कास्कीबाट उठेर म फेरि हार्न चाहान्न : वामदेव गौतम

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आउँदो मसिंर १४ गते हुने उपचुनावमा आफू नउठ्ने स्पष्ट पार्नु भएको छ ।

शनिबार भएको नेकपाको सचिवालय बैठकमा आफूले कास्की क्षेत्र नम्बर १ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवारी नदिने जानकारी दिनु भएको छ । उहाँले फेसबुकमा स्टाटस लेख्दै आउँदो चुनावमा आफू नउठ्ने जानकारी सचिवालय बैठकमा जानकारी गराएको बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ, ‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’

वामदेव गौतम आफू कास्की क्षेत्र नम्बर १ बाट उपचुनावमा उठे पनि हार्ने बताउनु भएको छ । यसअघि २०७४ सालमा भएको प्रतिनिधि सभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट उठ्नु भएका गौतम कांग्रेसका सञ्जयकुमार गौतमसँग ७४३ मतले हार्नु भएको थियो । सञ्जयकुमार गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गर्दा वामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गर्नु भएको थियो ।

वामदेव गौतमले फेरि एकपटक आफूलाई गठबन्धन भित्रबाटै असहयोग भएकाले आफू बर्दियाबाट हार्न पुगेको बताउनु भएको छ । वाम गठबन्धनसँग प्रतिद्वन्द्वी उम्मेदवारसँग भन्दा ३२ हजार बढी मत भए पनि आफू हार्न पुगेको उहाँले बताउनु भएको छ । चुनावलगत्तै पनि उहाँले आफूलाई पार्टी र गठबन्धनबाटै असहयोग भएको बताउनु भएको थियो ।

उहाँले बर्दियाको भन्दा पनि कास्की क्षेत्र नम्बर २ मा अवस्था अझ कमजोर भएको भन्दै आफू उठे हार्ने निश्चित भएको बताउनु भएको छ । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका नेता रवीन्द्र अधिकारी झण्डै ९ हजार मतान्तरले विजयी हुनु भएको थियो । उहाँले २७ हजार २ सय ७ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार ६६१ मत ल्याउनु भएको थियो ।

नेता गौतमले कास्की २ मा आफूभन्दा पनि स्थानीय नेताहरु उठ्दा सहज तरिकाले जित हात पार्ने भन्दै पहिलो हकदार कास्कीका स्थानीय नेता भएको बताउनु भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *