गणतान्त्रिक राज्यमा तानाशाहको झल्को

-भानु पराजुली

२०६२/६३ को जनआन्दोलनको बेला निरंकुश शासन व्यवस्था थियो । रेडियो टेलिभिजन लगायत संचार क्षेत्र राज्यको नियन्त्रणमा थिए । १९ दिने जन-आन्दोलनमा गरिब र निमुखा जनता भोकले छट्पटाइ रहे तर नारायणहिटीले जनताको आक्रोश नबुझे झै गरिरह्यो । अन्ततः आन्दोलनको १९औं दिन २४० बर्षे विरासत बोकेको शाही शासन ढल्यो र जनता सार्वभौमसत्ता सम्पन्न भए ।

आज शाही शासनको अन्त्य भएर गणतन्त्र आएको करिब १४ वर्ष भएछ तर राजाको ठाउँमा राष्ट्पति भन्दा केही परिवर्तन भएको छैन आज पनि गरिब र निमुखाको चुल्होमा उहीँ समस्या छ । हिजो नारायणहिटी थियो आज बालुवाटार र शितल निवास छ । पात्र फेरिए प्रवृत्ति जस्ताको त्यस्तै छ । यो बिचमा धेरै परिवर्तन भए राजतन्त्र बाट गणतन्त्र आयो, संघीयता आयो, धर्मनिरपेक्षता आयो अनि समानुपातिक र समावेशी प्रणाली पनि आयो तर जनताले दैनिक जिवनमा केहि फरकपन महसुस गर्न सकेनन् । जनताको लागि ल्याइएको व्यवस्थाले जनता कै जिवनमा परिवर्तन महसुस गराउन सक्दैन भने त्यो व्यवस्थाको अर्थ के रहला ?

आज राजनीतिक स्वतन्त्रताको नाममा देश भ्रष्टाचारको अखाडा बनेको छ । जताततै अनियमितता र ढिलासुस्ती बढेको छ अनि मुख्य कुरा त्यसमा राज्यकै जिम्मेवार निकाय र जिम्मेवारी ब्यक्तिहरु संलग्न छन् । बालुवाटार काण्ड, वाइडवडी काण्ड र स्वास्थ सामग्री खरिद प्रकरण पछिल्ला केहि उदाहरण मात्रै हुन् । यस्ता बाहिर देखिएका र लुकाइएका कैयौं काण्डहरु छन् ।

६२/६३ को जन-आन्दोलनपछि गणतन्त्र सँगै अभिव्यक्ति स्वतन्त्रता पनि आयो तर वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथी पनि अंकुश लगाउँदै छ केहि समय अघि काठमाडौ प्रेसले प्रकाशित गरेको स्वास्थ सामग्री खरिद सम्बन्धि समाचार प्रधानमन्त्रीकै आइटी विज्ञ अस्गर अलिको संलग्नतामा अनाधिकृत रूपमा हटाइयो । नेपाल सरकारका पुर्व-सचीव भिम उपाध्याय सामाजिक संजाल फेसबुकमा स्ट्याट्स लेखेकै भरमा पक्राउ परे । राष्ट्रपतिको सामान्य आलोचना गरेकै भरमा अदालतले एक दलित युवकलाई ५ बर्ष कैदको सजाय सुनायो । यी केहि उदाहरण मात्रै हुन् यस्ता कैयौं घटना सरकारले घटाइरहेको छ जसले अभिव्यक्ति स्वतन्त्रताको नारालाई धोती लगाइदिएको छ ।

सरकार भ्रष्टाचारको पोखरीमा चुर्लुम्म डुबेको छ । प्रधानमन्त्री र मन्त्रीहरू माफियाहरुको घेराभित्र छन् । जनताका गुनासाहरु सिंहदरबारमा पुग्दैनन । सर्वसाधारण जनताको सामान्य काम हुँदैन तर भ्रष्ट माफियाहरुले मन्त्रीपरिषद बाट आफ्नो स्वार्थ अनुकूलको निर्णय भटाभट गराउँछन् । गणतन्त्र सत्तामा पुग्ने र केहि सिमित भ्रष्ट र माफियाहरुको स्वार्थ पुर्तिका लागि मात्रै हो ?

राणा शासन विरुद्धको आन्दोलन, पन्चायत विरुद्धको आन्दोलन अनि राजतन्त्र विरुद्धको १० बर्षे जनयुद्ध र ६२/६३ को आन्दोलनबाट जनताको दैनिकीमा के परिवर्तन आयो ? यही हो समाजवाद र साम्यवाद ? सत्ताको बागडोर सम्हालेका नव-सामन्ती शासकहरुले उत्तर दिन सक्छन् ?

राणा र राजाको अस्वस्थ मानसिकता को कारण देशले धेरै कर्मठ र साहसी युवा गुमाउनु पर्यो अब फेरि अस्वस्थ शरीर अनी अस्वस्थ मानसिकता भएकालाई सत्तामा रहिरहन दिने होभने भोली फेरी जनताले अर्को आन्दोलनको नेतृत्व गरेर हिजो राणा र राजालाई जस्तै सत्ताबाट गलहत्याएर नफाल्लान भन्न सकिन्न त्यसैले अझैपनि केही समय बाँकी छ जनआक्रोश लाई सम्बोधन गर दोस्रो पुस्तालाई देश हाँक्न दिएर अभिभावकिय जिम्मेवारीमा बस । राष्ट्रियता संकटमा छ सिमानामा छिमेकीको गिद्देदृष्टी परेको छ सम्पुर्ण जनतालाई विश्वासमा लिएर एकजुट भएर राष्ट्रियताको लडाइँ लड्न आह्वान गर ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *