प्रधानमन्त्रीलाई बालुवाटार बाहिर निस्किन रोक

काठमाडौ-  प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्रीनिवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटेलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो । तर, निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारीनिवास
बालुवाटारमै रोकिए ।

सोल्टी होटेलमा शुक्रबार ‘कोलोम्बो प्रोसेस’अन्तर्गतको एसियाका १२ राष्ट्रका श्रममन्त्री सहभागी परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम थियो । उनी सहभागी नभएपछि क्याबिनेटमा दोस्रो वरीयताका उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले गरे । बैठकमा वैदेशिक रोजगारमा कामदार पठाउने मुलुक सहभागी छन् ।

स्वास्थ्य अवस्था भने सामान्य
सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सामान्य भइसकेको छ । तर, अझै केही दिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ । ‘डिस्चार्जपछि हामीले प्रधानमन्त्रीज्यूलाई एक महिनाजति धेरै भिडभाडबाट टाढै रहन, चिसोबाट बच्न सुझाब दिएका छौँ,’ निजी चिकित्सक डा. दिलीप शर्माले नयाँ पत्रिकासँग भने, ‘हाम्रो सुझाबलाई मनन गरेरै प्रधानमन्त्रीज्यू भिडभाड हुने सार्वजनिक कार्यक्रममा सहभागी नहुनुभएको हुन सक्छ ।’
पछिल्लो संक्रमणमा एन्टिबायोटिक चलाइएकाले बढी भिडभाड हुने कार्यक्रममा जाँदा बल्झिन सक्ने भन्दै निजी चिकित्सकद्वय शर्मा र दिव्या सिंहले प्रधानमन्त्रीलाई स्वास्थ्यमा ख्याल राख्नुपर्ने सुझाब पनि दिएका छन् ।

निवासबाटै सरकारी काम
चिकित्सकको सुझाबका कारण भिडभाडबाट जोगिँदै आएका प्रधानमन्त्री ओलीले सरकारी सबै काम निवासबाटै सञ्चालन गरिरहेका छन् । यसबीच बालुवाटारमै दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ । छातीमा संक्रमण र श्वासप्रश्वास समस्याले पाँच दिन त्रिविवि शिक्षण अस्पताल महाराजगन्जको मनमोहन कार्डियोलोजीमा उपचारपछि १६ कात्तिकमा डिसचार्ज भएका थिए । त्यसयता उनी सरकारीनिवासमै आराम गरिरहेका छन् ।

पूर्ववत् सक्रिय रहेको सचिवालयको भनाइ
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी अहिले पूर्ण स्वस्थ रहेर पूर्ववत् रूपमै सक्रिय छन् । चिकित्सको सुझाबलाई मध्येनजर राखेरै दसैँयता स्वकीय सचिवालयले अत्यावश्यकीयबाहेक भेटघाट र सार्वजनकि कार्यक्रमलाई दैनिक कार्यतालिकामै राखेको छैन । तर, सरकारीनिवास बालुवाटारमै दलका शीर्ष नेताहरू, सरकारका उच्च अधिकारीसँग भेटघाट चलिरहेको छ । यस्तै, सरकारी निर्णयसँग जोडिएका फाइलहरू अध्ययन गर्ने, फाइल सदर गर्नेदेखि सबैखाले अत्यावश्यकीय काम गरिरहेका छन् ।

प्रधानमन्त्री भित्री काममा व्यस्त हुनुहुन्छ 
कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
प्रधानमन्त्रीज्यू अफिसियल (सरकारी) काममै व्यस्त हुनुभएकाले कोलोम्बो प्रोसेसअन्तर्गतको मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन कार्यक्रममा नजानुभएको हो । चिकित्सकहरूले पनि सुझाब दिनुभएको छ, त्यसैले यो वेला प्रधानमन्त्रीज्यूले सार्वजनिक कार्यक्रमलाई भन्दा इन्डोर (भित्री) कामलाई प्राथमिकता दिनुभएको छ । शुक्रबार पनि उहाँ बालुवाटारमा दिनभनर काममै व्यस्त हुनुभयो । कुर्सीमा बसेर घाम ताप्दै भेटघाट र कुराकानी गर्नुभो’ । यहीँ(बालुवाटार)बाटै सबै काम भएकै छ । फाइलहरू आउँछन्, उहाँले अध्ययन गरेर स्वीकृत गर्नुभएको छ, कुनै काम रोकिएको छैन, त्यसैले केही दिनका लागि अझै उहाँ सिंहदरबार जानुहुन्न ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *