निजि शिक्षामा देखिएका चुनौती समाधानका लागि मेरो उम्मेदवारी : कुमार घिमिरे

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४ औं केन्द्रीय महाधिवेशन आगामी फागुन २८ र २९ गते काठमाण्डौंमा हुदैछ । महाधिवेशन नजिकिए सँगै चुनावी माहोल पनि तातिएको छ यसैबीच कुमार घिमिरेले १४ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनै घिमिरे सँग प्याब्सनको महाधिवेशन, नेतृत्व चयन र निजि क्षेत्रको चुनौती सम्बन्धि ग्लोबल खबर डटकमले गरेको कुराकानी को सम्पादित अंश :

प्याब्सनको महाधिवेशनको पुर्व सन्ध्यामा हुनुहुन्छ तयारी कस्तो छ ?
महाधिवेशनको तयारी करिब करिब सकिएको छ स्थानीय तह, जिल्ला अधिवेशन हुँदै प्रदेश सम्मको अधिवेशन सकिएको छ । प्रतिनिधि छनोट टुंगिएको छ । ब्यबस्थापनका तयारी पनि पुरा भएको छ र पहिलोपटक हामी इलेक्ट्रोनिक निर्वाचन प्रणाली मार्फत नेतृत्व चयन गर्ने तयारी पनि गरिरहेका छौ केही बाँकी भएका कुराहरू पनि हुँदै छन् ।

महाधिवेशनमा नेतृत्वको कुरा आउनु स्वभाविक हो कुन पदमा चुनाव लड्दै हुनुहुन्छ ?
पहिलो कुरा महाधिवेशनमा गइसकेपछी संस्थाको निति, नियम र एजेन्डा पहिलो कुरा हो । दोस्रो कुरा तपाईंले भनेजस्तै नेतृत्वको कुरा पनि स्वभाविक हो । नेतृत्वको कुरा गर्दा एउटा समुहमा रहेर संस्थाको हितको लागि काम गर्ने हो । त्यसका लागी सक्षम र सबल संस्थाको हितको लागी काम गर्नसक्ने मान्छे नेतृत्वमा चाहिन्छ भन्ने मेरो मान्यता हो ।र अहिलेको समग्र स्थितिलाई हेर्दा मैले उपमहासचिव मा उम्मेद्बारी दिने निर्णय गरेको छु । अघिल्लो कार्यकालमा नै उपमहासचिव भैसकेकाले उपमहासचिव नै दोहोर्याउनु भन्दा महासचिवमा नै मेरो चाहाना हो तर केहि सिनियर साथीहरूले नै महासचिवमा चासो देखाउनु भएको र उपमहासचिवमा पनि सक्षम खालको ब्यक्तिहरुको उम्मेद्बारी नहुने जस्तो देखिएकाले पुनः एकपटक उपमहासचिव मै रहेर भएपनि संगठनको हित र अधिकारका लागि लागौं भनेर मैले चुनावमा सहभागी हुने निर्णय गरेको छु ।

निजि विद्यालयहरुले नै प्याब्सनको नेतृत्वले राम्रोसँग काम गर्न सकेन भन्ने आरोप लगाइरहेका छन् नि ?
प्याब्सन भनेको दबाब समुह हो प्रजातान्त्रिक देशहरूमा पेशागत संघ संस्था हरुले आफ्नो हकहितका लागी दबाब समुह दर्ता गर्ने चलन छ । प्याब्सन नेपाल सरकार सँग अनुमति लिएर संघ संस्था दर्ता ऎन अन्तर्गत दर्ता भएको एउटा संस्था हो । यसको आफ्नै दायरा र सिमाहरु छन् एकातिर, अर्कोतिर सदस्य साथीहरूले आफुले चाहेको छ सबै समस्याहरू सबै यही समूहले हल गर्दियोस भन्ने चाहानुहुन्छ यथार्थमा यो संभव छैन । अर्को कुरा प्याब्सन आफै आधिकारिक निकाय होइन हामीले हाम्रो हकहितका लागि आधिकारिक निकायलाई दबाब दिने मात्रै हो त्यसकारण प्याब्सनले काम गर्न सकेन भन्ने आरोप सँग म सहमत छैन । तर केही कुराहरूमा हामी आफैको कमजोरी पनि हुनसक्छ त्यसमा साथीहरूले मज्जाले विरोध गर्न पाउनुहुन्छ, गर्नुपर्छ र त्यसलाई नेतृत्वले सुधार गर्नुपर्छ ।

निजि विद्यालय हरुको चुनौती केके छन् ?
पहिलो कुरा त हामी व्यबस्थित हुन सकिरहेका छैनौं ब्यबस्थित हुन नसक्नुको पछाडि पनि धेरै कारणहरु छन् । त्यसमा हामी आफै पनि सच्चिनुपर्ने पनि छ र प्रमुख कुरा त राज्य नै हो राज्यले ब्यबस्थित गर्ने हो । तर राज्यले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण पुर्वाग्रही छ । अहिले निजी क्षेत्रले राम्रो नतिजा दिइरहेको छ र आकर्षण र बिश्वास पैदा गरिरहेको छ त्यसलाई जोगाइराख्नु चुनौती छ । अर्को कुरा राज्यले संघीय शिक्षा निति ल्याउँदा निजि क्षेत्रलाई पनि समेटेर लैजाने गरि ल्यायो भने ठिकै छ तर पुर्वाग्रही तरिकाले निजि क्षेत्रलाई पेलेर जाने गरि शिक्षा निति ल्यायो भने त्यो चुनौती हुन्छ । अर्को महत्वपूर्ण चुनौती भनेको निजि विद्यालयहरुको आम्दानीको स्रोत भनेको अभिभावकहरुले तिर्ने शुल्क नै हो । तर यहाँनेर अप्ठ्यारो के छ भने अभिभावक सँग बढी शुल्क लिँदा सबै अभिभावकहरुले तिर्न सक्ने अवस्था पनि नहुनसक्छ अर्को कुरा शुल्क लिइएन भने शिक्षकलाई समयानुकूलको तलब खुवाउनै पनि मुस्किल पर्छ । अझ पछिल्लो समय सरकारले सामाजिक सुरक्षा निति ल्याएको छ एउटा दृष्टिबाट हेर्दा यो एकदमै राम्रो कुरा हो तर अर्को तर्फ हेर्ने होभने यसकै कारण प्रशासनिक खर्च अझै बढ्छ त्यसो हुँदा स्वभाविक रूपमा अभिभावकहरु बाट लिने शुल्क बढ्न जान्छ त्यसले पनि एउटा चुनौती ल्याउने देखिन्छ ।

अब नयाँ आउने नेतृत्व कसरि अघि बढ्नुपर्छ ?
पहिलो कुरा एउटा कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । हाम्रा सबैखाले विद्यालय हरुलाई समेटेर हाम्रा विद्यालय त्यहाँ काम गर्ने शिक्षक कर्मचारीहरुलाइ कसरी ब्यब्स्थित गरेर राख्न सकिन्छ अभिभावकको बिश्वास कसरी जोगाइराख्न सकिन्छ एउटा योजना बनाएरै अघि बढ्नुपर्छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने काम एकदमै जटिल छ र अहिलेको अवस्थामा त हामीले अहिलेसम्म पाठ्यक्रम पढाइरहेका छौ । अब पाठ्यक्रम होइन विद्यार्थी पढाउन पर्ने हुन्छ त्यसका लागि हाम्रा अहिलेका पाठ्यक्रम,शिक्षा निति, शैक्षिक विधि र मुल्यांकन पद्धति पर्याप्त नहुन सक्छन् त्यसलाई समयानुकूल विकास गर्दै लानुपर्छ । त्यसका लागि बिस्तृत कार्ययोजना बनाएरै अघि बढ्नुपर्छ ।

अन्त्यमा
अन्त्यमा हामी निर्वाचनमा जाँदै छौ म उपमहासचिवमा उम्मेद्बारी दिँदै छु । नेतृत्व चयन गर्नु भनेको आफ्नो भविष्य उहाँहरुको हातमा जिम्मा लगाउने हो । त्यसकारण सचेत हुनुपर्छ । कोही ब्यक्ति प्याब्सनका लागि आवश्यक छ भने आफुले भोट दिएर मात्रै हुँदैन जिताउन पनि लाग्नुपर्छ । र कोहि प्याब्सनका लागि खराब छ भने उसलाई आफ्नो भोट नदिएर मात्रै हुँदैन भोट नदेउ पनि भन्नुपर्छ । अहिले हामी अहिले संक्रमणकालीन अवस्थामा छौ । यस्तो बेला सानो त्रुटिले पनि ठुलो परिणाम निस्किन सक्छ । यो कुरामा सबै साथीहरू सक्षम हुनुहुन्छ । र आफ्नो सक्षमतालाइ विवेकपुर्ण तरिकाले प्रयोग गर्नुस् भन्न चाहान्छु ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *