मार्चदेखि जापानी भाषा परीक्षण हुने , यस्तो छ प्रक्रिया

काठमाडौं –जापानले विदेशी कामदारलाइ   एन–४ तहको भाषा आवश्यक पर्ने बताएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन् ।

केयर गिभरको काममा जानेको हकमा भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

‘केयर गिभरबाहेक अन्य काममा जानेको हकमा एन–४ तहको भाषा उत्तीर्ण गरे पुग्छ,’ ती अधिकारीले भने, ‘केयर गिभरको काममा जानेको जापानी भाषामा विशिष्ट खाले दक्षता चाहिने देखिएको छ।’ केयर गिभरको काममा जाने वृद्धवृद्धासँग नजिकमा रहेर स्याहारसुसार गर्नुपर्ने भएकाले भाषामा बढी दक्ष हुनुपर्ने जापानी अधिकारीहरूले बताउने गरेका छन् ।

दुई महिनाअघि जापानको मन्त्रिपरिषद्ले नेपालीसहित विदेशी कामदार लैजाने निर्णय गरेपछि नेपाल उत्साहित छ।  आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने भनिए पनि मन्त्रालय मार्चदेखि नै भाषा परीक्षणको प्रक्रिया थाल्ने तयारीमा छ । ‘सुरुमा दुई देशबीच श्रम समझदारी (एमओयू) गरेर कामदार पठाउने सोचमा मन्त्रालय थियो,’ ती अधिकारीले भने, ‘एमओयू गर्न केही ढिला होला जस्तो देखिएकाले मार्चमै भाषा परीक्षण गर्ने तयारीमा छौं।’

जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ क्षेत्र तोकेको छ। पहिलो पाँच वर्षमा यी मुलुकहरूबाट तीन लाख ४५ हजार एक सय ५० कामदार जापान जानेछन्। त्यो संख्यामध्ये नेपाललाई कति कोटा दिइन्छ भन्ने अझै यकिन भइसकेको छैन।

मन्त्रालयका अधिकारीहरू पहिलो चरणमा न्यून संख्याका युवा रोजगारीका लागि जापान जान पाउने बताउँछन्। ‘कति संख्यामा जापान जान पाउने भन्ने त यकिन भएको छैन,’ उनले भने, ‘तर, पहिलो चरणमा निकै थोरै मात्र जापान जान पाउने सम्भावना छ।’

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *