अमेरिकामा पार्सल काण्ड, निशानामा ओबामा र क्लिन्टन

वाशिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकबाट शंकास्पद विस्फोटक पदार्थ पठाइएको खबरले अहिले त्यहाँ सनसनी मच्चिएको छ । सो घटना बारेमा अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छानबिन गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

टेलिभिजन च्यानल सीएनएनको कार्यालयसमेत रहेको न्यूयोर्कको टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएपछि त्यहाँको समाचारकक्ष खाली गरिएको जनाइएको छ । सबैलाई पठाइएको वस्तु ‘मनिला खाम’ मा पठाइएको छ ।
एक जना अर्बपति जर्ज सुरोसको न्यूयोर्कस्थित घरमा बम भेटिएको दुई दिनपछि यस खालका गतिविधि देखिएका हुन् ।

अमेरिकाका पूर्व वरिष्ठ अधिकारीहरुलाई पठाइएका पत्र तथा पार्सलहरुको जाँच गर्ने क्रममा सुरक्षा सम्बन्धी प्राविधिकहरुले त्यस्तो पदार्थ रहेको पत्ता लगाएका हुन् । कहाँबाट ती सामग्री पठाइएका हुन् र कुन उद्देश्यले पठाइएका हुन् भन्ने बारेमा अझै नखुलेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसले एक वक्तव्य प्रकाशित गरी जनाएअनुसार पूर्वविदेशमन्त्री क्लिन्टनलाई पठाइएको त्यस्तो वस्तु अक्टोबर २३ का दिन फेला परेको थियो । वक्तव्यमा जनाइएअनुसार त्यस्तै वस्तु अक्टोबर २४ को दिन बिहान (बुधबार) पूर्व राष्ट्रपति ओबामाको निवासको ठेगानामा समेत पठाएको पाइएको थियो । ओबामालाई पठाइएको सामग्री राजधानी वाशिङटनमा बरामद गरिएको हो । पार्सलको रुपमा आएका सामग्रीलाई सुरक्षा निकायले पहिला नै नियन्त्रणमा लिएको थियो ।
एफबीआईले आफूलाई त्यसबारे पहिले नै थाहा भइसकेको र त्यसमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ । ओबामाका प्रवक्ताले चाहिं यसबारेमा प्रतिक्रिया जनाउन नमानेको बताइएको छ ।

त्यस्तै पार्सल यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियरका नाममा समेत यो वर्षको शुरूमा आएको बताइएको छ । अर्बपति जर्ज सुरोस भने उनले व्यक्त गरेका उदारवादी धारणाका कारण दक्षिणपन्थी समूहको निशानामा पर्दै आएका थिए ।

 

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *