प्रचण्ड गर्जिए – हामी छोड्नेवाला छैनौं, यो ट्रेलर मात्रै हो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमन नसच्चिएसम्म आफूहरुले नछोड्ने चेतावनी दिएका छन् । पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नियोजित रुपमा लोकतन्त्र, संविधानविरुद्ध षड्यन्त्र भएको बताउँदै प्रतिनिधिसभा विघटनबाट भएको प्रतिगामी कदम नसच्चिएसम्म आफूहरुले विश्राम नलिने जनाएका हुन् ।

उनले भोलि नै पार्टीले दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्ने जानकारी दिँदै अबको कार्यक्रम थप सशक्त हुने पनि बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्रतिक्रान्तिकारी’को गोटी बनेको आरोपसमेत लगाए । ओलीले नियोजित रुपमा प्रतिगामी कदम चालेको उनको भनाइ थियो ।

‘देश कोरोना महामारीका कारण आक्रान्त भएको समयमा पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याइयो । हामी सबै लकडाउनका कारण घरभित्र भएको बेला केपी ओलीको ध्यान आफ्नै पार्टी फुटाउने अध्यादेश ल्याउनेतिर गयो,’ उनले भने, ‘विचार गर्नुस्, उहाँको भावना कति क्रुर र जनविरोधी थियो ।’

प्रधानमन्त्री ओलीले शृङ्खलावद्ध ढंगले पार्टीभित्र भाँजो ल्याउने अभियान चलाउँदै आएको आरोप पनि प्रचण्डले लगाए । त्यसकै उत्कर्ष रुप अहिले देखिएको उनले बताए ।

संविधानले पहिलो पटक नेपाली जनतालाई सम्पूर्ण रुपमा सार्वभौम अधिकार सम्पन्न भनेको उल्लेख गर्दै प्रचण्डले लोकतन्त्रको हत्या गर्ने कदम रोक्ने तागत नेपाली जनतालाई मात्र छ भनेर नै आफूहरु जनतामा आएको प्रस्ट पारे ।

उनले प्रश्न गरे– ७०/७२ वर्षको संघर्षबाट प्राप्त गरेको सार्वभौम अधिकारलाई दुई जनाले कुल्चिन, हत्या गर्न मिल्छ ?उनले संविधान बन्न नदिनका लागि पनि ठुलै चलखेल भएको स्मरण गरे । संविधान जारी गरेको पनि कतिपयलाई मन नपरेको र संघीयता अन्तर्गत निर्वाचन हुन लागेको पनि त्यतिबेला कतिपयलाई मन नपरेका कारण रोक्नका लागि अनेक प्रयत्न भएको उनले स्मरण गराए ।

अहिले पनि परिवर्तनविरुद्ध त्यही प्रकारको षड्यन्त्र भएको उनले बताए । आफूहरु जनताको साथमा भएको दावी गर्दै उनले केपी ओली प्रतिगमनको साथमा भएकाले आफूहरुले नै लडाइँ जित्ने दावीसमेत गरे ।

प्रतिक्रान्तिकारी, प्रतिक्रियावादीहरु जालझेल, विधि, पद्धतिभन्दा बाहिर जान खोज्ने भएकाले चनाखो हुनुपर्ने पनि उनले बताए । उनले भने, ‘उता राति राति बैठक बस्ने गरेको पनि सुनेको छु, हामी दिनको उज्यालोमा जनतासँग सिधा सिधा आएका छौं । केपी र हामीमा फरक यही हो ।’

प्रचण्डले जति सशक्त रुपमा अघि बढिन्छ, त्यति चाँडो प्रतिगमन सच्चिने बताए । आफूहरुलाई न्यायालयप्रति विश्वास रहेको र पार्टीको आधिकारिकताका सवालमा पनि निर्वाचन आयोगप्रति विश्वास गरेको उनले सुनाए । तर अन्तिम भरोसा जनताप्रति नै भएकाले अहिले आफूहरु जनताको साथमा आएको उनले सुनाए ।

उनले प्रधानमन्त्री ओलीले चुनावको घोषणा गरे पनि त्यो चुनाव नहुने दावी गरे । ‘चुनाव गर्नका लागि घोषणा भएकै होइन,’ उनले भने, ‘हुनेवाला चुनावको घोषणा भएकै होइन ।’

उनले अन्य दललाई पनि प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरे । ‘प्रधानमन्त्रीले चाहेमा जे पनि गर्न पाउने नजिर बस्यो भने नेपाली जनताको भाग्य भविष्य के हुन्छ भन्ने कुरा ख्याल गर्न म आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘सबै एक भएर यो प्रतिगमनकारी कदम सच्याउने दिशामा हातेमालो गर्न सबै राजनीतिक दलका नेता साथीहरुलाई अपिल गर्न चाहन्छु ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *