बलिउडको सबैभन्दा महँगो फिल्म २.० आजबाट एकैसाथ १४ भाषामा रिलिज हुँदै

बलिउडको सबैभन्दा महँगो फिल्म २.० आज (बिहीबार) रिलिज हुँदै छ । यसअघि पटक–पटक मिति तय गरेर पनि रिलिज हुन नसकेको फिल्म आज एक साथ १४ भाषामा रिलिज हुनेछ । फिल्मको मुख्य भाषा भने तमिल हो । अन्य भाषामा डबिङका लागि मात्रै तीन महिनाभन्दा बढी समय लागेको थियो । अझै १० भाषामा डबिङ हुने जनाइएको छ ।

फिल्ममा रजनीकान्त र अक्षयकुमार मुख्य भूमिकामा छन् । अक्षयकुमारको यो पहिलो तमिल फिल्म हो । यसमा उनले खलनायकको भूमिका निभाएका छन् । फिल्मको संगीत एआर रहमानले गरेका छन् भने निर्देशन एस शंकरले गरेका छन् । यसको रिलिज डेट पटक–पटक सरेका कारण पनि यसको लागत बढेको अनुमान गरिएको छ ।

लगानी साढे ५ अर्ब, उठिसक्यो ३७० करोड
२.० लाई भारतको अहिलेसम्मको सबैभन्दा महँगो फिल्म हो । यो फिल्म बनाउन पाँच सय ४३ करोड भारु खर्च भएको जनाइएको छ । यसको भिजुअल इफेक्ट निर्माणमा मात्रै सय करोडभन्दा बढी लगानी भएको छ । यसको एउटा गीत युक्रेनमा सुटिङ गर्ने भनिएको थियो । तर, रजनीकान्त अस्वस्थ भएपछि पूरै भिजुअल इफेक्ट भारतमै बनाएर सुटिङ भएको थियो । जसका कारण पनि लगानी बढेको हो ।त्यसो त फिल्मले रिलिजअघि नै तीन सय ७० करोड भारु उठाइसकेको छ । स्याटेलाइट बिक्री अधिकारबाटै एक सय २० करोड कमाएको छ भने तीन भाषाका लागि दिएको डिजिटल राइट्सबाट थप ६० करोड र अन्य व्यापारिक सहकार्यबाट ८० करोड भारु कमाएको छ ।

इन्थिरान अर्थात् रोबर्टको सिक्वेल
यो फिल्म सन् २०१० मा रजनीकान्तले बनाएको साइन्स फिक्सन ‘इन्थिरान’को सिक्वेल हो । तमिल भाषामा रोबर्टलाई इन्थिरान भनिन्छ । निर्माताहरूले सुरुमा फिल्मको नाम नै ‘रोर्बट–२’ राख्ने योजना बनाएका थिए । तर, कानुनी विवादका कारण यसको नाम २.० राख्नुपरेको हो ।

निर्माताको रोजाइमा थिएनन् अक्षयकुमार र रजनीकान्त
फिल्मको निर्माता सुवासकरण अलिराजा राजु महालिंगम हुन् । पहिला निर्माण टिमको रोजाइमा अक्षयकुमार र रजनीकान्त दुवै थिएनन् । हलिउड अभिनेता अर्नाल्ड र बलिउडकै कमल हसन र नील नितिन मुकेशलाई अक्षयकुमारको ठाउँमा प्रस्ताव गरिएको थियो । अर्नाल्डले त सहमतिसमेत गरिसकेका थिए । तर, उनले ३० दिन फिल्म खेलेबापत प्रत्येक दिनको १०० करोड भारतीय रुपैयाँ माग गरे ।

केही गरी फिल्मको सुटिङ ३० दिनमा नसकिए लागत बढ्ने भएपछि निर्माण समूह पछि हटेको थियो । त्यस्तै, निर्माण समूहले रजनीकान्तको स्थानमा आमिर खानलाई प्रस्ताव गरेको थियो । तर, आमिरले प्रस्ताव अस्वीकार गरेर रजनीकान्त यसका लागि पर्फेक्ट हुने बताएका थिए । निर्माण टिमको रोजाइमा सुरुमै नपरेका अक्षयकुमार नकारात्मक रोलमा देखिएका छन् ।

उनी रिचर्ड नामका एक वैज्ञानिकको भूमिका छन् । वैज्ञानिक अनुसन्धानकै क्रममा उनी एउटा चिलको रूप धारण गर्न पुग्छन् । मानिसबाट चिलमा परिवर्तन भएको उनको अवतार पनि फिल्मको एउटा मुख्य आकर्षण मानिएको छ । जुन, सार्वजनिक हुनुपूर्व लिक भएको टिजर र रिलिज गरिएको टिजरमा पनि देख्न सकिन्छ ।

२.० लाई भारतको सबैभन्दा महँगो र एसियाको दोस्रो महँगो फिल्म भनिएको छ । यो फिल्म बनाउन पाँच सय ४३ करोड भारु खर्च भएको जनाइएको छ । यसको भिजुअल इफेक्ट निर्माणमा मात्रै सय करोडभन्दा बढी लगानी भएको छ ।

अक्षयकुमारको मेकअपमा साढे ४ करोड
फिल्ममा अक्षयकुमारको मेकअपका लागि मात्रै करिब साढे चार करोड भारतीय रुपैयाँ खर्च भएको निर्माण पक्षले जनाएको छ । यसअघि बलिउडमा बनेका कुनै पनि फिल्ममा एउटै कलाकारको मेकअपमा यति ठूलो खर्च भएको रेकर्ड थिएन । बरु यो लगानीबराबरका फिल्म नै बन्थे । उनको चिल अवतारका कारण मेकअपमा लगानी बढेको जनाइएको छ । अक्षयकुमारले एउटै दृश्यका लागि चार घन्टाभन्दा बढी मेकअपमा खर्च हुने गरेको थियो । यहीकारण प्रायः सुटिङमा अक्षयकुमार अरू कलाकारभन्दा पहिले सेटमा हाजिर भइसक्नुपथ्र्यो । तर, त्यति लामो समय खर्चिएर सुट गरिएको दृश्य १० सेकेन्डको मात्रै रहेको हल्ला भारतीय सञ्चारमाध्यममा चलेको छ ।

‘थ्रिडी’मा सुटिङ भएको पहिलो फिल्म
निर्माणपक्षका अनुसार फिल्ममा उच्चस्तरीय भिजुअल इफेक्ट (भिएफएक्स)को प्रयोग भएको छ । यस फिल्मलाई पूरै ‘थ्रिडी’ प्रविधिमा सुटिङ गरिएको थियो, जुन बलिउडको पहिलो हो । यसभन्दा पहिलेका ‘थ्रिडी’ फिल्महरू ‘टुडी’मा सुटिङ गरेर कम्प्युटरको ग्राफिक्समार्फत सम्पादन गरिन्थ्यो । फिल्म सुटिङकै क्रममा अक्षयकुमारको अवतार सार्वजनिक भएपछि निर्माण पक्षले निर्देशकदेखि कलाकारसम्म सबैलाई सुटिङस्थलमा फोनको प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । यहाँसम्म कि फिल्मको बारेमा सार्वजनिक रूपमा नबोल्नसमेत भनिएको थियो । यद्यपि, फिल्मको ट्रेलर सार्वजनिक हुनुभन्दा पहिले नै युट्युबमा ‘टिजर’ लिक भएको थियो । जसका कारण निर्माण समूहभित्र केही विवादसमेत भयो ।

रिलिज रोक्न माग
टेलिकम अपरेटरहरूले फिल्मको प्रदर्शनमा रोक लगाउन माग गरेपछि २.० विवादमा परेको छ । टेलिकम अपरेटरहरूको संगठन सिओएआईले फिल्मको ट्रेलर र प्रमोसनल भिडियोमा आपत्ति जनाउँदै रोक लगाउन माग गरेका हुन् । फिल्मले मोबाइल फोन कम्पनी र टावरहरूको बदनाम गरेको सो संगठनको आरोप छ । विषयवस्तुलाई ‘महाहानिकारक’ भन्दै सिओएआईले सेन्सर बोर्डसँग फिल्मको सर्टिफिकेसन रद्द गर्न अपिल गरेको छ । सिओएआईका सदस्यहरूमा रिलायन्स जिओ, भारती एयरटेल र भोडाफोन आइडियाजस्ता प्रख्यात कम्पनी छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *