अन्योलमा नेबिसंघ अधिबेशन

काठमाडौं-  नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेसन तोकिएको समयमा हुन सकेन। विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेसनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेसन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेसन हुन नसकेको हो।

नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेसनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले आवश्यक निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको हो।

नेविसङ्घ केन्द्रीय समितिको बहुमतको आधारमा उमेरहद हटाउने प्रस्ताव ल्याए पनि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले उमेरहद लगाउने निर्णय गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए। त्यसपछि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकसमेत हुनसकेको छैन।

वर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ गते सकिएको भए पनि तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गतेसम्मका लागि म्याद थपिएको थियो।

नेविसङ्घले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेसन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेसन, असोज १५ मा क्षेत्र अधिवेसन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेसन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेसन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेसन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेसन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो।

पार्टीका नेताहरु नै नेविसङ्घको उमेरहद र विधानमा विवादित बनेका कारण नेविसङ्घले कात्तिक १६ देखि १८ गतेसम्म तोकिएको महाधिवेसन हुननसकेको हो। नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान नेतृत्व ३२ वर्ष उमेरहदको कारण देखाएर महाधिवेसन टार्ने पक्षमा रहेको बताए। ‘केन्द्रीय समितिले अन्तिम रुप दिएको विधान मस्यौदालाई पन्छाएर नेतृत्वले आफू अनुकूल विधान संशोधन गर्न खोजेकाले महाधिवेसन हुन नसक्ने अवस्था आएको हो’, उनले भने।

नेविसङ्घका केन्द्रीय सदस्य नवराज त्रिपाठीले काङ्ग्रेसलाई बलियो बनाउने र नेपालको विद्यार्थी आन्दोलनमा सशक्त भूमिका खेलेको नेविसङ्घलाई निर्वाचनविहीन गर्न नहुने बताए। ‘नेविसङ्घको विधान र नियमावलीलाई पार्टीले अड्काएर राख्न मिल्दैन’, उनले भने।

नेविसङ्घका अध्यक्ष महरले केन्द्रीय समितिले तोकिएकै समयमा महाधिवेसन गर्नका लागि विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले फाइनल नगर्दा निर्वाचन गर्न नसकिएको ग्लोबल खबर लाइ  बताए। पार्टीले विधान र नियमावलीलाई अन्तिम रूप दिएर नेविसङ्घमा पठाए निर्वाचन गराउन आफू तयारी अवस्थामा रहेको उनको भनाइ छ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसङ्घमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि नेविसङ्घको महाधिवेसन थप अनिश्चित बनेको हो।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *