने त्यसबेला मात्र कूल जनसंख्याको १३ प्रतिशत दलित समुदायको भविष्य नेपाली कांग्रेसमा सुनिश्चित हुन्छ । विधान संशोधन नभएसम्म नेपाली कांग्रेसमा नयाँ पुस्ताको भविष्य छैन ।
नेपाली कांगे्रसमा पहिलो महामन्त्री धनमानसिंह परियार हुनुहुन्थ्यो । प्रजातन्त्र कांग्रेस र राष्ट्रिय कांग्रेस बन्ने बेलामा देवदत्त परियारले प्रजातन्त्र कांग्रेसमा हुनुहुन्थ्यो । नेपाली कांग्रेस निर्माण चरणका बेला थियो । भारतमै बसेर देवव्रत परियारले कांग्रेस प्रजातन्त्रको संगठन सम्हालेका थिए । यता राष्ट्रिय कांग्रेसमा जीवराज गहतराजले संगठन चलाउनुभएको थियो ।
दुवै पार्टी एक भएपछि नेपाली कांग्रेस बन्यो । त्यसबेला पार्टीले धनमानसिंह परियारलाई महामन्त्री बनायो । यो विषयमा पनि मेरो फरक धारणा छ । नेपाली कांग्रेसले दलित समुदायलाई स्थापना कालदेखि समेट्दै ल्याएको छ । दलितलाई स्थान दिएको छ । दलसिंह कामीलाई त्यसबेला मन्त्री बनाएकै हो ।
हिजो खाएको भातले त आज हामीलाई पुग्दैन भने पाँच दिनअघि खाएको भातले हामीलाई पुग्छ ? आज खाएर भोलि पनि खानुपर्छ । अहिले खाएर मात्र पनि पुग्दैन, समय सापेक्ष खानुपर्छ । गर्मीमा खानेकुरा जाडो महिनामा खान हुँदैन । जाडोमा खाने कुरा गर्मी महिनामा खानु हुँदैन । तराईमा खानेकुरा हिमालमा चल्दैन । अर्थात् समय र परिस्थिति अनुसारको खाना हामीले खानुपर्छ ।
हामीले सधैं धनमानसिंह परियार, देवव्रत परियार, दलसिंह कामी अर्थात् दलित संघका संस्थापक मानबहादुर विश्वकर्मा, भर्खरै पार्टीको तर्फबाट वाणिज्य मन्त्री बन्नुभएका मीन विश्वकर्मालगायतका मान्छेहरूको मात्रै नाम पिटेर सिंगो १३ प्रतिशत दलित समुदायको उन्नति, प्रगति हुँदैन । यसरी दलित समुदायमा परिवर्तन आउँछ ?
सबै दलितको उन्नति प्रगति हुन नीति स्पष्ट हुनुपर्छ । जबसम्म हामीसँग नीतिगत स्पष्टता हुँदैन, तबसम्म तिनीहरू नै पदमा हालिमुहाली गरिराख्ने छन् । एकपछि अर्को सम्भावनाको ढोका खुला राख्ने नीति आवश्यक हुनुपर्छ । सम्भावनाको ढोका बन्द भएको संगठनमा सिंगो समुदायको परिवर्तन र समृद्धिको कल्पना पनि गर्न सकिन्न ।
नीतिगत स्पष्टता हुनुपर्छ, नयाँ पुस्ताले अघि बढ्ने बाटो क्लियर देखिनुपर्छ । अहिलेका युवा हिजोका धनमानसिंह परिवार, दलसिंह कामी अथवा मानबहादुर विश्वकर्मालगायत केही नेता हुनुहुन्थ्यो, त्यो परिस्थितिका नेता होइनन् ।
अहिले २१ औं शताब्दीका दलित समुदाय हुन् । उनीहरू शिक्षित छन्, हरेक संगठनको नेतृत्वमा आएका दलित समुदायसँग शैक्षिक डिग्री छ । उनीहरू कालो र सेतो छुट्याएर स्पष्टसँग आफ्नो धारणा राख्न सक्छन् ।