गोकर्णेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं – शक्रबार बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ।

बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन सुरु भए पनि बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिए। विगतका वर्षमाभन्दा यो वर्ष गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा दर्शन एवं परिसरमा श्राद्ध गर्ने व्यवस्था मिलाउन सकिएको उनले बताए।

पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आइ भाद्र कृष्ण औँशीका दिन तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास रहेको मन्दिरका पुजारी भट्टले बताए।

दिवङ्गत पिताले भाद्र कृष्ण औँशीका दिन सन्तानबाट जल एवं सिदादानको आशा गरी बसेका हुन्छन् भन्ने शास्त्रीय वचनअनुसार आजको दिन श्राद्ध गर्ने परम्परा सुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए।

महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ। यसकारण भक्तजन र यात्रु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य छन्। जोरपाटी चोकबाट गोकर्णेश्वर महादेव मन्दिर भएको सडक किनारमा बिहीबारदेखि अस्थायी पसल सञ्चालन सहित मेला लागेको छ।

बिहीबारदेखि नै भक्तजनको भीड लागेपछि जोरपाटीबाट माथितिरको यातायात सञ्चालन भएको छैन। सडकको दूरावस्थाका कारण भने यात्रुले मन्दिर जान पनि सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। गत वर्षभन्दा यहाँको सडक बिग्रिएको भक्तजन रामचन्द बस्यालले बताए।

यसैगरी वाग्मतीको किनारमा रहेको पशुपतिनाथ मन्दिर, शङ्खमूल, टेकुलगायत स्थलमा पनि दिवङ्गत पिताका नाममा श्रद्धा भक्तिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ। गोकर्णेश्वर महादेव मन्दिरमा पिताप्रति सम्मानका साथ श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औँशी पनि भनिन्छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *