आलो घाउमा नुनचुक होइन मल्हम बनोस् दशै

-समीर गिरि

नेपाल बहुजातिय, बहुसाँस्कृतिक र बहुधार्मिक राष्ट्र हो । यहाँ विभिन्न भाषा, धर्म र सम्प्रदायका मानिसहरु बस्दछन् । तिनीहरु सबैको आ–आफ्नै रितिरिवाज र चाडपर्व छन् । यी विभिन्न चाडपर्वमध्ये हिन्दुहरुको महान चाड विजयादशमी पनि एक हो । यसकै छुट्टै महत्व रहेको पाइन्छ । नेपालमा अन्य धर्मालम्वीको तुलनामा हिन्दु धर्मालम्वीहरुको संख्या बढी रहेको र प्रायजसो नेपालीहरुले दशैँ मनाउने भएकाले पनि अन्य चार्डपर्वको तुलनामा दशैको चर्चा–परिचर्चा बढी हुनु स्वभाभिक हो । चाडपर्व हाम्रो साँस्कृतिक परिचयको आधारस्तम्भ पनि हो ।

दशै नजिकिन्छ, जब खेतमा लहलह झुलेको धानको बाल र बारिमा फुलेका कोदोका फुलहरुसँगै भर्खर कोपिलाबाट फक्रदै गरेका मखमली र सयपत्रीले जब गाउँघर ढकमक्क हुन्छन्, तब मनमा आन्नदको सञ्चार भएको अनुभुति हुन्छ । यद्यपि पछिल्लो समय दशैँ तिहारजस्ता ठूला चार्डपर्वले विभिन्न विकृतिसँगै हुनेखाने र हुदाँखानेहरुको खाडल अझै बढाउने काम गरेका छन् । हुनेखानेहरुका लागि दशैँ खाने रमाउने र मनोरञ्जन गर्ने माध्यम बनिरहेको छ भने हुदाँखानेहरुका लागि नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाउको अनुहार भनेझैँ भएको छ ।

विगतका वर्षहरुमा झैँ यसपालि पनि हिन्दुहरुको महान चाड विजयादशमी सबैको घरदैलोमा आइपुगेको छ । दशै नजिकिँदै गर्दा शहर बजारमा चहल पहल बढ्दो छ । बजारमा मौसमी अखबारहरु थपिन थालेका छन् । बम्पर उपहारका विज्ञापन, विभिन्न पत्रपत्रिकाको पहिलो पृष्ठमा ठूला र आकर्षक अक्षरमा विज्ञापन छापिन थालेका छन् । डिपार्टमेन्टल स्टोर र फेन्सी पसलहरुको अगाडी विशेष छुट लेखिएका व्यानर भरिभराउ छन् । मदिराजन्य पदार्थको विज्ञापनबाट मुक्त पत्रपत्रिका कमै भेटिन्छन् । महँगीले आकाश छोइसकेको छ । चाडपर्वको मौका छोपेर कालाबजारी सलबलाई रहेका छन् । उनिहरु दिन दुईगुना, रात चौगुना कमाउने धन्दामा लागेका छन् ।

“दशैँमा काठमाण्डौ कक्टेल पार्टीमा रमाइरहँदा कर्णालीका बालबालिकाहरु भोकै बस्न नपरोस् । शहरमा हर्षोल्लास छाउँदा भुकम्प पिडितको टहरामा उदासिनता र निराशा नछाओस् । शहर झिलीमिलि हुँर्दा गाउँ अन्धकारमा नरुमल्लियोस् ।”

देशका हुनेखानेहरु चाडपर्वको बहानामा, गेटिङ टुगेदरको नाममा तारे होटेलमा ह्विस्की, बियर र वाइनका सिसि तोडिरहेका छन् । रेष्टुरेन्टदेखि भट्टीपसल, क्याफेदेखि किराना पसल जताततै सबै-सबैतिर मदिराजन्य पदार्थकै व्यापार बढी छ । ठाउँठाउँमा जुवा र तासका खाल जम्न थालेका छन् । एक अर्काको देखासिखी गर्दै तँ भन्दा म के कमको रुपमा फजुल खर्च गरिरहेका छन् । उनीहरु दशैँलाई संस्कृतिको रुपमा भन्दा पनि मनोरञ्जनको माध्यमका रुपमा मनाइरहेका छन् । दशैँको मौलिकता हराउँदै गइरहेको छ । एउटै देशका नागरिक कोही ह्विस्की, बियर र जुवातासमा रमाइरहेका छन् भने त्यही देशका नागरिक बिना कुनै उत्साह छातिभरि अनिश्चयताको भारी बोकेर गह्रौँ मन बनाएर बस्न बाध्य छन् । काठमाण्डौका नागरिकका लागि सुपथ मुल्य पसल सञ्चालन भइरहँदा कर्णालीका नागरिक अक्षताका लागि ३ दिनसम्म चामलको लाइनमा बस्नुपरेको तितो यर्थाथ हामीसामु छ । शहर बजारमा चाडपर्वको रौनक छाइरहँदा भुकम्प पिडितको टहरा सुनसान छन् । काठमाण्डौ दशैँको खुसीयालीमा रम्दै गर्दा भुकम्प पिडितको छाप्रोमा निराशा र उदासिनता मात्रै छ । काठमाण्डौका पुँजीपति वर्ग कक्टेल पार्टीमा रमिरहँदा कर्णालीका जनता प्यास भेटाउने पानी पाइरहेका छैनन् । काठमाण्डौको चोकचोक र गल्लीगल्लीमा चाडपर्वको व्यानर र तुलका लागि हजारौ मिटर कपडा खर्च गरिरहँदा भुकम्प पिडितको शरीरमा एक सरो न्यानो कपडा छैन ।

काठमाण्डौका नागरिकका लागि दशै केन्द्रित सुपथ मुल्य पसल सञ्चालन भइरहँदा कर्णालीका नागरिक अक्षताका लागि ३ दिनसम्म चामलको लाइनमा बस्नुपर्ने तितो यथार्थलाई यो दशैले मेट्न सकोस् 

यो दशै जो गरिबीका झुपडीहरुमा कहिल्यै आउँदैन वर्षदिनमा आउने दशैमा नयाँ नाना लगाउन पाउने आशामा बसेका बालबालिकाको मन पोहोरजस्तै फेरी अँध्यारो हुने निश्चित छ । आफ्ना बालबालिकाको निन्याउरो अनुहार देखेर तिनका अभिभावकको मन साइटिक एसिडजस्तै अमिलो हुनेछ ।

एउटै समाजमा कोहीले दशैका लागि घोर्ले खसी डोर्‍याएर हिडिरहँदा कोही बिहान बेलुकाको छाक टार्नको लागि एउटा फर्सिको जोहो गर्न सकिरहेका छैनन् । पल्लो घरको रामेका छोराछोरी नयाँनयाँ कपडा लगाएर हिँड्दा श्यामेका छोराछोरीले च्यातिएको लुगा हेर्दै आँशुका ढिका खसाल्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा आउने चाडपर्वले सिमित व्यक्तिको लागि खुसी र उमङ्ग ल्याए तापनि बहुसङ्ख्यकको आँखामा आँसु र मनमा चोटबाहेक अरु केही दिन सक्दैन ।

दशैँ तिहारजस्ता चाडपर्व हाम्रो साँस्कृतिक सम्पत्ति हुन् । यी धार्मिक महत्वका चाडलाई हामीले केवल खाने लगाउने र रमाईलो गर्ने रुपमा मात्रै लिनु हुँदैन। हाम्रा चाडपर्वलाई आर्थिक रुपमा मात्रै हेरेर विकृति र विसङगति फैलन दिनु हुँदैन । कसले कत्रो खसी ढाल्यो ? कसले कस्तो लुगा किन्यो ? कसले कति दक्षिणा दियो ? भनेर अरुको देखासिकी गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । दशैँको महत्व दक्षिणामा होइन, आशीर्वादमा हुन्छ । खसीको तौलमा होइन, देवीको पूजामा हुन्छ । नयाँ लुगामा होइन, चोखो लुगामा हुन्छ भनेर नयाँ पुस्तालाई यसको महत्व बुझाउनु जरुरी छ । आयो दशै ढोल बजाई, गयो दशै ऋण बोकाई भन्ने कथनको अन्त्य गर्दै दशैँलाई सभ्य र संस्कृतिको जगेर्ना गर्ने हिसाबले आफ्नो अनुकुलतामा मनाउने प्रवृति निर्माण गर्नुपर्छ ।

दशैको महत्व दक्षिणामा होइन, आशीर्वादमा हुन्छ । खसीको तौलमा होइन, देवीको पूजामा हुन्छ । नयाँ लुगामा होइन, चोखो लुगामा हुन्छ भनेर नयाँ पुस्तालाई यसको महत्व बुझाउनु जरुरी छ

अन्तमा, यसपालिको दशैँमा काठमाण्डौ कक्टेल पार्टीमा रमाइरहँदा कर्णालीका बालबालिकाहरु भोकै बस्न नपरोस् । शहरमा हर्षोल्लास छाउँदा भुकम्प पिडितको टहरामा उदासिनता र निराशा नछाओस् । शहर झिलीमिलि हुँर्दा गाउँ अन्धकारमा नरुमल्लियोस् । काठमाण्डौमा ह्विस्की र बियरको खोलो बग्दा कर्णालीका जनता एकछाक भुटुन हाल्ने तेलको लागि भौँतारिन नपरोस् । हुँदा खानेहरुले हुने खानेहरुका तडकभडक देखेर मन अमिलो बनाउनु नपरोस् । हुँदा खानेहरुको लागि खुसी र उमङ्ग छर्न नसकेपनि पिडा र उदासीनता नछाओस् । शहरका चोकचोकमा हजारौँ मिटर कपडा टाँगिरहँदा ग्रामीण भेगमा बालबालिकाहरु नाङ्गै नहुन् । तल्लो घरको श्यामेको बच्चाले माथिल्लो घरको रामेका बच्चाको नयाँ कपडा देखेर आँसु खसाउन नपरोस् । र हुनेखाने हरुको लागि उल्लास र गेटिङ टुगेदर मात्रै होइन गरिब र हुँदाखानेहरुको लागी पनि यो दशै आलो घाउको नुनचुक होईन पिडा कम गर्ने मल्हम बन्न सकोस् । सम्पूर्ण नेपालीहरुमा विजयादशमीको पावन अवसरमा सुख, शान्ति , समृद्धि, सुस्वास्थ्य तथा सामाजिक सद्भाव र राष्ट्रिय एकताको शुभकामना !

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *