पुर्व-माओवादी समुहको लागि प्रधानमन्त्री सचिवालयको ढोका बन्द

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका अन्य प्रधानमन्त्री र आफ्नै विगतको परम्परासमेत तोडेर प्रधानमन्त्रीको सचिवालयको आकार कटौती गर्ने दाबी गरेका छन् ।

तर, प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादी वा माधव नेपाल पक्षका कार्यकर्ता नेतालाई भने कडाइ गरिएको छ ।

आइतबार प्रधानमन्त्रीको विदेश मामिला तथा सुरक्षा सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारीको नियुक्तिसँगै प्रधानमन्त्रीको सचिवालय १३ सदस्यीय भएको छ । तीमध्ये पनि दुईजनाले सरकारबाट तलव खाँदैनन् ।

प्रधानमन्त्री ओलीले मितव्ययी बन्ने भन्दै सचिवालयलाई एक दर्जनभित्र सीमित गर्न खोजेको स्रोतले जनाएको छ । तर, अझै प्रधानमन्त्रीको सचिवालयमा बढीमा आर्थिक तथा प्रशासनिक सल्लाहकार थपिन सक्ने स्रोतको भनाइ छ ।

शक्तिशाली दुई सल्लाहकार

प्रधानमन्त्रीको सचिवालयमा सबैभन्दा शक्तिशाली छन् प्रमुख सल्लाहकार बिष्णु रिमाल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका रिमाल तत्कालीन एमालेको आर्थिक विभाग प्रमुख हुन् । पेशाले इन्जिनियर रिमाल, एमालेको मजदूर संगठनको नेतृत्व गरिसकेका नेता हुन् ।

रिमालका आलोचक पनि पार्टीभित्र धेरै छन् । तर, योग्यता, क्षमता र खटाइका हिसाबले ओलीले भरोसा गर्ने पात्र रिमाल नै हुन् । प्रविधि र भाषामा उत्तिकै दख्खल राख्ने भएकाले रिमाललाई ओलीले दोस्रो पटक पनि प्रमुख सल्लाहकार बनाएका हुन् ।

प्रधानमन्त्रीका भाषण लेख्ने र अरुले लेखे पनि पुनर्लेखन गरेर अन्तिम रुप दिने रिमालको विशेष दक्षता रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अन्तर मन्त्रालय समन्वय तथा प्रशासनयन्त्रसँगको संयोजन पनि रिमाललेनै गर्ने गरेका छन् ।

रिमालपछि दोस्रो महत्वूर्ण नियुक्ति डा. राजन भट्टराईले पाएका छन् । नेकपा केन्द्रीय सदस्य तथा विदेश मामिलाका विज्ञ भट्टराईलाई यसपटक सुरक्षा मामिलाको समेत जिम्मेवारी दिएर ओलीले नियुक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलको भूमिकामा भट्टराईलाई ल्याएको चर्चा नेकपाभित्र चलेको छ ।

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडी गरेका भट्टराईको नियुक्तिले रिमालको भार कम गर्ने बालुवाटार स्रोतको भनाइ छ । काठमाडौं ४ बाट कांग्रेसका गगन थापासँग पराजित भएका भट्टराई अर्को चुनावलाई लक्षित गरी सोही क्षेत्रमा ठूला आयोजना र बजेट पार्न केन्द्रित छन् ।

भट्टराई भारतको राजदूत पद अस्वीकार गरेर बसेको बालुवाटार स्रोत बताउँछ । राजदूत भएर जाँदा संसदीय राजनीतिमा पछि परिने भन्दै उनले निर्वाचन क्षेत्रमै केन्द्रित हुने इच्छा देखाएका हुन् । उनी नेपाल भारत प्रवुद्ध समूह (इपिजी) का सदस्य पनि हुन् ।

नेकपाका अर्का केन्द्रीय सदस्य अच्युत मैनालीले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारको जिम्मेवारी पाएका छन् । बारा १ बाट कांग्रेसका उमाकान्त चौधरीसँग पराजित भएका मैनालीलाई ओलीले लामो समयदेखि आफूलाई साथ दिएकाले पुरस्कृत गरेका हुन् ।

प्रचण्डको सुझाव अस्वीकृत, नेपाल पक्षको कटाक्ष

नेकपा स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादीतर्फका केही नेतालाई पनि नियुक्ति दिन आग्रह गरेका थिए । पार्टी एकताको सन्देश र अपनत्व महशुस गराउन पनि तत्कालिन माओवादीतर्फका कम्तीमा एक जनालाई सचिवालयमा राख्न सुझाव दिएको स्रोतको दाबी छ ।

प्रचण्डले धनकुटाका पूर्वसभासद तथा नेकपा केन्द्रीय सदस्य हेमराज भण्डारीलाई प्रधानमन्त्रीको सचिवालयमा राख्न केही महिनाअघि नै सिफारिस गरेका थिए । तर, प्रधानमन्त्री ओलीले पूर्वमाओवादीका त परै राखौं, पूर्वएमालेभित्रै पनि आफ्नो परम्परागत गुटबाहेकका नेतालाई सचिवालयमा ठाउँ दिएका छैनन् ।

सायद त्यसकै प्रतिक्रिया स्वरुप हुनुपर्छ, नेकपाका केही नेताले फेसबुक र ट्वीटरबाट व्यंग्य गरिरहेका छन् । नेकपा केन्द्रीय सदस्य तथा माधव नेपाल प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार विष्णु रिजालले ‘दाने दाने पे लिखा है खानेवालाका नाम’ भनेर व्यंग्य गरेका छन् ।

नेकपाका अर्का केन्द्रीय सदस्य डा. विजय पौडेल लेख्छन्– नेकपामा केही मानिसहरु आजीवन खाने लाइसेन्स लिएर आएका रहेछन् । हरेक सरकारका पालामा यिनले खाइरहन्छन् । नेपाली कांग्रेसमा पनि त्यस्तै निरन्तर खानेहरुको झुण्ड छ । हरेक गुटबाट लाभ लिन सक्ने महानुभावहरुले नेताहरुलाई रिझाउने के जादू जानेका रहेछन् ?

जसलाई रोजे ओलीले

प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारको भूमिकामा रहेका बिष्णु रिमाल,राजन भट्टराई र अच्युत मैनाली नेकपाका केन्द्रीय नेता हुन् । यी बाहेक प्रदेश कमिटीमा रहेका इन्द्र भण्डारी प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् ।

०५६ सालदेखि ओलीको स्वकीय सचिव रहेर काम गरेका भण्डारी पहिलोपटक ओली प्रधानमन्त्री हुँदा पनि प्रमुख स्वकीय सचिव थिए । ओली प्रधानमन्त्रीबाट हटेपछि सचिवालय छरितो बनाउने क्रममा भण्डारी हटेका थिए ।

प्रधानमन्त्री भएको करीव १० महिनासम्म ओलीले प्रमुख स्वकीय सचिव नियुक्त गरेका थिएनन् । स्वकीय सचिव राजेश बज्राचार्यलेनै सो जिम्मेवारी सम्हालिरहेका थिए । बज्राचार्य ओलीको पारिवारिक सदस्य समेत हुन् ।

त्यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा.कुन्दन अर्याल छन् भने प्रेस र सञ्चार विज्ञ अन्तर्गत नै पत्रकार रामशरण बजगाई र चेतन अधिकारी कार्यरत छन् । अधिकारी यसअघि पनि ओलीको प्रेस संयोजक थिए ।

त्यस्तै प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञमा असगर अली कार्यरत छन् । तर, उनी सरकारी तलब भने खाँदैनन् । असगर इसेवाका संस्थापक पनि हुन् । त्यस्तै अवैतनिक सदस्यकै रुपमा कार्यरत मनोज पाण्डेले प्रधानमन्त्रीको टेलिभिजन कार्यक्रम सन्चालन गर्छन् ।

प्रधानमन्त्रीको जनसम्पर्क सचिवालयमा झापा जिल्लाकै होम थापा, दिपेन्द्र दाहाल र रमेश भट्टराई कार्यरत छन् । उनीहरु तीनैजना नेकपाका कार्यकर्ता हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *