कक्षा १२ को परिक्षामा बेथिति : १३ घन्टाअघि नै प्रश्नपत्र आउट, परीक्षा हलमै टिकटक

काठमाडौं – मंसिर ९ गतेदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ । बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरूको फेसबुक ग्रुपमा आइसकेको थियो । ‘बुटवलमा अघिल्लो साँझ ७ बजे केही व्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो । भोलिपल्ट पेपर पाएपछि शिक्षकहरूले सामाजिक सञ्जालमा आएको र परीक्षाका लागि मेलमा पठाइएको पेपर एकै भएको देखेपछि तत्काल पनिकालाई जानकारी गराएका थिए,’ ती शिक्षक भन्छन्, ‘परीक्षा बोर्डका अधिकारीले गल्ती स्वीकार नगरी उल्टै शिक्षकलाई प्रहरी लगाएर समात्ने धम्की दिएपछि कुरा सेलायो ।’

यसबारेमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव, परीक्षा उपनियन्त्रक र प्रदेश परीक्षा कार्यालय प्रमुख पूर्ण जानकार रहेको उनी बताउँछन् । भन्छन्, ‘उनीहरूले शिक्षकलाई धम्की दिएपछि विद्यार्थीलाई अप्ठ्यारो पर्ला भनेर शिक्षक चुप लागेका हुन् । छानबिनमा सजिलो होस् भनेर हिजो ग्रुपमा समेत राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्याल, परीक्षा उपनियन्त्रक सुवास पन्त र राष्ट्रिय परीक्षा बोर्ड बुटवल कार्यालय प्रमुख रमाकान्त तिवारीलाई शिक्षकहरूले जोडिदिएका छन् ।’
बोर्ड स्रोतका अनुसार बिहीबारको फिजिक्स विषयको प्रश्नपत्र आउट भएको भन्ने विषयमा बोर्डले प्रहरीलाई छानविनका लागि अनुरोध गरेको छ । पनिकाका अधिकारीका अनुसार फिजिक्समा बुधबार र बिहीबार प्रश्नपत्र आउट भएको बताउँदै दुई सेट पनिकामा आइपुगेका थिए । बुधबार पनिकाका अधिकारीसम्म आइपुगेको सेट मिलेको थिएन । बिहीबार परीक्षा सुरु भएपछि पौने नौ बजे बुटवलको एक स्कुलका विद्यार्थीको ग्रुपमा प्रश्नपत्र आएको बताउँदै स्थानीय शिक्षकबाट ‘स्क्रिन सट’ आएको बोर्ड स्रोतले जनाएको छ ।

प्रश्नपत्र आउट भएको खबर गरेका बुटवलका शिक्षकले बोर्डका दुईजनालाई बिहीबार विद्यार्थीको ग्रुपमा जोडेका थिए । प्रश्नपत्र आउट भएको अथवा फर्जि बनाइएको विषयमा विषय छानबिन गर्न बोर्डले प्रहरीलाई आग्रह गरेको छ । बिहीबार नै फिजिक्स विषयमा बोर्डकै लोगो प्रयोग गरेर परीक्षा रद्द भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा आएको थियो । बोर्डले भने परीक्षा रद्द नभएको स्पष्ट पारिसकेको छ । बोर्ड स्रोतका अनुसार शनिबार सञ्चालन भएको केमेस्ट्री विषयका बाहिरिएका प्रश्नपत्र भन्दै ६ सेट बाहिर आएका थिए । बोर्डमा पुगेका सेटमध्ये कुनै पनि नमिलेको एक अधिकारीले बताए । हिमाली जिल्लाका लागि छपाइ गरेर पठाइएका प्रश्नपत्र बाहिरिएको हुन सक्ने शंका पनि बोर्डका अधिकारीहरूको छ ।

कोरोना संक्रमणको जोखिम कम गर्न कक्षा–१२ को परीक्षामा होम सेन्टर (आ–आफ्नै विद्यालयमा परीक्षा केन्द्र) कायम गरिएको छ । तर, विद्यार्थीलाई सहज बनाउन मिलाइएको यस्तो व्यवस्था दुरुपयोग भएको पाइएको छ । परीक्षा केन्द्रहरूले परीक्षालाई मर्यादित बनाउन सकेका छैनन् ।

कतिपय परीक्षा केन्द्रमा विद्यार्थीले हलभित्रै मोबाइल प्रयोग गरी ‘चिटिङ’ गर्ने, भित्रै भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्नेलगायत गतिविधि भइरहेका छन् । कक्षा–१२ को परीक्षामा देशभर चार हजार एक सय पाँचवटा परीक्षा केन्द्र छन् । कोभिड–१९ जोखिमका कारण राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष ‘होम सेन्टर’ कायम गरेको छ । कतिपय केन्द्रले परीक्षाको मर्यादा कायम गर्न नसक्दा अशोभनीय गतिविधि सार्वजनिक भएका हुन् ।

८ वैशाखदेखि सञ्चालन हुने गरी तय भएको परीक्षा कोरोना प्रसार रोक्न लागू गरिएको लकडाउनका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले ४० प्रतिशत पूर्णांकका लागि ९ मंसिरदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गरिरहेको छ । आधा घन्टाअघि मात्र परीक्षा केन्द्रमा इमेलमार्फत प्रश्नपत्र पठाउने व्यवस्था छ ।

यस वर्षको परीक्षा आ–आफ्नै विद्यालयमा सञ्चालन भइरहेको छ । आफ्नै शिक्षकले उत्तरपुस्तिका जाँच गरेपछि प्राप्तांक र उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था छ । तर, विद्यार्थीलाई सहज बनाउने उद्देश्यले कायम गरिएको होम सेन्टरको व्यवस्था दुरुपयोग गर्दै परीक्षा केन्द्रमा सिकाउने, चिट चोराउनेलगायत गतिविधि भइरहेका छन् । त्यस्ता बेथिति विद्यालयभित्रै छिपेका छैनन्, निर्धक्क धमाधम बाहिर आइरहेका छन् ।

परीक्षाका विषयमा बाहिर आएका घटनाको जिम्मेवार परीक्षा केन्द्र, केन्द्राध्यक्ष र शिक्षक हुने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन् । आफ्नै विद्यार्थीको परीक्षा लिने जिम्मेवारी पाएका कतिपय विद्यालय र स्थानीय तहका शिक्षक जिम्मेवार नदेखिएको उनको भनाइ छ । ‘स्थानीय शिक्षकलाई परीक्षाको जिम्मेवारी दिने अन्तर्राष्ट्रिय अभ्यास हो, हाम्रोमा त्यस्तो अभ्यासलाई गलत रूपमा प्रयोग गर्ने चिन्ता छ,’ उनी भन्छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल भने परीक्षा केन्द्रमा अमर्यादित गतिविधि भएको विषयमा आफूहरूलाई केही जानकारी नभएको बताउँछन् । ९ मंसिरदेखि सुरु भएको परीक्षा १६ मंसिरमा सकिँदै छ । कोभिड–१९ जोखिमका कारण सीमित पूर्णांकमा डेढ घन्टा परीक्षा सञ्चालन भइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *