मंगल ग्रहमा अन्तरीक्षयान अवतरण, नयाँ तथ्य पत्ता लाग्ने विश्वास

काठमाडौं- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो ।

मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो ।

यो यान अवतरण गर्ने अन्तिम सात मिनेट एकदमै तनावपूर्ण थियो । जब उक्त यान मंगलग्रहको भूमध्य रेखा नजिकको समथर मैदानमा सुरक्षित अवतरण गर्‍यो तब नासाको मिशन कन्ट्रोलमा खुसीको लहर छाएको थियो । बैज्ञानिकहरु खुसीले उफ्रिएका थिए ।

मंगल ग्रहमा अवतरण गर्नुभन्दा सात मिनेट अगाडिको समय निकै महत्वपूर्ण थियो किनभने यानको गति २० हजार किलोमिटर प्रतिघण्टाले कम गर्नुपर्ने थियो ।

अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्णरुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन् । साथै यानले पठाउने त्यहाँ वरपरका तस्वीर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् । इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् ।

के हो इन्साइट ल्याण्डर ?

मंगल ग्रह पृथ्वीसँग मिल्दोजुल्दो छ । त्यहाँ जीवनको सम्भावना छ कि छैन भनेर खोज तथा अनुसन्धान जारी छ । तर, इन्साइट ल्याण्डरले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन अर्बौं वर्षदेखि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् ।

आफ्नो अभियानको क्रममा यो यानले मंगल ग्रहमा एक साइज्मोमिटर राख्ने छ । त्यसले मंगल ग्रहभित्रको हलचल रेकर्ड गर्न सक्छ ।

मंगल ग्रह मुनि भूकम्पजस्तो हलचल हुन्छ कि हुँदैन भन्ने कुरा त्यसले पत्ता लगाउने छ । मंगल ग्रहलाई खनेर त्यसभित्रको रहस्य पत्ता लगाउन पठाइएको इन्साइट ल्याण्डर पहिलो अन्तरिक्ष यान हो ।

साथै एक जर्मन उपकरणले मंगल ग्रहको पाँच मिटर तल गएर त्यहाँको तापमान पत्ता लगाउने छ । ग्रहको यो तापमानले मंगल ग्रह अझै पनि कति सक्रिय छ भन्ने कुरा पत्ता लाग्ने नासाका वैज्ञानिकहरु बताउँछन् ।

यसमा राखिएको रेडियो ट्रान्समिशनले मंगल ग्रह आफ्नो अक्षमा डगमगाउँदै कसरी घुम्छ भन्ने कुरा पनि पत्ता लगाउने छ ।

यो अभियानमा संलग्न एक वैज्ञानिक सुजेन स्म्रेकर भन्छिन्, ‘तपाईंले एउटा काँचो अन्डा र अर्को पाकेको अन्डा हातमा लिनुस् र दुवैलाई घुमाउनुस् । यी दुई अन्डा अलग-अलग तरिकाले घुम्नेछन् । किनभने अन्डाभित्रको तरल पदार्थ अलग-अलग छ । हामीलाई अझै मंगल ग्रह मुनि तरल या ठोस पदार्थ छ कि छैन, यसको भित्री भाग कति ठूलो छ या छँदैछैन कि भन्ने कुराहरु थाहा छैन । इन्साइट ल्याण्डर यानले हामीलाई त्यसको जानकारी दिने छ ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *