झन्झन् अनिश्चित बन्दै मेलम्ची खानेपानी

काठमाडौं – बर्खा लाग्न केही महिना बाँकी रहँदा पनि मेलम्ची आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।  आयोजनामा काम गरिरहेको इटालीको सीएमसी कम्पनीले आयोजनाको काम छोडेपछि बाँकी काम अलपत्र छ । सीएमसीले सुरुङमा पानी हाल्ने काम अन्तिम अवस्थामा पुर्‍याएर काम छोडेको छ ।

“अब बर्खा लाग्नुअघि नै मेलम्ची नदीको पानी सुरुङमा पठाउन नसके यसका लागि केहीसमयसम्म कुर्नुपर्ने हुन्छ,” मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बाह्रखरीसँग भने, “बर्खा लागेपछि नदीमा बाढी आउने हुँदा पानीको बेग एकनाशको हुँदैन । त्यसैले नदीको पानी सुरुङमा पथान्तरण (पानी खसाल्ने) गर्न प्राविधिक रुपमा पनि समस्या हुने देखिन्छ ।”

निर्माण कम्पनी छनोटका लागि छोटो प्रक्रिया अपनाउने बताए पनि खानेपानी मन्त्रालय र समितिबाट यसको आवश्यक तयारी भएको छैन ।  मन्त्रिपरिषद् निर्णयले मात्र सार्वजनिक खरिद ऐनको मापदण्डलाई आवश्यक परिमार्जन गर्न सक्ने हुँदा मन्त्रालय र समिति हाल मन्त्रिपरिषद् निर्णय कुरेर बसेका छन् ।

“मन्त्रिपरिषद् निर्णय आएपछि मात्र मेलम्ची आयोजनामा नयाँ निर्माण कम्पनी छनोट गरिने छ,” प्रवक्ता पन्तले भने । पुस २ गतेबाट मेलम्ची खानेपानी आयोजना निर्माणको काम ठप्प छ । सो मितिबाट हालसम्म आयोजनाको काम सुचारु हुन सकेको छैन ।

निर्माण कम्पनी इटालीको सीएमसी आयोजना निर्माणबाट ‘भागेपछि’ आयोजना निर्माणको काम ठप्प भएको हो ।  खानेपानी मन्त्रालयबाट क्षतिपूर्तिवापत पाउनुपर्ने ३६ करोड रुपैयाँ पाउन नसकेपछि मन्त्रालयलाई ‘कन्फर्मेसन लेटर’ पठाएर सीएमसी कम्पनीले आयोजना निर्माणबाट हात झिकेको हो ।

पछिल्लो समय मन्त्रालय टोलीले आयोजनाको कामलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरिरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए । सार्वजनिक खरिद ऐनअनुसार आयोजनामा नयाँ निर्माण कम्पनी भर्ना गर्न १ सय २० दिन समय लाग्ने छ ।

“खरिद प्रक्रिया छोट्याएर आयोजनामा कसरी छोटो प्रक्रियाबाट निर्माण कम्पनी छनोट गर्ने भन्नेमा हामी छलफलको क्रममा छौं,” प्रवक्ता पन्तले बाह्रखरीसँग भने । प्रक्रिया छोट्याएर ठेकेदार कम्पनी आएको खण्डमा आयोजनाको बाँकी काम ३ देखि ६ मअिनाभित्र सम्पन्न हुने प्रवक्ता पन्तले बताए ।

एशियाली विकास बैंकको ऋण सहयोगमा आयोजनाको काम भएकोमा ठेकेदार छनोट प्रक्रियामा बैंकको गाइडलाइन पालना गर्नुपर्ने हुन्छ ।  १ अर्बभन्दा बढी रकमको काम बाँकी रहेकाले आयोजनामा निर्माण कम्पनी छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र खोल्नुपर्ने बाध्यता छ ।

मन्त्रिपरिषद् निर्णय आएपछि एशियाली विकास बैंकको सहमतिमा नेपाली निर्माण कम्पनीले नै आयोजनामा काम पाउने सम्भावना रहेको छ ।  यसका लागि आयोजनाको विभिन्न प्याकेज बनाएर निर्माण कम्पनी छनोट गरिने प्रवक्ता पन्तले बताए ।

मेलम्ची खानेपानी आयोजनामा खानेपानी मन्त्रालयले आवश्यक चासो नदेखाएको भन्दै गत साताको संसदीय विकास तथा प्रविधि समिति बैठकमा सांसदहरुले मन्त्रालयको आलोचना गरेका छन् । मेलम्चीको पानी काठमाडौं आइपुग्ने मिति मन्त्रालयले बारम्बार तोक्ने तर पानी नआएको भन्दै मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीमाथि नै उनीहरुले प्रश्न उठाएका हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *