कोरोनाको महामारीलाई अवसरको रूपमा प्रयोग गरौं

-समीर गिरि

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप दिन प्रतिदिन भयावह बन्दै गएको छ। डिसेम्बरको अन्तिम साता पहिलाे पटक चीनको हुवेई प्रान्तको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या ३० हजार नाघिसकेको छ भने ६ लाख बढी संक्रमित भएका छन्। वुहानबाट सुरु भएको कोरोनाले युरोपका इटाली, स्पेन, जर्मन, बेलायत र पछिल्लो समय अमेरिका हुँदै छिमेकी भारतसम्म विध्वंस मच्चाइरहेको छ ।

अहिलेसम्मको अवस्था हेर्दा सुपरपावरको रुपमा रहेका अमेरिका, वेलायत र युरोपेली मुलुकहरुको यो महामारीसँग लड्नसक्ने क्षमता एकदमै कमजोर देखिएको छ । अन्य समयमा विश्वमा कुनै समस्या आईपर्दा त्यसलाई सम्बोधन गर्न अगाडि आउने अमेरिका यतिवेला आफै संकटमा छ ।

यसले संसारका विभिन्न देशको अर्थतन्त्रलाई ठूलो धक्का पुर्याएको छ, सम्पन्न देशको स्वास्थ्य प्रणालीले समेत यसलाई धान्न सकेको छैन । अर्थतन्त्रको कुनै मतलव नगरी विभिन्न मुलुकले लकडाउन गरिरहेका छन्, वेरोजगारहरुको संख्यामा वृद्धि भएको छ । अमेरिका, भारत लगायत विभिन्न देशले आफ्ना नागरिकलाई राहत स्वरुप नगद प्रदान गर्न थालेपनी यो पनि कति समयसम्म हो यकिन छैन । विश्वको आपूर्ती प्रणाली नै ध्वस्त भईरहेको समयमा पैसा हुनेले पनि कति समयसम्म किनेर खान पाउने हुन यकिन छैन् ।

कोरोनाले विश्वभर नै प्रभाव पारिरँदा हामीलाई पनि प्रभाव पार्नु स्वाभाविक हो । तुलनात्मक रूपमा संक्रमण कम भएपनि देशको अर्थतन्त्रलाई कोरोनाले नराम्रो प्रभाव पारिसकेको छ । देशभरका उद्योग कलकारखाना बन्द छन् आर्थिक बजार ठप्प छ । सरकारले लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको छ । यही अवस्था हुने हो भने कोरोना संक्रमण भन्दा भोकमरीको समस्या बढी हुने देखिन्छ । यद्यपि धेरै नकारात्मक असरका बाबजुद उपयोग गर्न सक्ने हो भने कोरोनाले केही सकारात्मक अवसरहरुको पनि सिर्जना गरिदिएको छ ।

निजि अस्पताल र शैक्षिक संस्थालाई राष्ट्रियकरण गर्ने
देशमा अहिलेसम्म ५ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो अवस्थाले भयावह अवस्था निम्त्याउन सक्ने खतरा धेरै छ तर विश्वका शक्तिशाली भनिएका देशहरूले नियन्त्रण गर्न नसकिरहेको अवस्थामा नेपालले त्यसलाई नियन्त्रण गर्नसक्ने संभावना न्यून छ । देशका सरकारी अस्पतालहरुको अवस्था राम्रो छैन स्वास्थ सामग्रीको लागि अन्य मुलुकमा निर्भर हुनु परिरहेको छ । यही संकटमा अघिपछि बिरामी तान्न होडबाजी गर्ने निजि क्षेत्रबाट संचालित अस्पतालहरुले सामान्य ज्वरोका बिरामी समेत राख्न मानिरहेका छैनन् । सरकारले निजी अस्पताल संचालकहरुको लगानी फिर्ता दिएर सबै निजि अस्पतालहरुलाइ कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गर्ने र राष्ट्रियकरण गर्ने महत्त्वपूर्ण मौका यहीँ हुनसक्छ ।

त्यस्तै देश लकडाउन भएपछि अधिकांश नेपाली कामविहिन भएका छन् । बिहानबेलुका पसिना बगाएर छाक टार्नेहरुको चुल्हो बल्न छाडिसकेको छ । मध्यम वर्गीय परिवारलाई समेत जिवनयापन गर्न असहज भैसकेको छ । यो अवस्थामा सरकारले शिक्षालाई निशुल्क गर्नुपर्ने दबाब परिसकेको छ तर देशको शिक्षामा निजि क्षेत्रको प्रभाव बलियो रहेको छ । सर्वसाधारण जनताले निजि शैक्षिक संस्थामा बालबालिका पढाउन सक्ने अवस्था छैन र सरकारी विद्यालयले मात्रै धान्न सक्दैन त्यसकारण उपयुक्त विकल्प निकालेर निजि शैक्षिक संस्था संचालकहरुको व्यवस्थापन गरेर देशभरका निजी शैक्षिक संस्थालाई राष्ट्रियकरण गर्ने अवसरको रूपमा यो समयलाई प्रयोग गर्नुपर्छ ।

युवाशक्ति लाई उत्पादनसँग जोड्ने
आर्थिक विकासका लागि युवा जनशक्ति महत्वपूर्ण मानिन्छ । २०६८ को जनगणनाअनुसार सबैभन्दा बढी सक्रिय जनसंख्या रहेको समय अहिले नै हो। अहिले १५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या विगत ५० वर्षमा सबैभन्दा बढी छ। देशमा सक्रिय जनसंख्या धेरै हुनु अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो । तर, यो सक्रिय जनसंख्याको ठूलो हिस्सा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने काममा नभएर रोजगारीका लागि विदेश पुगेको छ।

तर कोरोना संकटको असर नेपालका मुख्य श्रम गन्तव्य मुलुकसम्म फैलिसकेको छ । कोरोनाको असरले विकसित मुलुकको अर्थतन्त्र पनि धराशायी हुँदैछ । यसबाट नेपाली श्रमिकको ठूलो संख्याले रोजगारी गुमाउन सक्ने देखिन्छ । नेपालले यो बेला रेमिट्यान्स घट्ने भयो भनेर चिन्ता गरिरहनुभन्दा विदेशबाट फर्केका नेपालीको सीप र श्रमलाई उपयोग गर्ने रणनीति बनाउनुपर्छ ।

कृषि अर्थतन्त्रलाई बलियो बनाउने
कोरोनाको असरले नेपालको औद्योगिक क्षेत्रमा समस्या देखिए पनि कृषि अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पनि पार्नसक्छ । सहर र औद्योगिक क्षेत्रमा र वैदेशिक श्रममा रहेका श्रमशक्तीलाई उपयोग गर्न सरकारले कृषिक्षेत्रमा केही प्याकेज कार्यक्रम ल्याएर बाँझो रहेका खेतबारीलाई हराभरा बनाउने उपयुक्त मौका पनि यही नै हुनसक्छ । कृषि उत्पादन आन्तरिक खपतकै लागि हुने र यसबाट आयात प्रतिस्थापनसमेत हुने भएकाले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यो उचित अवसर पनि हुनसक्छ । तर, यसका लागि राज्यको ठोस योजना र कार्यक्रम आवश्यक छ ।

प्रदुषणमुक्त सहर निर्माण
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै सवारीसाधन र उद्योगधन्दाहरु बन्द हुँदा वातावारणमा भने सकारात्मक प्रभाव परेको छ । हावामा प्रदूषण धेरै हुँदा बसोबासका लागि नै अयोग्य रहेका शहरहरुमा अहिले हरियो चिन्ह देखिएको छ । देशका विभिन्न २२ ठाउँमा राखेका हावाको प्रदूषण मापन केन्द्रहरुमध्ये बाराको सिमरा बाहेक सबै केन्द्रहरुले हरियो चिन्ह देखाएका छन् । एक हप्ताअघि सम्म धेरैजसो मापन केन्द्रहरुले रातो चिन्ह देखाउने गरेका थिए । धेरैजसो रातो चिन्ह देखिने काठमाण्डौ उपत्यकाका सबै केन्द्रहरुमा अहिले हरियो चिन्ह देखिएको छ । धेरैजसो रातो चिन्ह देखिने काठमाण्डौको रत्नपार्कमा रहेको मापन केन्द्रमा गएको चार दिनदेखि हरियो चिह्न देखिएको छ । शनिबार दिउँसो धुलिखेलमा अक्वा ९ मा झरेको छ । जसलाई धेरै राम्रो मानिन्छ । प्रभावकारी योजना बनाइ यो अवस्थालाई कायम राख्न सके यो अर्को महत्त्वपूर्ण अवसर हुनसक्छ ।

उदारता र एकता
कोरोना संक्रमणका नकारात्मक असरहरुका बीचमा केही सुखद् कुरा पनि आएका छन्। केही धनी र अन्य मानिसहरूले पनि कोरोनाविरुद्ध लड्न सहयोगको घोषणा गरेका छन्। कोरोना भाइरस विरुद्ध लड्न फेसबुकमा ग्रुप निर्माण गरेर हातेमालो गरेका छन्। पाका मानिस र अपांगहरूका लागि कुनै समस्या नहोस् भनेर युवाहरुले स्वतः रुपमा यसमा स्वयंसेवा सुरु गरेका । घर र अफिसको भागदौडबीचमा छिमेकीसँग टाढा रहँदै आएका र भौतिक दुरी कम भएर पनि भावनात्मक दुरी बढी भएका मानिसहरूलाई कोरोना भाइरसले भावनात्मक रूपमा एकजुट हुने मौका दिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *