पार्टीमा भूमरी पर्ने, भत्किने, फुट्ने भइरहन्छ: प्रचण्ड

काठमाडौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताएका छन्।

बिहीबार राजधानीमा भएको नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विवाद नभएको दिन पार्टी नै नरहने तर्क गरे। ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो। नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो। हामीलाई पनि त्यस्तै लाग्छ,’ प्रचण्डले भने,‘हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न।’

उनले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए। विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ प्रचण्डले भने।

पछिल्लो समय नेकपाभित्र प्रचण्ड र अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीबीचको विवाद उत्कर्षमा पुगेको छ। बुधबारमात्रै प्रचण्डको प्रस्तावमा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली झनै रूष्ट बनेका छन्।

उनले अर्का नेता माधवकुमार नेपालसँग सचिवालयको उक्त निर्णय नमान्ने बताइसकेका छन्। राष्ट्रिय सभामा वामदेव जान्छन् कि ओलीको चाहनाअनुसार अहिलेका अर्थमन्त्री युवराज खतिवडा नै रहन्छन् भन्ने टुंगो नभइसकेका बेला आज नेकपाका दुबै अध्यक्ष एउटै मञ्चमा देखिएका हुन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *