नेपाली काङ्ग्रेस: एउटै माला भित्र कोइराला परिवार

काठमाडौ- गिरिजा कोइराला (जीपी) फाउन्डेशनले आइतबार विराटनगरमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहित केन्द्रीय सदस्यद्वय शेखर र सुजातालाई एउटै माला पहिर्याइएर स्वागत गरे।

कोइराला परिवार एकजुट भएर पार्टीलाई अघि बढाउन आयोजकले तीन जना नेतालाई एउटै माला लगाइदिएका थिए। जीपी कोइराला फाउन्डेशनलाई धन्यबाद दिँदै केन्द्रिय सदस्य शेखर कोइरालाले कोइराला परिवार हिजो, आज र भोलि एकै ठाउँमा हुने बताए।

‘हामी तीन जना कोइरालाहरु राजनीति गर्दैछौं। तर तीन तिर फर्केका छौं भन्ने तपाईहरुलाई लागेको होला,’ शेखरले भने, ‘आजको कार्यक्रमले तपाईको भ्रम अलिकति भने पनि निवारण भयो।’ कोइराला परिवार पहिलेदेखि अहिलेसम्म र भोलिका दिनमा पनि एकजुट भएर जनताको सेवामा लाग्ने उनले बताए।

वीपी, गणेशमान, गिरिजा र सुशील कोइरालाको सपना पूरा गर्न कोइरालाहरु एक ठाउँमा उभिने उनले बताए। पार्टीको १४ औं महाधिबेशनमा सभापति उठ्ने चर्चा रहेका शेखरले थपे, ‘वीपीदेखि सुशीलसम्म, उहाँहरुले हिँडेको बाटो पछ्यायौं भने कांग्रेसको भविष्य उज्वल हुन्छ।’

कांग्रेस गुट, उपगुटमा फसेको उनले बताए। कांग्रेसमात्र होइन, कम्युनिष्ट, मधेशबादी वा राप्रपा सबैतिर गुटउपगुट छ,’ उनले भने, ‘देशलाई अघि लैजान सक्छु भन्ने आँट गर्ने नेताको खडेरी छ।’

कांग्रेसले प्रभावकारी प्रतिपक्षीको भूमिका खेल्न नसकेको पनि उनले बताए। ‘तपाईहरुलाई लाग्ला, सरकार स्थिर छ। हो दुई तिहाइको सरकार स्थिर नै छ। तर राजनीति अस्थिर छ। संसदमा कांग्रेसको उपस्थिति नै नभएजस्तो छ,’ उनले भने।

नौ महिना अवधिमा सरकारले न्यायपालिकालाई ध्वस्त बनाएको, प्रहरी प्रशासन र सूचनाको हकबाट जनतालाई बञ्चित बनाएको उनले आरोप लगाए। ‘सरकारको मन्त्रिपरिषदले सूचनाको हकलाई बञ्चित गरिदिएको छ। न्यायपालिका ध्वस्त छ, प्रहरी कहाँ छ थाह छैन,’ उनले भने। उनले राष्ट्रियताको प्रतीक हिमाल पहाड र तराईमा बसोबास गर्ने नेपाली भएको बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *