रविन्द्र अधिकारीलाई गृहनगर पोखरामा कालो झण्डा

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार पोखरामा केही विद्यार्थी नेताले कालो झन्ड देखाएका छन्।

उनलाई कालो झन्डा देखाउने नयाँ शक्ति पार्टी निकट विद्यार्थी संघ रहेको र त्यसमा संलग्न ६ जनालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर २ कास्कीमा परेका बजेटबारे जानकारी दिन आयोजित कार्यक्रममा आउँदै गर्दा मन्त्रीलाई कालो झन्डा देखाएका हुन्,’ प्रवक्ता गुरुङले भने, ‘उनीहरुलाई हामीले नियन्त्रणमा लिइसकेका छौं।’

पक्राउ पर्नेमा विद्यार्थी नेताहरु नेत्र चापागाईं, विशाल तिमिल्सिना, रेशम सापकोटा, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन्।

प्रवक्ता गुरुङले ती विद्यार्थी नेता अहिले नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको र त्यसै अनुसार कारबाही गरिने जनाए।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला समन्वय सहकारी संस्था कास्कीमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएका आयोजनाका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। कार्यक्रममा मन्त्री अधिकारीले २ नम्बर निर्वाचन क्षेत्र सबै पोखरा महानगरपालिकामा पर्ने भएकाले महानगरको समन्वयमा विभिन्न शीर्षकमा बजेट खर्च गरिने बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *