संघर्षशील रेखाको बदलिएको जीवनरेखा

नेपालीमा एउटा भनाइ छ– ‘फल भएको वृक्ष सधैं झुकेको हुन्छ ।’ हो– पहिले भेटमा नै उहाँलाई धेरैले यस्तै कोटीको उपाधि दिन्छन् । झट्ट हेर्दा हँसिली, आकर्षक र स्वाभाविक जिउडालकी, सुकिलो–मुकिलो पहिरनमा सफाचट । सुरुमा खान्दानी घरनियाँकी अन्य नारीजस्तै लागे पनि वास्तविक गहिराइमा पुगेपछि थाहा हुन्छ कि उहाँ अत्यन्त संघर्षशील अनि विलक्षण प्रतिभाकी प्रतिमूर्ति हुनुहुन्छ भनेर । साथै भद्र र बौद्धिक पनि । कामको सिलसिलामा आइलागेका जस्तोसुकै चुनौती सामना गर्दै त्यसलाई अवसर र अनुभव ठान्नुहुन्छ उहाँ । उसो त जीवनका पल–पलमा बाधा आउनु, संघर्ष गर्नु, अन्ततः सफलता हात पार्नु उहाँका लागि नियतिजस्तै बन्यो । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकी अध्यक्ष, सरस्वती महिला विद्या मन्दिर विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा काठमाडौंको दक्षिणढोका–माकलबारीस्थित जया मल्टिपल क्याम्पसकी प्राध्यापक रेखा अर्यालको अपत्यारिलोझैं लाग्ने जीवनगाथा हो यो ।

रेखाको जन्म विक्रम सम्वत् २०३८ पुस २ गते काठमाडौंको पुतलीसडकमा रामप्रसाद भण्डारी र उर्मिलाका तीन छोरी तथा एक छोरामध्ये पहिलो सन्तानको रूपमा भएको हो । उहाँका बहिनी द्वय रोशा, आशा र भाइ अमृत हुनुहुन्छ । रेखाको बाल्यकाल पनि उतारचढाव ढंगबाट बित्यो । सानैदेखि उच्च सोच र तीक्ष्ण बुद्धिकी उहाँ अलि पृथक् शैलीकी हुनुहुन्थ्यो । त्यस्तै तीन वर्षको उमेरमा उहाँलाई ज्ञानेश्वरको तत्कालीन श्री इन्टरनेशनल प्राथमिक विद्यालयमा भर्ना गरियो । त्यतिबेला उहाँका बुबा राष्ट्रिय माध्यमिक विद्यालय इन्द्रायणीमा र आमा डिल्लीबजारस्थित पद्मकन्यामा अध्यापन गर्नुहुन्थ्यो । इन्टरनेशनलमा रेखाले नर्सरी र केजी पढ्नुभयो । त्यसपछि जावलाखेलमा रहेको श्री आदर्श विद्या मन्दिरमा पुग्नुभयो । त्यहाँ पनि कक्षा ६ सम्ममात्रै अध्ययन गर्नुभयो । यसरी विद्यालय परिवर्तन गरिरहनुको कारण के थियो त ? ‘आदर्शमा लामो डायलग कण्ठ गर्नुपर्दथ्यो । त्यो नसके शिक्षकको हातबाट पिटाइ खानुपथ्र्याे । म प्रायः शारीरिक र मानसिक यातनाको शिकार हुन थालें । त्यतिबेला नै म गणितमा फेल भएँ’ रेखा भन्नुहुन्छ– ‘फेल हुनेलाई सानो कक्षामा झार्ने चर्चा चलिरहेको थियो । अनि म विद्यालय गइनँ । केही समयपछि त नसासम्बन्धी रोगका कारण दुई महिनाजति बेडरेस्ट गर्नुप¥यो ।’ दुर्भाग्य, त्यो वर्ष उहाँले अध्ययनलाई अघि बढाउन सक्नुभएन । त्यसपछि भने उहाँ बुबाले नै अध्यापन गर्ने विद्यालय इन्द्रायणी जान थाल्नुभयो । बोर्डिङबाट सरकारी विद्यालयमा आएको भन्दै त्यहाँ उहाँलाई सिधै कक्षा ९ मा भर्ना गरियो । एकतिर पूजाआजा, सरसफाइ, भाइबहिनीको हेरचाह, भान्साको काम आदि । अर्कातिर टाढाको विद्यालय, त्यसमाथि पनि ६ पास भएका विद्यार्थीलाई सिधै कक्षा ९ को पाठ्यक्रम, केही समय रेखाले ठूलै चुनौती व्यहोर्नुपर्यो । र पनि उहाँले हरेस खानुभएन । यस्तैमा वि.सं. २०५२ मा १४ वर्षको उमेरमा उहाँले त्यहीँबाट एसएलसी पास गर्नुभयो ।

अब रेखाको जीवनशैलीमा केही फेरबदल आयो । उच्च शिक्षा अध्ययनका लागि रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना हुने उहाँको सोच–सोख थियो । तर, त्यसमा तुषारापात भयो । ‘शिक्षित रहे पनि हाम्रो परिवार रुढीवादी भएकाले होला– आरआर क्याम्पसमा केटाकेटी छ्यासमिस पढ्छन् भनेर केटीमात्रै हुने डिल्लीबजारको पद्मकन्यामा पठाइयो’ रेखा अतीत स्मरण गर्नुहुन्छ– ‘अनि आईए प्रथम वर्ष पूरा नै नभई मेरो विवाहको चर्चा चल्न थाल्यो । जति नै प्रतिवाद गर्दा पनि केही सिप चलेन । अन्त्यमा मैले अध्ययनलाई निरन्तरता दिन पाउनुपर्छ भन्ने शर्तमा विवाह गर्न बाध्य भएँ ।’ यसरी वि.सं. २०५३ मंसिर १२ गते दक्षिणढोकानिवासी विसु अर्यालसँग उहाँको लगनगाँठो कस्सियो । विवाहपछि दैनिक जीवनमा उहाँले थप सास्ती व्यहोर्नुपर्यो । दक्षिणढोकाको बसाइ डिल्लीबजारको पढाइ, उमेर सानो भए पनि बुहारीले नै सम्पूर्ण घरधन्दा गर्नुपर्ने परम्परा । समस्यामाथि समस्या थपियो । परिणामतः आईए कटेन । त्यही अन्तरालमा सासू–ससुरालाई जाग्यो– नातिको मुख हेर्ने हतारो । तर, वि.सं. २०५५ मा रेखाबाट छोरीको जन्म भयो । त्यसपछि उहाँमा सुरु भयो अझ दुखका दिन । बुहारीबाट छोरा हुने आशमा बसेको घरपरिवारले अब उहाँलाई रकमको अभाव पार्न थाल्यो । रेखालाई चरम आर्थिक संकटले गाँज्यो । विकल्पस्वरूप उहाँ रोजगारीको खोजीमा लाग्नुभयो । त्यतिबेला रेखाको मामाघरका हजुरबुबा जगन्नाथ आचार्य भूमिसुधार तथा व्यवस्थामन्त्री हुनुहुन्थ्यो । उहाँकै प्रयासमा शिक्षा मन्त्रालयबाट मावि दरबन्दीको कोटा ल्याइयो– दक्षिणढोकाको चामुण्डा माविमा । प्राविधिक जटिलता त के भने कोटा आयो माविको, रेखाको शैक्षिक योग्यता थियो प्रावि अध्यापनको । ‘आईएको मेरो परीक्षाफल आउन एक सातामात्रै बाँकी थियो, त्यसअघि नै रोजगारी सुरु गर्ने भनेर लागियो’ रेखा खिन्नता व्यक्त गर्नुहुन्छ–‘पहिले कोटा ल्याउ मिलाउँला भनियो । तर, अफसोच मा.वि.को दरबन्दीमा अर्को शिक्षक पारेर नयाँ पद सिर्जना गरी मलाई प्रा.वि. स्तरमा राखियो, म आईए पास पनि भएँ ।’ यद्यपि उहाँले वि.सं. २०५७ मंसिर २७ गतेबाट चामुण्डामा नै सेवा सुरु गर्नुभयो ।

वि.सं. २०५८ बाट रेखाले अध्ययनलाई पुनः निरन्तरता दिनुभयो र अनेकखाले समस्यासँग जुध्दै २०६३ मा स्नातक पास हुनुभयो । त्यसपछि उता चाबहिलको पशुपति क्याम्पसमा भर्ना भएर वि.सं. २०६४ मा बीएड अध्ययन पूरा गर्नुभयो । त्यसलगत्तै आरआरमा भर्ना हुनुभयो, वि.सं. २०६७ मा एमएड (स्नातकोत्तर तह) पास गर्नुभयो । अनि एक वर्षपछि ‘थेसिस’ सक्नुभयो । उहाँको शैक्षिक योग्यतालाई कदर गर्दै चामुण्डा कलेजले प्राध्यापकको रुपमा राख्यो । र, हाल चामुण्डा छाडी उहाँ जय मल्टिपल क्याम्पसमा अंग्रेजी प्राध्यापकको रुपमा हुनुहुन्छ । ‘बुबाआमाको चाहना मलाई प्रोफेसर बनाउने थियो’ रेखा गर्वका साथ भन्नुहुन्छ– ‘अब त्यो पनि पूरा भएको छ ।’ यो पेशाबाट अवकाश लिएपछि भने आफू समाजसेवा र सक्रिय राजनीतिमा लाग्ने उहाँ बताउनुहुन्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *