सार्वजनिक भयो नेपालको वास्तविक नक्सा, नक्सा राष्ट्रसंघमा बुझाइने

काठमाडौं – नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।

नक्सा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्रा.डा.नरेन्द्र राजखनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए । उनले भने, ‘डिजिटल एलिभेसन मोडेलबाट रेखाङ्कन गरेका हौं ।’ उनले यहि विधिबाट नक्सा रेखाङ्कन गरिएको जानकारी दिँदै नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको समेत बताए ।

नक्शा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिम नेपालको सीमानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । उनले नक्सा तयार पारिएको विधि समेत उल्लेख गरे ।  नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । उनले भने, ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो ।’

सार्वजनिक गरिएको नक्सा सुगौली सन्धिअनुसारको भएको उनले बताए । भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएका कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो ।  नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, ‘हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ ।’

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएकोमा खुशीव्यक्त गरे । उनले भने, ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ ।’  पूर्व सचिव तथा अभियानकर्ता डा.द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए । नक्सा तयार भइसकेकोले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा उनले जोड दिए । नक्सा संयुक्त राष्ट्रसंघसम्म पुर्याउनेबारे विचार गरिएको समेत उनको भनाई थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *