राजपा संयोजकमा महतो चयन, सरकारप्रति फोरम असन्तुष्ट

काठमाडौं : राजपाको संयोजकमा राजेन्द्र महतो चुनिएका छन्। राजपाको अध्यक्षमण्डलको मंगलबार बसेको बैठकमा बहुमतबाट महतो संयोजक चुनिएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महतोलाई संयोजक बनाउने निर्णयमा अध्यक्षमण्डलका सदस्य अनिल झाको मात्र असहमति थियो। यसअघिका संयोजक ठाकुरले भने निर्णयमा हस्ताक्षर गरेका छन्।

डेढ वर्षअघि मधेसी मोर्चामा आबद्ध ६ वटा पार्टी एकीकरण भई राजपा गठन भएको हो। त्यतिखेर सबै पार्टीका अध्यक्ष अध्यक्षमण्डलका सदस्य बन्ने र चक्रीय प्रणालीअनुसार सबैले पार्टीको नेतृत्व गर्ने निर्णय थियो। पछि महतोले ठाकुरलाई स्थायी रूपमै संयोजक बनाउने प्रस्ताव गरेका थिए। त्यसपछि ठाकुर राजपा अध्यक्षमण्डलका संयोजक थिए।

तर निर्वाचनपछि ठाकुरसँग महतोसहित अध्यक्षमण्डल अन्य सदस्य असन्तुष्ट थिए। ठाकुरले सल्लाहबिनै प्रदेश २ को सरकारदेखि पार्टीको केन्द्रीय समितिका विभिन्न पदमा मनोनयन गरेको आरोप छ। दसैंअघि पार्टी सचिवालयका कर्मचारीलाई निकालिदिएको विषयले समेत पार्टीभित्र विवाद बढेको थियो।

बैठकले पार्टीको आर्थिक गतिविधिको समेत हिसाब गर्न अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवलाई जिम्मा दिने निर्णयसमेत गरेको छ। महतो संयोजक बनेपछि आइतबारका बैठक लागि बोलाइएको छ। बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, महाधिवेशन तयारीका काम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरिने जनाइएको छ। ‘हामीले सरकारलाई दिएको समर्थनबारेसमेत छलफल थालेका छौं’, संयोजक महतोले भने, ‘बैठकपछि त्यसको टुंगो लगाउँछौं।’

राजपाले साउनदेखि दसैंअघिसम्म प्रधानमन्त्री केपी ओलीलाई तीन पटक भेटेर संविधान संशोधनका लागि ध्यानाकर्षण गराइसकेको छ।

राजपाले साउनदेखि दसैंअघिसम्म प्रधानमन्त्री केपी ओलीलाई तीन पटक भेटेर संविधान संशोधनका लागि ध्यानाकर्षण गराइसकेको छ। आफूहरूका माग सम्बोधन नभए राजपा नेताले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएका थिए।बैठकले मंसिरसम्म पार्टीको सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको छ।

सरकारप्रति फोरम असन्तुष्ट

सरकारमै सहभागी संघीय समाजवादी फोरम पनि असन्तुष्ट छ। आइतबारदेखि मंगलबारसम्म बसेको फोरमको राजनीतिक समिति बैठकमा सहभागी नेताले पनि सरकारले संघीयतालाई सुदृढ बनाउने गरी काम नगर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन्।

सरकारलाई संविधान संशोधनका विषयमा समेत फोरमले सम्झाउने बेला भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। ‘हामीले ३ असोजसम्म कुर्ने भनेका थियौं, त्यसपछि चाडपर्व परे। अहिले चाडपर्व पनि सकिए। अब सरकारले बहाना बनाउन मिल्दैन’, उनले भने। फोरमका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधनका विषयमा कुरा गर्ने बताए। फोरम बैठकमा प्रदेश २ को सरकारको समेत समीक्षा गरिएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *