पार्टीको निर्देशनमा नयाँ नक्सा ल्याइएको हो कसैलाई राष्ट्रवादी र राष्ट्रघाती बनाउनु जरुरी छैन : प्रचण्ड

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी नरहेको बताएका छन्। आइतबार नेकपा चितवनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

पार्टीभित्र राष्ट्रवादी र राष्ट्रघातीको चर्चा र बहस भइरहेकाबेला चितवन पुगेर यस्तो बताएका हुन्। ‘यो पार्टीलाई एकताबद्ध राख्नु छ,’ प्रचण्डले भने, ‘यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन। हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेका हौँ। हामी सबै मिलेरै नक्सा बनाएको हो।’

प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा नक्सा सार्वजनिक हुँदा प्रधानमन्त्रीको हैसियतले केपी ओलीले वैधानिकता दिएको भन्दै धन्यवाद दिएको सम्झनासमेत गरे। पार्टी भित्रको विवादलाई लिएर राष्ट्रवादको विषय उठेको भन्दै राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा नभएको उनले प्रष्ट पारे।

‘स्थायी कमिटी बैठकमा मैले बोल्दा वा सबैले सरकार, कमरेड केपी ओलीलाई धन्यवाद दिएका छौँ’, प्रचण्डले थपे, ‘नक्सालाई तपाईं प्रधानमन्त्रीको हैसियतले वैधानिकता र औपचारिकता दिनुभयो। के राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा हो ?’ मिलेर नै पार्टी बनाएको भन्दै प्रचण्डले सीमा समस्याको विषयमा पार्टी बैठकमा सबैले धन्यवाद दिएको प्रष्ट पारेका हुन्। उनले राष्ट्रवाद मुर्दावाद र जिन्दावादको कुरा नभएको प्रष्ट पारे।

शनिबार चितवन आएका प्रचण्डले माडीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले देश वा पार्टीलाई दुर्घटनाबाट जोगाउन आफूले अन्तिम समयसम्म पहल गर्ने बताएका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *