इंग्ल्याण्डले जित्यो विश्वकपको उपाधि, न्युजिल्याण्ड बाउन्ड्रीमा चुक्यो

काठमाडौं । निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्डीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।

सुपर ओभरमा पनि बराबरी

निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभर धकेलिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनायो ।

विश्वकपको उपाधिका लागि न्युजिल्याण्डलाई १६ रन चाहियो । उसलाई अन्तिम अन्तिम बलमा २ रन नै चाहियो, जसरी इंग्ल्याण्डलाई नियमित खेलमा चाहिएको थियो । एक रन बनाएपछि मार्टिन गुप्टिल रन आउट हुन पुगे र सुपर ओभर पनि बराबरीमा सकियो ।

दुबैको २४१ रन 

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए ।

न्युजिल्यान्डले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।

जवाफमा मैदान उत्रिएको घरेलु टोलीले पनि सबै विकेट गुमाएर २४१ रन नै बनायो । उसको सुरूवात खराब रह्यो ।

८६ रन जोड्दा ६ विकेट गुमाइकेको थियो तर, बेन स्टोक्स र जोस बट्लरले पारी उकासे । दुबैले १०८ रनको साझेदारी गरे । बट्लर ५९ रनमा आउट भए । त्यसपछि खेलमा न्युजिल्याण्ड हावी भयो, घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो र अन्तिम ओभरमा ६ बलमा १५ रन चाहियो ।

ट्रेन्ट बोल्टले सुरूको दुइ बलमा रन दिएनन् तर, तेस्रो र चौथो बलमा छक्का हानेपछि खेलले रोमाञ्चक मोड लियो । अब २ बलमा तीन रन चाहियो इंग्ल्याण्डलाई ।

पाँचौं बलमा घरेलु टोलीले एक रन त लियो तर आदिल रसिद रनआउट भए । अन्तिम बलमा दुई रन चाहियो । एक रन जोडेर अर्को रनका लागि दौडिएका मार्क वुड रन आउट भएपछि खेल बराबरी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *