स्कटल्याण्डमाथि रोमाञ्चक जित सँगै त्रीकोणात्मक सिरिजमा नेपालको क्लिन स्वीप

काठमाडौं – कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारीसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो । लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो ।

१३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । रोहितले अविजित ९५ रन बनाए । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएर पनि रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।

यसअघि ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । त्यसपछि पनि लगातार विकेट गुमाउँदा नेपाल दबाबमा परेको थियो । ज्ञानेन्द्र मल्ल २१ र कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमायो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर दीपेन्द्र व्यक्तिगत ७ रन र सोमपाल कामी २ रन बनाएर आउट भएका थिए ।

तर नवौं विकेटका लागि रोहित र करणले अविजित ७५ रनको साझेदारी गरेपछि नेपालले रोमाञ्चक जित निकाल्यो स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस भ्रिग्सले २ विकेट लिए । ब्रान्डन म्याकुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान १ विकेट लिए । नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।

स्कटल्याण्डको सुरूवात राम्रो थियो । पहिलो खेलमा नामिबिया विरुद्ध शतक बनाएपछि दुई खेलमा बेन्चमा जर्ज मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गरिरहेका थिए । उनले पहिलो विकेटका लागि काएल कोएत्जसँग ४२ रनको साझेदारी गरे । आठौं ओभरमा सन्दीपले त्यो साझेदारी तोडे ।

सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए । मुन्सीले भने आक्रमक ब्याटिङ गरिरहेका थिए । उनले दोस्रो विकेटका लागि क्रिस म्याब्राइजसँग ४७ रनको साझेदारी गरे । तर १४औ ओभरमा सन्दीपले लगातार दुई बलमा विकेट लिएपछि नेपालले खेलमा फर्कियो । व्यक्तिगत ६० रनमा खेलिरहेका मुन्सेलाई बोल्ड गरेका सन्दीपले कप्तान रिची बेरिङटनलाई एलबीडब्लु धरापमा पारेका थिए ।

कुशल मल्लले २१औं ओभरमा म्याब्राइजलाई एलबिडब्लु आउट रे भने सन्दीपले टोमस म्याकिन्टोसलाई सन्दिप जोराबाट अर्को ओभरमा क्याचआउट गराएपछि स्कटल्याण्ड ११८-५ को अवस्थामा पुग्यो । उसका लागि विकेटकिपर म्याथ्यु क्रस र ब्रान्डोन म्याकमुलेनले छैटौं विकेटका लागि ५७ रनको साझेदारी गरे । तर ३५औं ओभरमा करण केसीको बलिङमा दीपेन्द्र सिंह ऐरीले क्रसलाई डाइरेक्ट हिटमार्फत रनआउट गर्दै त्यो साझेदारी तोडे ।

लगत्तै करणले माइकल लिस्कलाई बोल्ड गरे ।ओडीआई क्रिकेटमा करणको यो ५०औं विकेट हो । ३९औं ओभरमा म्याकुलेनलाई ललित राजवंशीबाट क्याचआउट गराएका करणले नै मार्क वाटको विकेट लिएपछि स्कटल्याण्ड अलआउट भयो ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृंखलामा कूल १३ विकेट लिए । उनले यसअघिका तीन खेलमा ३-३ विकेट लिएका थिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *