आफुमाथि अन्याय गरिएको भन्दै सर्वोच्चको ढोका पुगे चार्ल्स शोभराज

काठमाडौं– सिरियल किलरको रुपमा अन्तर्राष्ट्रिय कुख्याती कमाएका अपराधी चार्ल्स शोभराज सजाय छुट गरी रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। कारागार कार्यालय जगन्नाथ देवलबाटै शोभराजले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन्। 

नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी,परिवर्तन सम्बन्धी कार्यविधि, जेष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरका आधारमा आफूले छुट पाउनुपर्ने उनले दाबी गरेका छन्।

२६ प्रतिशत मात्र कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा समेत सजाय माफी नभएको जिकिर गर्दै उनले तत्काल रिहा गर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्। २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको दाबी निवेदनमा शोभराजले गरेका छन्।

केन्द्रीय कारागार प्रमुखले २०७५ बैसाख २० गते कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधा अन्तर्गत २६ प्रतिशत कैद मात्र बाँकी रहेकाले सिफारिस गरेको तर सुविधा नपाएको उनको दाबी छ।

शोभराजले यसअघि नेपालको कारागारमा रहेका अमेरिकी नागरिक फेनिज मेसिनटोस नजिरलाई देखाउँदै छुट माग गरेका थिए। मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि छुट दिएको थियो। उनी क्यान्सरको गम्भीर बिरामी भएका कारण उनलाई ३ वर्ष ३ महिना ७ दिन ७५ वर्षको वृद्ध भएको आधारमा छुट दिने फैसला सर्वोच्चले गरेको थियो। कारागारमा रहेका उनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन लिएर गएका थिए। २०७५ भदौ २५ गते उनी रिहा भएको तर आफू भने ७० वर्ष उमेर पार गर्दासमेत उक्त सुविधावाट वन्चित भएको जिकीर शोभराजको छ।

शोभराजले आफू मात्र त्यस्तो विदेशी कैदी भएको जो १५ वर्षदेखि नेपालको जेलमा रहेको दाबी गरेका छन्। अन्य विदेशी कैदीहरु ८ देखि १० वर्षमा रिहा भएको तर आफूमाथि अन्याय भएको उनको निवेदनमा दाबी गरिएको छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *