सामाजिक मुद्दामा कति सचेत छन् नेपाली साहित्यकार

१२ कात्तिक काठमाडाै‌ं– शृंखलाबद्ध रूपमा देशमा विभिन्न अपराधका घटना बढिरहेका छन् । पछिल्लो समय निर्मला पन्तको बलात्कारपछिको हत्यालगायतका विभिन्न घटना र त्यसमा राजनीतिक संरक्षणका कारण यी घटनाले हरेक मान्छेको ध्यान खिचेको छ । यसरी भइरहेका घटनाप्रति नेपाली साहित्यकार किन सचेत छैनन् त ? भन्ने गम्भीर प्रश्न उठिरहेको छ ।

साहित्यले समाजको प्रतिविम्ब झल्काउँछ भनेर तिनै साहित्यकारले हरेकजसो कार्यक्रममा भन्न छुटाएका हुँदैनन् । उनीहरू आफ्नो पुस्तकमा सामाजिक मुद्दालाई केन्द्रमा राखिएको भन्दै पाठक आकर्षित गरिरहेका हुन्छन् ।

तर, यथार्थमा एकाधबाहेकलाई हेर्ने हो भने  साहित्यकारहरूले सामाजिक मुद्दामा खासै चासो राखेको भने देखिँदैन । सामाजिक घटनालाई मसला बनाएर लेख्ने तिनै साहित्यकारहरू ती घटनाप्रति टिप्पणी गर्नबाट पछि हटिरहेको आरोप लाग्दै आएको छ । समग्रमा भन्नुपर्दा उनीहरू यस्ता घटनाप्रति उदासीन रहेको पाइन्छ ।

सेतो धरती उपन्यासबाट मदन पुरस्कार प्राप्त गरेका आख्यानकार अमर न्यौपानेको विगत तीन महिनायताकोे सामाजिक सञ्जाल हेर्ने हो भने उनले कुनै पनि रूपमा सामाजिक विषयवस्तुमाथि बोलेको भटिँदैन । अन्य लेखकका पुस्तक विमोचनमा दिएका शुभकामना र आफ्ना व्यक्तिगत कुराबाहेक कुनै सामाजिक मुद्दामामिलामा बोलेका देखिँदैनन्, अमर ।

गत वर्षको पद्मश्री पुरस्कार पाएका युवाकवि नवराज पराजुलीले सामाजिक सञ्जालमा केही मात्रामा सामाजिक विषयवस्तु उठाएको भेटिन्छ । निजगढ विमानस्थलका विषयमा उनले कविता वाचन गरे भने त्यसै विषयमा निबन्ध नै लेखेर फेसबुकमा राखेका पनि छन् । निर्मलाको निम्ति न्याय माग्दै कवि पराजुलीले एउटा कविता पनि राखेका छन् ।

यसैवर्षको पद्मश्रीबाट पुरस्कृत लेखक नयनराज पाण्डे केही महिनाअघि निर्मलाको निम्ति न्याय माग्दै केही स्ट्याटस राखेका थिए । उनले त्यसमा लेखेका थिए, ‘जब बलात्कार ‘पुरुषार्थ’, भ्रष्टाचार ‘धर्म’ र असहिष्णुता ‘दर्शन’ बन्छ, समाज पैसाले समृद्ध भए पनि चिन्तनले सधैँ दरिद्र नै रहन्छ ।’ भदौ ९ गते माइतीघरमा भएको निर्मलाको निम्ति न्याय अभियानमा पनि उनी सरिक भएका थिए ।

महिला लेखककै कुरा गर्ने हो भने यस वर्षकी मदन पुरस्कार विजेता निलम कार्की ‘निहारिका’ पनि अहिले भइरहेका घटनामाथि उदासीन देखिन्छिन् । उनको सामाजिक सञ्जालमा व्यक्तिगत विषयबाहेक केही देखिँदैन । ‘योगमाया’जस्तो शक्तिशाली पुस्तकबाट मदन पुरस्कार पाएकी लेखकले देशमा अहिले भइरहेका घटनामाथि आफ्नो केही विचार प्रस्तुत नगरी तठस्थ रहनुले उनीमाथि पाठकले प्रश्न उठाएका छन् ।

कवि सीमा आभास भने अहिले भइरहेका घटनाप्रति पूर्ण रूपमा सचेत देखिन्छिन् । उनको सामाजिक सञ्जाल हेर्दा त्यहाँ सरकारलाई व्यंग्य गर्दै लेखिएका थुप्रै स्ट्याटस भेट्न सकिन्छ । केही समयअघि प्रधानमन्त्री ओलीले बोलेपछि चर्चित भएको अरिंगाल प्रसंगबारे उनले व्यंग्य गर्दै लेखेकी छिन्, ‘झन्डै १० वर्षअगाडि हाम्री आमालाई चारवटा अरिंगालले चिलेका थिए । अर्को दिन हामीले अरिंगालको गोलोमा आगो लगाइदिम् । त्यस दिनदेखि हाम्री आमालाई अरिंगालले टोकेको छैन ।’

देशमा भएका सामाजिक घटनामा उनले निकै चर्को टिप्पणी गर्ने गरेको देखिन्छ । हरेक दिनजसो उनी  सामाजिक सञ्जालमार्फत सामाजिक विषयमा बोलिरहेकी हुन्छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘जनताको लागि न्यायालय, सुरक्षानिकाय, सरकार केही पनि छैन यो देशमा । यतिवेला यो देशका जनता अभिभावकविहीन छन् ।’

युवा आख्यानकारमध्ये चर्चित बुद्धिसागर लेख्छन्, ‘बर्खास्त भए, आउने मौसममा तक्मा पाउँछन् । भन्थ्यो, भन्नुहोला । निर्मलाको मुद्दा त्यतिकै हराउनेवाला छ ।’ सामाजिक सञ्जालमा दैनिकजसो अपडेट भइरहने उनी व्यक्तिगत मात्र नभएर सामाजिक कुरा पनि उत्तिकै सचेत देखिन्छन् । अर्का युवा आख्यानकार सुविन भट्टराई भने यस्ता विषयमा मौन रहेको देख्न सकिन्छ ।

साहित्य लेखनमा भर्खर संघर्ष गरिरहेकालाई छाडेर नेपाली साहित्यजगत्मा स्थापित अधिकांश नेपाली साहित्यकार देशमा भइरहेका घटनाप्रति मौन छन् भन्दा फरक पर्दैन । झन्, केहीबाहेक अधिकांश साहित्यकार यस्ता विषयमा पूर्ण मौन देखिन्छन् ।

मुलुकका बौद्धिक सम्पत्ति भनेर चिनिने साहित्यकारहरू सामाजिक विषयमा चुपचाप बस्नुले उनीहरू सामाजिक मुद्दामा सचेत छैनन् भनेर लाग्ने गरेको आरोप पुष्टि हुन्छ । अझ कतिपय लेखक साहित्यकारमाथि त राजनीतिको छायामा परेको र विभिन्न नियुक्ति र पुरस्कारको लोभमा यस्ता विषयप्रति मौन रहेको आरोप लाग्ने गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *