अतिक्रमित भूमि फिर्ता ल्याउन एकजुट हुनुहोस् : नारायणकाजी श्रेष्ठ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताएका छन् । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको सप्ताहव्यापी रचनात्मक कार्यक्रमको समापन समारोहमा उन्ले राष्ट्रलाई सङ्कट पर्दा युवा विद्यार्थीले खेलेको भूमिकालाई सधैँ स्मरण गर्नुपर्ने बताए ।

युवा, विद्यार्थीकै कारण ठूलाठूला आन्दोलनले सफलता पाएको भन्दै भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई फिर्ता ल्याउन फेरि युवा विद्यार्थी एकजुट हुनुपर्ने बेला आएको बताए ।

“लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत विभिन्न क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सबै नेपाली जुट्नुपर्ने बेला आएको छ”, उनले भने, “स्वाभिमानी पुर्खाको विरासतलाई जोगाइराख्न अहिलेको पुस्ता गम्भीर बन्नु जरुरी छ ।”

उनले अहिले शक्ति सम्पन्न राष्ट्रका रुपमा स्थापित केही राष्ट्र तत्कालीन समयमा अन्य राष्ट्रको उपनिवेशमा रहँदासमेत नेपाल स्वतन्त्र रहेको स्मरण गराउनुभयो । राष्ट्रियता कमजोर हुने सवालमा नेपालीले कसैसँग पनि सम्झौता नगर्ने उनले जिकिर गरे ।

श्रेष्ठले वर्तमान सरकारले औपचारिकरुपमा भारतलाई पत्र लेखी अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा पहलकदमी अघि बढाएकाले समाधान निस्कनेमा आफू आशावादी रहेको बताए ।

दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकार सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणको अभियानमा लागेको बताउँदै उनले कृषि, पर्यटन र जलविद्युत्का माध्यमबाट समृद्धिको अभियानले सार्थकता पाउने धारणा राखे ।

उनले वर्तमान सरकारले  नागरिकले अनुभूति गर्ने ढङ्गले विकास निर्माणका कार्यलाई सम्पन्न गर्ने बताए । “निरङ्कुश राज्य व्यवस्थाका कारण नागरिकले धेरै दुःख पाए”, उनले भने, “स्थायी सरकारको काँधमा विकास गरेर प्रमाणित गर्ने जिम्मेवारी आइलागेको छ ।”

उनले व्यावसायिक र प्राविधिक शिक्षाले बेरोजगारी समस्या हल हुने भन्दै शैक्षिक गुणस्तरका विषयमा आफूले शिक्षामन्त्रीसँग पटकपटक बहस गर्ने गरेको बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *