कक्षाकोठामा भन्दा आन्दोलनमा रमाउँदै शिक्षकहरू

गोरखा- सोमबार गोरखा र पालुङटार नगरपालिकासँगै आरुघाट र अजिरकोट गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेन ।
विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि जनशक्ति जुटाउन हिँडेपछि पठनपाठन हुन नसकेको हो ।

शिक्षकहरुको पेशागत हितका लागि भन्दै नेपाल शिक्षक महासंघको अगुवाइमा यही मंसिर १४ गते काठमाडौमा बृहत बिरोध सभा तथा जुलुस हुँदैछ ।
बिरोध सभामा प्रतिनिधित्व गर्नका लागि पठनपाठन नै बन्द गरेर जिल्लाका शिक्षकहरु समिति गठनमा व्यस्त छन् ।

सभामा प्रत्येक जिल्लाको गाउँ तथा नगर समितिका अध्यक्ष र सचिवको उपस्थिति अनिवार्य गरिएको भन्दै शिक्षकहरु विद्यालय जानुको अलावा पठनपाठन नै ठप्प बनाएर सोमवार जिल्ला समन्वय समितिमा भेला भए ।

शिक्षक महासंघ जिल्ला कार्यसमिति गोरखाको अगुवाइमा भएको भेलाले गोरखा र पालुङटार नगरपालिसँगै आरुघाट र अजिरकोट गाउँपालिकाको समिति गठन गरेको छ । जिल्लामा क्रियाशील बिभिन्न शिक्षक संगठनको वरियता क्रमको आधारमा भागवण्डा मिलाएर समिति गठन गरिएको छ ।

जिल्लामा तत्कालीन माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन, कांग्रेस निकट नेपाल शिक्षक संघ, तत्कालीन एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, विप्लव नेतृत्वको अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय कर्मचारी परिषद क्रियाशील छन् ।

मंसिर ११ गते मंगलबार भीमसेन थापा, बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकाको सबै बिद्यालय बन्द गरेर समिति गठन गर्ने तयारी महासंघको छ ।

समिति गठनकै लागि मंसिर १२ गते बुधबार गण्डकी र शहीद लखन गाउँपालिकाका सबै सामुदायिक विद्यालय गराइँदै छ ।

कार्यक्रममा प्रत्येक शिक्षकलाई अनिवार्य उपस्थिति गराउन बाध्य गराइएको छ । ‘कार्यक्रममा हाजिर हुनेलाई काज दिन्छौ, होइन भने बिदा कट्टा हुन्छ ।’ नेपाल शिक्षक महासंघ गोरखाका अध्यक्ष धुव्र भट्टले भने ।

आफ्नो अधिकार प्राप्तिका लागि विद्यालयको पठनपाठन नै प्रभावित गरेको भन्दै सरोकारवालाहरुले गुनासो गर्दै आएका छन् ।

महासंघ गोरखा अध्यक्ष भट्टले स्रोत भर्ना हुने गरी विद्यालय बन्द गराइएको बताए । ‘अहिले विद्यालय बन्द गरेवापत पौष १४ गते शनिवार पठनपाठन गराउने निर्णय गरेका छौं,’ उनले भने ।

२६ वुँदे माग सहित चरणवद्ध रुपमा हुँदै आएको शिक्षक आन्दोलनका कारण यसअघि पनि जिल्लामा रहेको सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *