मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन

काठमाडौं– मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ।

रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएपछि उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा आइतबार मध्याह्न निधन भएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ।

सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका उनलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो।

तुलाधर भाषा आन्दोलनबाट उदाएका नेता थिए। नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर उनले भाषिक आन्दोलन सुरु गरेका थिए। तर, उनको परिचय त्यतिमा मात्रै सीमित भएन। चिन्नेहरुले उनलाई मानवअधिकारको आन्दोलन, लोकतन्त्रको आन्दोलन, वाम आन्दोलनका नेता भनेर पनि चिन्छन्। अझ जनजाति आन्दोलन लाग्नेहरुका निम्ति उनी प्रेरणादायी व्यक्ति थिए। पछिल्लो समय उनी पहिचानवादी नेताको रुपमा चिनिन्थे।

तुलाधर रुन्चे नेता भनेर पनि चिनिन्थे। उनी भाषण गर्दा मात्रै होइन, पढ्दा तथा फिल्म हेर्दा पनि रुन्थे। राष्ट्रिय पञ्चायतको सदस्य छँदा रोस्ट्रममा उभिएर भ्रष्टाचारको विरोधमा बोलेका तर कसैले समर्थन नगरेजस्तो पाएपछि तुलाधर रोएको कुरा बेलाबेलामा चर्चा भइरहन्छ।

०४२ मा तुलाधर तत्कालीन नेकपा(माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठेका थिए। त्यस्तै, बहुदल आएपछि पनि दुई पटक एमालेका तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए।
तुलाधर मनमोहन अधिकारीको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए।

तुलाधरले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका पनि खेलेका थिए। सुरुताका एमाले निकट भनेर चिनिने तुलाधरलाई शान्ति प्रक्रियापछि भने माओवादी भनेर चर्चा गर्न थालियो। त्यसो त, द्वन्द्व कालमा उनलाई नै प्रचण्ड हुन् भन्नेहरु पनि थिए। जतिबेला प्रचण्डबारेमा निकै कमलाई मात्रै थाहा थियो। कतिपय भारतीय टिभी च्यानलहरुले उनलाई नै प्रचण्ड भनेर फोटो पनि प्रशारण गरिदिएका थिए।

उनका नेपाल भाषामा थुप्रै पुस्तक प्रकाशित छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *