ओलिसँग टाढिएकै हुन् विष्णु पौडेल ?

काठमाडाैं– गत ३ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाएपछि नेकपामा विष्णु पौडेलको चर्चा चुलिएको थियो। पूर्व एमालेका महासचिव ईश्वर पोखरेललाई ‘जिल’ खुवाउँदै महासचिवमा पौडेल चयन भएका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भावी नेतृत्वका रुपमा पौडेललाई अघि सारेको आकलन गरिएको थियो। ओलीले महासचिवमा पन्छाएका पोखरेल अध्यक्ष ओलीसँगै छन्। आफू अनुकूलको व्यक्ति भन्दै महासचिवको जिम्मेवारीमा ल्याइएका पौडेलले ओलीसँगको सम्बन्ध ‘दूर’ गर्दै गएका छन्। ओलीका ‘विश्वासपात्र अर्थात् उत्तराधिकारी’ पौडेल यतिबेला प्रचण्डनजिक हुन पुगेका छन्।

पछिल्लो समयका केही परिदृश्य हेर्दा पौडेल पूरै प्रचण्डतिर ढल्केको छनक दिएका छन्। सार्वजनिक मञ्चमा प्रचण्डले पनि पौडेलको खुलेर प्रशंसा गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ कमिटीले कात्तिक १९ मा गरेको पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम राखेको थियो। कार्यक्रमका प्रमुख अतिथि थिए, प्रचण्ड। विशिष्ठ अतिथि महासचिव विष्णु पौडेल थिए।

करिब आधा घन्टा बोलेका प्रचण्डले विगतका दुई कम्युनिष्टका आचरण, निषेध, गालीगलोज बेलिविस्तार लगाए। दुई पार्टीका विगतका कमजोरी केलाए। विगतमा दुई पार्टीमा देखिएको दम्भले पार्टी एकीकरण हुन नसकेको दृष्टान्त देखाए। प्रचण्ड बेलाबेला पौडेलको पनि गुणगान गाउँथे। पौडेल भने प्रचण्डतिर हेर्दै मुस्कुराउँथे।

पौडेलतिर हेर्दै प्रचण्डले भने, ‘कामरेड महासचिव र मेरो भाषा विस्तारैविस्तारै मिल्न थालेको छ।’ उनले अझ अघि थपे, ‘हामी हल गोरु जस्तै हुन थालेका छौं। दुवैले एकअर्काको भाषण सुन्दासुन्दै भाषा एउटै हुन थालेको छ।’ पार्टी एकीकरणमा भएको ढिलाइको प्रसंग कोट्याउँदै पौडेलको बोली उधृत गर्दै उनको प्रसंसा गरे प्रचण्डले।

अध्यक्ष प्रचण्ड र पौडेलको ‘हलगोरु यात्रा’ पार्टी एकीकरणपछि विस्तारिदै गएको हो। कार्यक्रममा सँगै उपस्थित हुने र एक अर्काको प्रशंसामा शब्द दुवैले खर्चने गरेका छन्। असोज ११ मा प्रचण्ड भरतपुर पुगे। ‘हल गोरु’ त्यहाँ पनि छुटेनन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत भरतपुर महानगरपालिका मार्फत सञ्चालन हुने आयोजनाहरुको घोषणा गर्ने कार्यक्रम थियो। प्रमुख अतिथि त्यहाँ प्रचण्ड नै थिए। कात्तिक १७ मा प्रदेश ५ को बुटवलमा भएको शुभकामना सन्देश सभामा प्रचण्डको साथ टुटेन। त्यसो त बुटवल पौडेलको निर्वाचन क्षेत्र पनि हो।

पछिल्लो पटक गत मंगलबार कपिलवस्तु महोत्सवका क्रममा दुवै नेता सँगै भए। कपिलवस्तुको बुद्ध रंगशालामा प्रचण्डले महासचिव पौडेललेको अभिव्यक्तिको तारिफ गरे।

पौडेलको अभिव्यक्तिको स्मरण गर्दै प्रचण्डले भने, ‘महासचिवजीलाई धन्यवाद। म वृहत लुम्बिनी विकास परियोजनाको अध्यक्ष हुँदाको गुरुयोजना तपाईंले पनि सोचिरहनुभएको रहेछ।’

प्रचण्ड बोल्नुअघि महासचिव पौडेलले कपिलवस्तु, रुपन्देही र नवलपरासीको सांस्कृतिक र ऐतिहासिक महत्व समान रहेको बताएका थिए। उनले वृहत्तर लुम्बिनीको विकासमा जोड दिएका थिए। पौडेलको त्यसै बोलीलाई साथ लिंदै प्रचण्डले सोच मिलेका बताएका थिए।

नेकपाका एक केन्द्रीय सदस्यले महासचिव पौडेल प्रचण्डनजिक भएकोमा कुनै शंका नभएको बताए। ‘आफूलाई फाइदा हुँदा उहाँ जोसँग पनि नजिक हुने व्यक्ति हो। सरेको देखिएको छ।’ उनले भने, ‘राजनीतिक, आर्थिक, सामाजिक फाइदा हुने भए उहाँ सर्नुहुन्छ।’

पूर्व एमालेको नवौं महाधिवेशनमा ओलीलाई पूर्ण रुपमा सहयोग गरेका पौडेल उपमहासचिवमा निर्वाचित भए। दुई पार्टीको एकता प्रक्रियामा आएका उल्झन हटाउनका लागि पौडेल ‘एक सारथि’ थिए।

महासचिव प्रचण्डतिर ढल्किएसँगै नेकपाको सचिवालय र स्थायी समितिमा उनी थप बलियो बनेका छन्। सचिवालयमा प्रचण्डलाई प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र वामदेव गौतमले साथ दिंदै आएका थिए।

९ सदस्यीय सचिवालयमा महासचिव पौडेल पनि प्रचण्डसँग जोडिएपछि उनको पक्षमा स्पष्ट बहुमत देखिएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई ईश्वर पोखरेलको साथ छ। सचिवालयमा रहेका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई अन्य नेताको साथ देखिंदैन।

४५ सदस्यीय स्थायी समितिमा प्रचण्डसहित उनको समूहमा २१ जना रहेका छन्। सचिवालयका चार नेताको साथ पाएका प्रचण्डले स्थायी समितिमा थप १६ जनाको बल छ।

स्थायी समितिमा उनीसँग रहेका अन्य नेताहरुमा गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गणेश शाह, अग्नि सापकोटा, लिलामणि पोखरेल, लेखराज भट्ट, चक्रपाणि खनाल, मातृका यादव छन्। साथै, शक्ति बस्नेत, मणि थापा, टोपबहादुर रायमाझी, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल पनि प्रचण्डसँगै छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *