आगामी महाधिवेशनबाट नयाँ विचार निर्माण हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा अध्यक्ष प्रचण्डले पार्टीको तत्कालको कार्यक्रम जनताको जनवाद र दीर्घकालिन रणनीति समाजवाद रहेको भन्दै पुराना बिचार दोहोर्‍याउन आवश्यक नरहेको बताएका छन् ।

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृतिसभालाई मदननगर बल्खुमा सम्बोधन गर्दै प्रचण्डले महाधिवेशनबाट नयाँ विचार निर्माण हुने बताए ।

ईश्वर पोखरेललगायतका नेकपा नेताहरुले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्ने भनेर सार्वजनिक रुपमा बहस चलाइरहेका बेला प्रचण्डले पुराना कुरा दोहोर्‍याएर अहिलेको आवश्यकता पूरा नहुने बताए । उनले तत्कालीन एमालेको जबज र माओवादीको एक्काइशौं शताब्दीको जनवादलाई नयाँ ढंगले संश्लेषण गरेकै कारण पार्टी एकता सम्भव भएको बताए ।

प्रचण्डले भने, ‘आज हामी कमरेड मदन भण्डारीलाई सम्मान गर्न उपस्थित भएका छौं । हामीले कमरेड मदनले जे–जे भन्नुभयो त्यही दोहोर्‍याउने हो कि, उहाँले विकास गरेका विचारमा टेकेर अझ अगाडि जाने ? मदनको विचारलाई अझ परिमार्जन र विकसित गर्ने हो । पुराना कुरा दोहोर्‍याएरमात्र बसिरहनु भएन ।’

अध्यक्ष प्रचण्डले मदन भण्डारीले जस्तै परिस्थितिको विश्लेषण सही ढंगले गरेर नयाँ बिचार प्रयोग गरेकै कारण पार्टी एकता सम्भव भएको बताए । ‘विचारलाई जड मानेर मदन भण्डारी बस्नुभएन, अहिलेको हाम्रो नेतृत्वले पनि मदनकै अनुशरण गरेकाले मात्र एकता सम्भव भएको हो’, उनले भने ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *