मुठभेडतर्फ संसद : सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै दाउ

काठमाडौं – चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा आज मुठभेडको संकेत देखिएको छ । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने उल्लेख छ ।

तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले त्यसभन्दा पहिले आफ्ना दुईजना नेताका नाममा रहेका अस्पताल मन्त्रिपरिषदले निर्णय गरेर संघीय सरकार मातहत ल्याउनुपर्ने र चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले भनेजस्तै संशोधन गरेर पारित गर्नुपर्ने अडान राख्दै संसद लगातार अवरोध गरिरहेको छ ।

बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले  बैठकमा झडपको अवस्था आउन सक्ने भन्दै मर्यादापालक थप गरेको छ भने चिकित्सा शिक्षा विधेयक पारित गर्ने अधिकतम प्रयास रहने बताएको छ ।
सभामुख कृष्णबहादुर महराले शुक्रबार पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रयास हुने बताए ।

उता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि अधिनायवादी भने पनि भनुन् तर चिकित्सा शिक्षा विधेयक पारित गराएरै छाड्ने बताएका छन् ।

उता नेपाली कांग्रेसको केन्द्रीय समितिले औपचारिक रुपमा नै चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको माग पूरा गर्न आग्रह गरेको छ ।  “फेरि पनि संवाद र सहमतिभन्दा अर्को विकल्प छैन । डा. केसीसँग गत साउनमा सरकारले गरेको सम्झौतालाई संसद्मा पेस गरी सर्वसम्मतीले अनुमोदन गरेको स्मरण गराउँदै सो अनुरुपको विधेयक निर्माण गरी समाधानमा पुग्न सरकारसँग जोडदार माग गर्दछ,” कांग्रेस केन्द्रीय समितिको निर्णयमा भनिएको छ ।

नेपाली कांग्रेसका नेता गगन थापाले पनि सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए संसद बैठकमा मुठभेड हुन सक्ने संकेत गरेका छन् । उनले बिहीबार काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा सभामुखको संसद्भित्रको भूमिका आफूहरुलाई चित्त नबुझेको बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *