नेपाली झन्डा फहराउँदै जनकपुरमा भारतीय रेल

काठमाडौ- नेपाललाई यात्रुबाहक रेल लिजमा दिन भारत सहमत भएको छ । नवनिर्मित जनकपुर–जयनगर मार्गका लागि आवश्यक रेल लिजमा दिन नेपालले राखेको प्रस्तावमा भारतले सहमति जनाएको हो । भारतले आफ्नो विदेश मन्त्रालयमार्फत चार दिनअघि नेपाललाई पत्राचार गरी लिजमा रेल दिन सहमति जनाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

केही समयअघि मालबाहक र्‍याकसहित रेलमार्गको परीक्षण गरिँदै ।

‘रेल लिजमा लिने प्रस्ताव हामीले गरे पनि यसअघि भारतले निधो दिएको थिएन,’ उनले भने, ‘भारतले हामीलाई लिजमा रेल दिने सहमति जनाएसँगै हामीले त्यसका लागि अनौपचारिक नेगोसिएसन अघि बढाएका छौँ ।’ उनका अनुसार नेपालले लिजमा लिने रेल भारतीय सार्वजनिक संस्थानअन्तर्गतको रेल हुनेछ । यसका लागि भारतीय संस्थानअन्तर्गतका दुईवटा कम्पनीसँग अनौपचारिक रूपमा छलफल भइरहेको छ । अब औपचारिक छलफल गरी लिजका विषयमा टुंगोमा पुगिने उनको भनाइ छ ।

छलफलमा रेलको भाडा, सञ्चालन मोडालिटी, रेलको नियमित मर्मत, यात्रुसँग उठाउनुपर्ने भाडादर, नेपाली प्राविधिक तथा सञ्चालन गर्ने टिमलाई दिनुपर्ने तालिमजस्ता विषयमा सहमति खोजिनुपर्ने उनले बताए । सबैभन्दा सस्तो दरमा नेपाललाई रेल उपलब्ध गराउने कम्पनीसँग नै लिज सम्झौता गरिनेछ । लिजमा रेल लिने, सञ्चाल गर्ने र मर्मत गर्न दुई छुट्टै कम्पनी वा एउटै कम्पनीसँग पनि सम्झौता गर्न सकिने उनको भनाइ छ । ‘आउँदो एक महिनाभित्रमा छलफल टुंग्याएर सम्झौता गरिसक्ने र अर्को महिनाभित्र रेल सेवा सञ्चालनमा ल्यनउजे हाम्रो लक्ष्य छ,’ उनले भने ।

भारतीय रेलमा नेपाली झन्डा
कुर्था–जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्गमा तत्काल भाडाकै रेल चलाउने भए पनि त्यसमा नेपाली झन्डा फहराउने विभागको तयारी छ । भारतकै ७ अर्ब रुपैयाँ अनुदानमा निर्माण भएको सो ब्रोडगेज रेलमार्गमा भारतकै रेल चल्ने भएको हो ।

प्रतिघन्टा सय किलोमिटरका दरले कुद्ने गरी डिजाइन गरिएको सो रेलमार्गमा एक ट्रिपमा चार सयसम्म यात्रु क्षमताको रेल चलाउने तयारी छ । तर, तीव्र गतिकै रेल सेवा सञ्चालनमा ल्याउन लागिएको भए पनि ३५ किलोमिटर दूरी पार गर्ने डेढ घन्टाभन्दा बढी समय लाग्न सक्ने अनुमान विभागको छ । ‘औसत ५ किलोमिटरको दूरीमा पर्ने गरी सो दूरीमा ७ वटा स्टेसन छन्,’ उनले भने, ‘ती स्टेसनमा यात्रु ओराल्न र चढाउन लाग्ने समयका कारण एउटा रेलले दोहोरो यात्रा पूरा गर्न झन्डै ३ घन्टासम्म लाग्न सक्छ ।’ यसअनुसार एउटा रेलले दैनिक ४ पटक दोहोरो यात्रा पूरा गर्न सक्छ ।

हाल नेपालले भारतसँग दुईवटा रेल ल्याउन छलफल अघि बढाएको छ । सेवा सञ्चालमा आएपछि यात्रुको चापअनुसार एक वा दुईवटा रेल चलाउने भन्ने टुंगोमा पुग्न सकिने उनले बताए । रेलसेवा सञ्चालनमा आएको ६ महिनापछि कुर्थाबाट विस्तार गरी बिजुलपुरासम्मको ५२ किलोमिमिटर रेलसेवा सञ्चालनमा ल्याउने विभागको तयारी छ । सो रेलमार्गलाई बर्दिबाससम्म विस्तार गरी कुल ६९ किलोमिटर बनाइँदै छ । ।

नेपालले किन किन्दैन रेल ?
सो मार्गका लागि आवश्यक गुणस्तरको रेल खरिद गर्न ५० करोड रुपैयाँजति लगानी हुने अनुमान छ । तर, नेपालसँग तत्काल रेलसेवा सञ्चालन गर्न अनुभवी जनशक्तिको खाँचो रहेको विभागको भनाइ छ । ‘हामीसँग रेल सञ्चालन गर्न अनुभवी जनशक्ति अभाव छ,’ उनले भने, ‘वेट लिजमा सञ्चालनको जिम्मा दिँदा पाइलट र आवश्यक दक्ष जनशक्तिसमेत भारतीय कम्पनीले नै परिचालन गर्छ र हाम्रा कर्मचारीलाई सँगै राखेर तालिम र अनुभव बाँड्छ ।’ रेलसेवा सञ्चालमा ल्याएको एक वर्षपछि नेपाल आफैँले जनशक्ति तयार गरी सञ्चालन गर्ने विभागको अपेक्षा छ ।

ब्युँताइन्छ रेल्वे कम्पनी
नेपाल रेल्वे कम्पनी लिमिटेडले आफ्नै रेल आफ्नै जनशक्तिले ०७१ माघसम्म जनकपुर–जयनगर न्यारोगेज रेलसेवा सञ्चालन गथ्र्यो । उक्त रेलमार्गलाई ब्रोडगेजमा विस्तार गर्न सो सेवा बन्द भएपछि हालसम्म कम्पनीका धेरै कर्मचारीले अवकाश लिइसकेका छन् । हाल कम्पनीसँग भएका १७ जना कर्मचारीसँग पनि प्राविधिक अनुभव छैन । सोही कारण यही कम्पनीले कर्मचारी भर्ना गरी भारतीय कम्पनीमार्फत तालिम लिएर रेल सेवा सञ्चालको अनुभव र क्षमता नेपाल आफैँले आर्जन गनुपर्ने विभागको भनाइ छ । ‘रेल्वे कम्पनीलाई ब्युँताउनुको विकल्प छैन,’ निर्देशक मिश्रले भने । कम्पनीले सेवा दिँदाताका रहेका कर्मचारीको अनुभवलाई समेत प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *